संक्रमणदर उच्च हुँदा मौन : घट्दै गएपछि अनुगमनमा प्रदेश सरकार

सुदूरपश्चिममा कोरोना भाइरसको दोस्रो लहरको प्रभाव उच्च बिन्दुमा रहेका बेला सम्पर्कबिहीन बनेका प्रदेश सरकार मन्त्री अहिले संक्रमण दर घटेका बेला अनुगमन र निरीक्षणमा निस्किन थालेका छन् । 

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीको नेतृत्वमा बिहीबार टोली अनुगमनमा निस्केको थियो ।

मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी र सामाजिक विकास मन्त्री लालबहादुर खड्का सहितको जोम्बो टोली शुक्रबार पनि सीमा नाका गौरीफन्टामा पुग्यो । त्यहाँ पुगेर मन्त्रीहरूले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार सक्रिय रहेको धारणा व्यक्त गरे ।

संक्रमण दर बढ्दै गएपछि वैशाख १६ गते बाट कैलाली लगायत मुलुकका प्रायः जिल्लामा निषेधाज्ञा सुरु भएको थियो । अहिले पनि निषेधाज्ञा पूर्ण रूपमा खुल्न सकेको छैन ।

निषेधाज्ञा सुरु भएपछि कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकामा भारतबाट आउनेहरूको लर्को लागेको थियो । त्यति बेला सीमामा एन्टिजेन परीक्षण समेत सहज थिएन । जसले गर्दा गाउँ-गाउँमा संक्रमितहरू सहजै प्रवेश गरे । संक्रमणदर बढ्दै गयो । प्रदेशमा एकै दिन ३ हजारभन्दा बढीमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांक छ ।

प्रदेशमा हजारौंमा संक्रमण फैलियो, कैयौंले ज्यान गुमाए । 



कोरोनाको दोस्रो लहरको सामना कसरी गर्ने भन्नेतर्फ प्रदेश सरकारको ध्यान खासै केन्द्रित हुन सकेन ।

जसोतसो सीमामा क्वारेन्टाइन र आइसोलेसन सञ्चालन गरिए । पछिल्लो समय संक्रमणको अवस्था बिस्तारै ओरोलो तर्फ उन्मुख छ । 



कोरोना संक्रमण दर उच्च रहेका बेला सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले राजनीतिक खिचातानीमै समय व्यतित गरे । प्रदेशमा अक्सिजन नपाएर संक्रमित छटपटी रहँदा प्रदेश सरकार आफ्नो जिम्मेवारीबाट विमुख जस्तै बन्यो । भारतबाट आउने नेपालीको संख्या धेरै हुँदा सरकारले क्वारेन्टाइनलाई व्यवस्थित गर्न सकेन, न आइसोलेसन व्यवस्थित बने । 

प्रदेश सरकार संक्रमितहरूका लागि अक्सिजनको जोहो गर्न बेवास्ता गरेपछि विभिन्न संघ-संस्था अगाडि बढे । कोरोना संक्रमण उच्च बिन्दुमा पुगेका बेला न सीमा क्षेत्रमा कडाइ गरियो न स्वास्थ्य संस्थामा अक्सिजनको व्यवस्थापन गरियो । जनता भने प्रदेश सरकारलाई खोजिरहे । प्रदेशमा दैनिक सयौं संक्रमित थपिँदै गए ।

अहिले कोरोनाको दोस्रो लहर विस्तारै कम हुँदै गइरहेको छ । प्रदेशमा अहिले दैनिक संक्रमण सय जनाको हाराहारीमा झरेको छ । दैनिक संक्रमण घट्दै गइरहेको छ । ज्यान गुमाउने संख्या पनि १-२ मा झरेको छ । शुक्रबार सुदूरपश्चिममा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ९३ जना संक्रमति थपिएका छन्  ।

सीमामा पुगेर के भने मन्त्रीले ?

दलबलसहित सीमा नाकामा पुगेका मन्त्रीहरूले तेस्रो चरणको कोरोना संक्रमण रोक्न प्रदेश सरकार पूर्वतयारीमा लागेको दाबी गरे । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले आफू मन्त्रीको जिम्मेवारीमा आएसँगै कोरोना रोकथामका लागि पूर्वतयारीमा सक्रिय रहने जिकिर गरिन् ।

  ‘कोरोना रोकथामका लागि प्रदेश सरकार यसअघि पनि लागेकै थियो,’ उनले भनिन्, ‘मन्त्रालयको जिम्मेवारी नयाँ व्यक्तिले सम्हालेपछि थप सक्रिय भएर लाग्नेछौं । जिम्मेवारीमा आएको छोटो समयमै नाकाको अवस्था बुझ्न आएका छौं ।’ उनले स्थानीय तहसँग सहकार्य गरेर प्रदेश सरकार कोरोना रोकथामका लागि अगाडि बढ्ने बताइन् ।

सामाजिक विकास मन्त्री लाबहादुर खड्काले विश्वमा कोरोना भाइरसको तेस्रो लहर पनि देखिइसकेको अवस्थामा नेपालमा नभित्रियोस् भन्नका लागि प्रदेश सरकार पूर्वतयारीमा जुटेको बताए । उनले त्यसैको पूर्वतयारीका लागि नाकामा स्थलगत अनुगमनमा आएको बताए । जसका लागि कैलाली, कञ्चनपुरमा होल्डिङ सेन्टर बनाउनेदेखि अस्पताल स्तरोन्नतिको काम अगाडि बढेको उनले दाबी गरे ।

‘नाकामा हेल्प डेस्कलाई व्यवस्थित गरेर एन्टिजेन परीक्षणलाई थप प्रभावकारी बनाउँछौं,’ उनले भने, ‘कोरोना पोजिटिभ भएकालाई कैलाली र कञ्चनपुरमा बनाउन लागिएका होल्डिङ सेन्टरमा राख्छौं । रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई सम्बन्धित पालिकामा पठाउने व्यवस्था गर्छौं ।’ 

सीमामा अनुगमनकै क्रममा आएका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले नाकामा रहेको भौतिक संरचनाको अवस्थाको बारेमा जानकारी लिए । उनले आवश्यक भौतिक संरचना निर्माण गर्नुपर्ने र त्यसका लागि प्रक्रिया पुर्‍याएर आउन कञ्चनपुरको पुनर्वास नगरपालिकाका प्रमुख जीवन थापालाई अनुरोध गरे । उनले नाकामा रहेका अन्य भौतिक संरचनाको पनि अनुगमन निरीक्षण गरे ।

मन्त्रीहरूसँगै अनुगमनमा रहेका धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले यसअघि सुस्ताएको प्रदेश सरकारको आँखा अहिले खुलेको बताए । उनले सीमा नाकालाई व्यवस्थित गर्नुपर्ने र त्यसका लागि प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले उपमहानगरपालिकाले आफ्नो तर्फबाट पनि सीमा नाकामा हेल्प डेक्स राखिएको बताए । 

मन्त्रीसहितको जम्बो टोलीमा कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द रिजाल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, प्रदेश मन्त्रालयका सचिव लगायत अनुगमनमा पुगेका थिए ।

  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार २१:५४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया