प्रत्येक नेपाली नागरिकको टाउकोमा ४६ हजार ऋणको भारी पुगेको समाचार केही दिनअघि सार्वजनिक भयो । त्यसपछि अधिकांश नागरिकले सरकारको विरोध गरे । सरकारको नालायकीको सर्वत्र निन्दा भयो । तर दक्षिण एसियाकै अर्को मुलुक पाकिस्तानमा यस्तो ऋण नेपालको भन्दा पाँच गुणा बढी पुगेको छ । जस कारणले पाकिस्तानको इमरान खान सरकारको चर्को विरोध हुन थालेको छ । अहिले हरेक पाकिस्तानीकाे टाउकाेमा दुई लाख लाख २० हजार ऋण रहेको छ ।
पाकिस्तानको डुब्दो अर्थतन्त्र उकास्न प्रधानमन्त्री इमरान खानले भर्खरै विश्व बैंकबाट ४४२ बिलियन डलर ऋण लिएका छन् । यो ऋण लिएपछि अब हरेक पाकिस्तानी टाउकाेमा बोझ थपिएको छ । यो अवस्थामा खानले नयाँ ऋण लिएपछि विपक्षी पार्टीमात्र होइन, सर्वसाधारण समेतको आलोचना सहनु परेको छ ।
विश्व बैंकले यो ऋण पाकिस्तानको पन्जाब सुबेमा सबैभन्दा कमजोर ग्रामीण समुदायमा पिउने पानी र सरसफाइका क्षेत्रका लागि दिएको हो । कोरोना महामारीका कारण पाकिस्तानमा गरिबहरूको अवस्था थप नाजुक बनेको त्यहाँको आर्थिक सर्वेक्षणले देखाएको छ । यही बेला विश्व बैंकले पाकिस्तानका गरिब नागरिकको जीवनस्तरमा सुधार ल्याउनका निम्ति ऋण दिएको बताएको छ ।
पन्जाबको सुबेमा पिउने पानी आपूर्ति र पर्यावरणीय स्वच्छता बढाउने उद्देश्यले ऋण लिएको पाकिस्तान सरकारले जनाएकाे छ । विश्व बैंकले पनि यो पैसा गरिब तथा ग्रामीण क्षेत्रमा प्राथमिकताका साथ लगानी गरिने विश्वास गरेको छ ।
लामो समयदेखि भ्रष्टाचार, राजनीतिक अस्थिरता, सुस्त विकासको गतिका कारण पाकिस्तान निकै कमजोर बन्दै गएको छ । देशको अर्थतन्त्र सुधार गर्न र सर्वसाधारणको जीवनस्तर उकास्न पाकिस्तानले एकपछि अर्को ऋण लिँदै गएको छ । तर लिइएकाे ऋणको सदुपयोग हुन नसक्दा जनताको स्तरमा कुनै परिवर्तन नआएको बताइन्छ । विश्व बैंकसँग लिइएको नयाँ ऋणको उपयोग कसरी हुन्छ, त्यो समयले नै बताउने छ ।
ऋणमाथि ऋण
यही वर्षको जनवरीदेखि मार्च महिनासम्म पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकबाट करिब २०० अर्बभन्दा बढी ऋण लिइसकेको छ । मार्चमा आइएमएफले पाकिस्तानलाई ५०० मिलियन डलर ऋण दिने घोषणा गरेको थियो । त्यसपछि यो महिनामा विश्व बैंक र पाकिस्तानबीच १.३ बिलियन डलर ऋणको सहमति भएको हो ।
खान सत्तामा आएको दुई वर्ष भयो । उनको कार्यकालमा हरेक नागरिकको टाउकोमा थोपरिएको ऋण निकै बढेपछि उनको आलोचना हुन थालेको हो । अधिकांश पाकिस्तानी अन्तर्राष्ट्रिय संस्थाहरूबाट ऋण लिने चलनको पक्षमा छैनन् । त्यस्तो ऋणको दुरुपयोग हुँदै आएकाले उनीहरुले यसको विरोध गरेका हुन् ।
ऋणको ब्याज निकै महँगो
पाकिस्तानी सरकारले आर्थिक वर्ष २०२०-२१ को जुलाईदेखि डिसेम्बर महिनासम्ममा कतिपय वित्तपोषण स्रोत र बाहिरी ऋणको रूपमा ५.७ बिलियन डलर प्राप्त गरेको छ । डिसेम्बरमा मात्रै विभिन्न देशबाट १.२ बिलियन डलर प्राप्त भएको छ । यसमा महँगो ब्याजदरमा लिइएको ४३४ मिलियन डलर पनि सामेल छ ।
पाकिस्तानलाई जी-२० देशहरु, आइएमएफ र विश्व बैंकबाट पूर्वमन्जुरी अनुसार ऋण मिलिरहेको छ । यो ऋणबाट मात्रै पाकिस्तान आर्थिक रूपमा उत्रन सक्ने अवस्था छैन । त्यसकारण पनि उसले महँगो ब्याजदरमा विभिन्न संस्थाबाट ऋण लिइरहेको छ । महँगो ब्याजदरको ऋणले पाकिस्तानलाई थप कठिनाइमा पारेको कतिपय आर्थिक विश्लेषकको भनाइ छ । पाकिस्तानसँग नजिक रहेका देशहरु पनि ऋण दिन वा त्यहाँ लगानी गर्न हिचकिचाइरहेका छन् । चीनले नै पाकिस्तानलाई ऋण दिन अतिरिक्त ग्यारेन्टी माग्न थालेको छ ।
उसै पनि केही वर्षदेखि आर्थिक उन्नतिमा सुस्त हुँदै गइरहेको पाकिस्तानलाई कोरोना महामारीले जटिलता थपिदिएको छ । चीनले पाकिस्तानमै कोरोनाको भ्याक्सिन निर्माण गर्ने स्वीकृति दिइसकेको छ । चीनसँगको गहिरो सम्बन्धबाट पनि पाकिस्तानले आर्थिक क्षेत्रमा कुनै सुधार ल्याउन सकिरहेको छैन । चीनसँग नजिकिनाले छिमेकी भारतले पाकिस्तानलाई कुनै पनि खालको सहयोग दिन नचाहेको पनि लामो समय भइसकेको छ ।
ऋणमाथि ऋणको बोझले पाकिस्तानलाई कता पुर्याउने हो, यसै भन्न सकिन्न । भ्रष्टाचार नियन्त्रण हुन नसकेसम्म पाकिस्तानले जति ऋण लिए पनि जनताको आर्थिक स्तरमा कुनै सुधार नआउने बरु देश कंगाल हुँदै जाने त्यहाँका अर्थशास्त्रीहरू बताउँछन् ।
(एजेन्सीहरूको सहयोगमा)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।