अस्मिता मृत्यु प्रकरणः १५० जनाको टोली बनाएर खोज्दा जंगलमा भेटियो शव

असार २ गते जमरानी स्वास्थ्य केन्द्रकी कार्यालय सहयोगी अस्मिता धामी जोगबुढा अस्पताल गइन् । कोराना भाइरसविरुद्धको बाँकी रहेका खोप पुर्‍याउन ११ बजेतिर घरबाट हिँडेकी उनी दिउँसो २ बजेतिर घर फर्किसक्नुपर्थ्याे । 

घरबाट कल गर्दा गर्दा फोन अफ थियो । फोन अफ भएपछि घर परिवारले आफन्तकहाँ बसेको अनुमान लगाए । स्वास्थ्य चौकी नजिकै उनको मामा ससुराको घर थियो । अरू समयमा पनि अफिसबाट घर जान ढिला भएको खण्डमा उनी त्यही गएर बस्ने गर्थिन्। 

असार ३ गते बिहानैदेखि स्वास्थ्यचौकीमा खबर गर्दा उनी त्यहाँ थिइनन् । मामा ससुरा कहाँ तथा अन्य आफन्तकहाँ पनि सोधखोज गर्दा कतै फेला परिनन् । त्यसपछि हराएको आशंका गर्दै असार ४ गते स्थानीय सोधी-खोजीमा निस्किए । जोगबुढादेखि जमरानीसम्मको बाटोमा १०/१५ जनाको टोली बनाएर खोजियो । तर उनको अत्तोपत्तो भएन ।

दिनभर खोज्दा पनि फेला नपरेपछि अर्को दिन ठूलो टिम बनाएर खोज्ने निर्णय गर्दै स्थानीय फर्किए । दोसो दिन असार ५ गते १५० जना भन्दा बढीको टोलीले पुरै जंगल हुँदै सबै बाटातिर खोजतलास गर्न थाले । सोही क्रममा बिहान १०ः३० बजेतिर हट्वानी सामुदायिक वनको बाटोबाट ५० मिटर पर उनको शव फेला पर्यो।

शव फेला परेपछि स्थानीयले नै प्रहरीलाई खबर गरेका थिए । परशुराम नगरपालिका-८ का वडाअध्यक्ष गोविन्द सिंह बोहराका अनुसार शवको टाउको र मुखमा चोट देखिनुका साथै बंगारा भाँचिएको छ ।

शवको प्रकृति हेर्दा कसैले हत्या गरेको हुनसक्ने उनको भनाइ छ । ‘शव हेर्दा कसैले बलात्कार प्रयास गरेको र नसकेपछि मारेकोजस्तो देखिएको छ । प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ’, वडाध्यक्ष बोहराले भने । 



२५ वर्षीया अस्मिताका दुई छोरी छन् । उनको निधनपछि सिंगो गाउँ नै त्राससँगै शोकमा डुबेको वडाध्यक्ष बोहराले बताए । 

हिजो राति उनको शव पोष्टमार्टमका लागि जोगबुढा अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को टोली समेत खटाइएको छ । नायब निरीक्षक पदम थापाको कमाण्डमा टोली परिचालन गरिएको र आज साँझसम्म घटनास्थल पुग्ने प्रहरीले जनाएको छ । 



डडेल्धुरा प्रमुख प्रहरी डिएसपी महेन्द्र नेपालका अनुसार मृतकको शरीरमा बाहिरी देखिने गरी चोटपटक देखिएको छैन । प्रहरीले हत्या आशंकामा अनुसन्धान अगाडि बढाइएको छ । पोष्टमार्टम रिपोर्टपछि थप कुराहरू बाहिर आउने डिएसपी नेपालले जानकारी दिए ।

स्थानीयले भने अस्मिताको हत्या नै भएको दाबीसहित घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन् । उक्त घटनापछि स्थानीय स्वास्थ्यकर्मीसमेत त्रसित बनेका छन् ।   

  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार १३:२५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया