शिक्षक महासंघमा ५७ लाख भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

नेपाल शिक्षक महासंघका ५७ लाखभन्दा बढी भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । तीन वर्षदेखि अडिट नै नगरी बेरुजु देखाइएको भन्दै अनुसन्धानको माग गर्दै उजुरी परेको हो । 

स्थायी शिक्षक हकहित मञ्चका अध्यक्षसमेत रहेका तनहुँ, म्याग्दे–६ स्थित रत्न माविका प्रधानाध्यापक रमेशबाबु भट्टराईले अख्तियारसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका हुन् । 

विगत तीन वर्षदेखि शिक्षकबाट लेबीबाट उठाएको ५७ लाख हिनामिना गरी बेरुजु देखिएको भन्दै छानबिनको माग गर्दै उजुरी दिएका हुन्। 

महासंघले शिक्षकहरूबाट वार्षिक रूपमा सात सयका दरले लेबी उठाउँदै आएको छ । तीन वर्षदेखि उठाएको लेबीको हिसाब–किताब नदेखिएको उनको भनाइ छ । 

‘तीन वर्षदेखि अडिट नै गरिएको छैन । पैसा हिनामिना गरेर बेरुजु देखाइएको छ । यसरी शिक्षकबाट लेबी उठाएर भ्रष्टाचार गर्ने अधिकार कहाँबाट आयो ?’ उनले प्रश्न गरे । 

शिक्षकहरूबाट उठाएको पैसाबाट महासंघका नेताहरूले मासिक तलब खाने गरेका छन् । विधानमा नै उल्लेख गरेर महासंघका नेताहरूले शिक्षकको तलब स्केलबराबर नै बुझ्ने गरेको उनको भनाइ छ । 



विधानले मावि तहको शिक्षक नेताले मावि तहको शिक्षकबराबरको तलब लिन पाउने व्यवस्था गरेको छ । त्यस्तै, प्रावि तहको शिक्षक नेताले प्रावि तहको शिक्षककै बराबर तलब पाउनुपर्छ । तर, प्रावि तहको शिक्षक नेताले पनि मावि तहबराबरको तलब खाने गरेको भट्टराईले बताए । देशभरबाट झन्डै तीन लाख शिक्षकले मासिक रूपमा लेबी बुझाउँदै आएका छन् । 

महासंघमा यतिबेला नेतृत्वलाई लिएर विवाद भइरहेको छ । महासंघका अध्यक्ष बाबुराम थापाले आफूलाई अहिले पनि अध्यक्ष नै मान्दै आएका छन् । उनले शिक्षण पेसाबाट अवकाश पाइसकेका छन् । महासंघका अन्य पदाधिकारीले भने उनी निवर्तमान भइसकेको भन्दै उनले गरेको कुनै पनि निर्णय मान्य नहुने बताउँदै आएका छन्। 



महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले हरेक वर्ष अडिट हुने गरेको बताए । ‘गत आर्थिक वर्ष पनि भएको थियो । यो वर्ष पनि हुन्छ । हामीले सबै हिसाब–किताब स्पष्ट राख्ने गरेका छौँ । कहीँकतैबाट एक पैसा पनि हिनामिना भएको छैन,’ महासचिव सुवेदीले भने । 

भ्रष्टाचार भयो भन्नुको प्रमाण केही भेटिएको खण्डमा आफूहरू कारबाही भोग्न तयार रहेको उनको भनाइ छ । ‘उहाँले हचुवाका भरमा उजुरी दिनुभएको छ । भ्रष्टाचार भएको केही न केही प्रमाण त होला नि ? कसैको चरित्रहत्या गर्न वा आफूलाई चर्चामा ल्याउन त्यस्तो गर्नु राम्रो होइन,’ महासचिव सुवेदीले भने ।

  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार १७:२६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया