राजनीतिले थिलथिलो बिपी प्रतिष्ठान

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा औषतमा दैनिक ७५० जना बिरामी भर्ना हुन्छन् ।

२५ सय जनाले प्रतिष्ठानबाट दैनिक ओपीडी सेवा लिने गरेको तथ्यांक छ । प्रतिष्ठानमा प्रदेश १ का मात्रै होइन प्रदेश २ का बिरामीको पनि मुख्य उपचार संस्था हो । प्रतिष्ठानमा नेपाल बाहिर भारत र भुटानबाट समेत उपचारका लागि बिरामी आउँछन् ।

तर, कोरोना महामारीका बेला सबै तिरबाट विशेष र छुट्टै उपचारको आशा गरिएको प्रतिष्ठानमा भने अहिले आन्दोलन नै आन्दोलन चलिरहेको छ ।

कोभिड महामारीसँग संसार नै जुधिरहँदा महामारीसँग जुध्न नयाँ-नयाँ योजना र प्रविधि भित्र्याउनु पर्ने अस्पताल प्रशासन, प्रतिष्ठान व्यवस्थापन र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनको नेतृत्व गरेकाहरू भने आन्दोलनसँग जुधिरहँदा बिरामीले भने सास्ती व्यहोर्दै आएका छन् । 

प्रतिष्ठानको आन्तरिक किचालेका कारण प्रतिष्ठानमा रहेका स्वास्थ्य उपकरण मर्मत सम्भार र नयाँ खरिद हुन नसक्दा बिरामीहरू परीक्षण गर्न अस्पताल बाहिर जानु परिरहेको छ ।

अस्पतालमा वर्षौंदेखि नयाँ उपकरण खरिद हुन सकेको छैन भने पुराना मर्मतमा समेत समस्या देखिएको छ ।



बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अहिले नौ वटा राजनीतिक दलले बिपी सुधारको माग राख्दै आन्दोलन गरिरहेका छन् ।

नागरिक दबाब सञ्जाल अस्पताल सुधारको माग राख्दै पहिलो चरणको आन्दोलनमा छ । 



अस्पतालमा कार्यरत चिकित्सकहरू तलब सुविधा नपाएको भन्दै आन्दोलनमा छन् । प्रतिष्ठानमा चिकित्सा विज्ञान पढिरहेका विद्यार्थी पनि विभिन्न माग राखेर आन्दोलित छन् ।

चर्को राजनीतिक हस्तक्षेप

२०७६ साल माघ २३ गते तत्कालीन नेकपा धरान नगर कमिटीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखेको एउटा पत्र सार्वजनिक भयो ।

पत्र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपति नियुक्तिका लागि सिफारिस गरिएको थियो ।

तत्कालीन नगर कमिटी अध्यक्ष नारायण सुवेदी र सचिव सुदर्शन श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा भनिएको थियो, ‘लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टीको राजनीतिमा संलग्न भएकाले गुरु खनाललाई उपकुलपतिमा नियुक्त गर्न नेपाल कम्युनियुस्ट पार्टी धरान उप महानगर कमिटी सिफारिस गर्दछ ।’

यति मात्रै होइन पत्रमा शिक्षाध्यक्षमा प्रतिष्ठानमा कार्यरत पार्टी सम्बद्ध प्रोफेसरहरू मध्येबाट र राजिस्टारमा पार्टीबाट उपयुक्त प्रशासक नियुक्त गर्न समेत पत्रमा अनुरोध गरिएको छ । 

नगर कमिटीले उप कुलपतिमा खनाललाई नियुक्त गर्न सिफारिस गरे पनि तात्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकालले भने डा. ज्ञानेन्द्र गिरीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरे । रजिस्टारमा डा. मोहनचन्द्र रेग्मी नियुक्त भए । 

अस्पताल उप निर्देशक रहेका खनाल भने शिक्षाध्यक्ष बने । यसरी स्थानीय पार्टीको इच्छा विपरीत बिपी प्रतिष्ठानमा पदाधिकारी नियुक्ति  भएपछि सत्तासीन पार्टी  नेकपा नै उपकुलपति र रजिस्टारसँग सहिष्णु हुन सकेन ।

उपकुलपतिमा डा. ज्ञानेन्द्र गिरी आएको दिनैबाट विरोध सुरु भए । मोरङमा क्षेत्र नम्बर ३ मा नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मासँग चुनाबी प्रतिस्पर्धा गरेका तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई निर्वाचनका बेला गिरीले सहयोग गरेका थिए । 

सार्वजनिक मञ्चमै शर्माविरुद्ध भाषण गरेका गिरीलाई उपकुलपति बनाएर स्वास्थ्य मन्त्रीले ऋण तिरेको समेत आरोप लाग्यो । 

लामो समय प्रतिष्ठानमा स्त्री तथा प्रसूति विभागका प्रमुख रहेका डा. मोहनचन्द्र रेग्मीसँग पैसा लिएर रजिस्टारमा नियुक्त गरिएको दाबी भयो । 

यी आरोप-प्रत्यारोपपछि राजनीतिक दलहरूलेको प्रतिष्ठानमा नचाहिँदो हस्तक्षेप भएको नागरिक दबाब सञ्जालका संयोजक राजेन्द्र शर्मा बताउँछन् ।

‘आज मात्रै होइन हिजोबाट नै बिपीमा राजनीतिक हस्तक्षेप थियो । राजनीति दल, व्यापारी र प्रतिष्ठानका पदाधिकारीको आफ्ना-आफ्ना चाहनाले प्रतिष्ठान लथालिंग अवस्थामा पुगेको छ’, शर्माले भने, ‘तलदेखि माथिसम्म राजनीतिक दलका नेता र कार्यकर्ताको बिपी प्रतिष्ठान प्रतिको इन्ट्रेस्ट छ । यही कारणले प्रतिष्ठानले साख गुम्दै गइरहेको छ ।’

प्रतिष्ठानका पदाधिकारीमध्ये उपकुलपति ज्ञानेन्द्र गिरीलाई नेकपा एमाले संस्थापन पक्षले सहयोग गरिरहेको छ भने शिक्षाध्यक्ष गुरु खनाललाई माओवाद केन्द्रको साथ र सहयोग छ । 

यस्तै रजिस्टार मोहनचन्द्र रेग्मीलाई नेकपाको एउटा समूह र नेपाली कांग्रेसको एउटा समूहले बोकी रहेको छ भने अस्पताल निर्देशक गौरीशंकर साहाई कांग्रेसको अर्को समूहले सहयोग गरिरहेको छ ।

राजनीतिक दलहरूले नै पदाधिकारीलाई संरक्षण गर्दा अस्पतालका समस्या समाधान गर्न लाग्नुको साटो पदाधिकारीहरू आर्थिक उपार्जनमा लागेको शर्माले आरोप लगाए ।

तर, नौ वटा राजनीतिक दलहरूको नेतृत्वमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका नेपाली कांग्रेस धरानका नेता सुजेन्द्र तामाङ भने प्रतिष्ठान सुधारकै लागि आन्दोलनमा होमिएको बताउँछन् ।

उनले बिरामीहरूले सहज सेवा नपाएको, भ्रष्टचार बढेका कारण प्रतिष्ठान सुधारका लागि आन्दोलनमा उत्रनु परेको दाबी गरे । 

पदाधिकारीमा झगडा  

दक्षिण एसियाकै उत्कृष्ठ स्वास्थ्य संस्थाका रूपमा परिचय बनाएको प्रतिष्ठानमा कार्यरत उच्च पदस्थ अधिकारीका बीचमै मिलाप देखिएको छैन । आर्थिक कुरालाई लिएर एकले अर्कासँग प्रतिस्पर्धा गर्दा प्रतिष्ठान जर्जर हुँदै गएको प्रतिष्ठानलाई नजिकबाट जान्नेहरू बताउँछन् ।

यो झगडा पदाधिकारी नियुक्तिसँगै सुरु भएको हो । उपकुलपतिका रूपमा डा. गिरी र रजिस्टारका रूपमा डा. रेग्मी नियुक्त भएसँगै प्रतिष्ठानले सिटिस्क्यान मेसिन खरिद गर्न टेन्डर आह्वान भयो ।

तीनवटा कम्पनीले मेसिन खरिद गर्ने आशय पत्र बुझाए । तीन वटा कम्पनी १४ करोड, १६ करोड र १८ करोडमा बिपीलाई चाहिने सिटी स्क्यान मेसिन किन्न सक्ने आशय पत्र बुझाए ।

उपकुलपतिसहित पदाधिकारीले १४ करोड रुपैयाँ आशय पत्रलाई सदर गर्ने निर्णय गर्‍यो भने रजिस्टार सहितको समूहले कमसल खालको उपकरण नकिन्ने बरु १८ करोडलाई सदर गर्ने निर्णय गर्‍यो । यही विवादले अहिलेसम्म प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिद हुन सकेको छैन ।

यो लफडा चलेको एक वर्षभन्दा बढी समय भएको भए पनि पदाधिकारीको झगडाका कारण सिटी स्क्यान मेसिन नहुँदा प्रतिष्ठानमा आउने बिरामी प्रभावित भइरहेका छन् ।

पदाधिकारीले कमसल र राम्रो मेसिन किन्ने भनेर विवाद गरे पनि आफू अनुकुलका कम्पनीलाई टेन्डर दिने र यसबाट कमिसन खाने दाउ रहेको अस्पताल स्रोतको भनाइ छ । 

यसैगरी पदाधिकारीको झगडाका कारण एमआराआई मेसिन खरिदमा समेत समस्या देखिएको छ । पदाधिकारीका बीचको झगडाले एमाआरआई मेसिन समेत खरिद प्रक्रियामा अगाडि बढ्न सकेको छैन ।

फार्मेसीमा कमिसनको दाउ 

पदाधिकारीका बीचमा प्रतिष्ठानमा आवश्यक पर्ने उपकरण खरिदमा मात्रै विवाद देखिएको छैन । फार्मेसी सञ्चालनमा समेत विवाद देखिएको छ । पदाधिकारीका बीचको लफडाले प्रतिष्ठानको फार्मेसी घाटामा गई बन्द हुने अवस्थामा पुगेको छ ।

प्रतिष्ठानमा नयाँ पदाधिकारी आउनुभन्दा अगाडिसम्म फार्मेसी नाफामा रहेको थियो । प्रतिष्ठान स्रोतका अनुसार नयाँ पदाधिकारी आएपछि फार्मेसी रजिस्टार मातहतमा रहने कि अस्पताल निर्देशक मातहातमा रहने भन्ने नयाँ विवाद देखियो । विवाद चलिरहे पनि अस्पतालमा चाहिने औषधीको विवरण सबै विभागबाट माग गरियो ।

रोग, शल्यक्रिया गर्दा चाहिने उपकरण र औषधीको माग विभागबाटै आएपछि फार्मेसीका लागि औषधी र उपकरण खरिद गरियो । तर, विवादका कारण केही चिकित्सकहरूले फार्मेसीमा रहेका औषधीहरू नै नलेखेको स्रोतको भनाइ छ ।

फार्मेसीमा रहेका औषधी र उपकरण नै नलेखी दिएका कारण बिरामीका कुरुवाहरू प्रतिष्ठानभन्दा बाहिरका फार्मेसीमा जान बाध्य भएका छन् ।

प्रतिष्ठानले फार्मेसीका लागि मगाएका धेरै खाले रोगका औषधी, शल्यक्रियाका लागि आवश्यक उपकरण नबिक्दा समस्या भएको छ ।

स्त्री तथा प्रसूति रोग विभागबाट फार्मेसीमा रहेका औषधीहरू नलेखिएको स्रोतको भनाइ छ । रजिस्टार मोहनचन्द्र रेग्मी लामो समय प्रतिष्ठानको स्त्री तथा प्रसूति रोग विभागमा कार्यरत थिए । 

प्रतिष्ठान सञ्चालनमा आएसँगै अस्पताल निर्देशक मातहतमा फार्मेसी सञ्चालन भइरहेको थियो । 

मेडिकल कलेजमा पनि समस्या 

स्वास्थ्य विज्ञान पढाइ हुने दक्षिण एसियामै प्रतिष्ठा कमाएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको उपचारमा मात्रै नभएर शिक्षण क्षेत्रमा पनि समस्या भएको छ ।

पदाधिकारीका कारण सम्पूर्ण प्रक्रिया पूरा गर्दा पनि एक वर्षदेखि प्रतिष्ठानमा प्रोफेसर नियुक्त हुन सकेको छैन । आन्तरिक बढुवा पनि रोकिएको छ ।

प्रतिष्ठानका रेक्टर गुरु खनाल नियमावली संशोधन भएकाले प्रोफेसर नियुक्तिमा समस्या भएको बताउँछन् । 

उनका अनुसार अहिले प्रतिष्ठान आफैंले प्रोफेसर नियुक्ति गर्न नपाउने र लोकसेवाले नियुक्ति गर्ने भएकाले समस्या भएको बताए । कोरोनाका कारण समेत प्रभाव परेको उनको तर्क छ ।

१४ सयभन्दा बढी विद्यार्थी अध्ययनरत प्रतिष्ठानमा यस वर्ष पिजी लेभलको पढाइमा प्रभाव परेको गुरु खनाल स्वीकार गर्छन् ।

  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार १८:२३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया