सर्वोच्च अदालतले देशभर रहेका सक्रिय पत्रकारलाई तत्काल कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाउनका लागि अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. कुमार चुडालको इजलासले यस्तो आदेश दिएको हो ।
अधिवक्ता लीलानाथ घिमिरेले हालेको रिटमा न्यायाधीश चुडालको एकल इजलासले आइतबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । इजलासले निवेदकको तर्फबाट माग भएको आदेश जारी गर्नु पर्ने कारण नभए १५ दिनभित्र लिखित जवाफ दिनका लागि सरकारको नाममा आदेश समेत दिएको छ ।
पत्रकारहरुको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय तथा समूहमा पुग्नु पर्ने भएको आदेशमा भनिएको छ । जनसम्पर्कमा हुनुपर्ने भएकोले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी तत्काल खोपको व्यवस्था गर्न आदेशमा भनिएको छ ।
आदेशमा भनिएको छ, अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारहरुलाई प्राथमिकता प्रदान गरी कोभिड विरुद्धको पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो खोप पनि नलगाएकालाई कोभिड विरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम प्रत्यर्थीहरुले नाममा यो अन्तरिम आदेश जारी गरिदिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।