बागमती प्रदेश सरकारले युवा परिषद्को उपाध्यक्षमा सन्तोष चौलागाईं र सहकारी बोर्डको उपाध्यक्षमा नारायणप्रसाद देवकोटालाई नियुक्त गरेको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले युवा परिषद् र सहकारी विकास बोर्डको कार्यकारी उपाध्यक्षमा दुई जनालाई नियुक्त गरेको हो ।
बागमती प्रदेशको युवा परिषदको उपाध्यक्षमा नियुक्त भएका चौलागाईं मकवानपुर एमालेका प्रभावकारी नेता मानिन्छन् ।
बागमती प्रदेशको युवा परिषद्को उपाध्यक्षका लागि १६ जनाले आवेदन दिएका थिए । उनीहरूमध्ये सामाजिक विकास मन्त्रालयले ६ जनालाई अन्तर्वार्ताका लागि छनोट गरेको थियो । जसमा मकवानपुरका सन्तोष चौलागाई छनोट भएका हुन् । प्रदेश युवा परिषद्को अध्यक्ष सामाजिक विकास मन्त्री हुने व्यवस्था छ । प्रदेश परिषद् ऐन बनाएको २ वर्षपछि मात्रै सरकारले उपाध्यक्ष नियुक्त गरेको हो ।
सहकारी विकास बोर्डको कार्यकारी उपाध्यक्षमा नियुक्त भएका देवकोटा पनि हेटौंडाकै बासिन्दा हुन् । देवकोटा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सञ्चालक, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष तथा मकवानपुर सहकारी संघको अध्यक्ष समेत रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।