प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कोरोना महामारीभन्दा ठूलो महामारी सांस्कृतिक पतनको महामारी भएको बताएका छन् । विश्व योग दिवसको अवसरमा बालुवाटारमा भएको कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
कोरोना महामारी खोप र स्वास्थ्य सुरक्षा सतर्कताका कारण निकट भविष्यमा पराजित हुने भन्दै प्रधानमन्त्री ओलीले विशेषगरी अहिलेको युवा पुस्तामा देखिएको सांस्कृतिक पतनको महामारी अन्त्यका लागि पहल अत्यावश्यक भइसकेको बताए ।
अहिले नेपाली समाजमा विरोधका लागि विरोध गर्नु, वाक स्वतन्त्रताका नाममा विभिन्न लाञ्छना लगाउनु, अरुलाई अपमानित गर्नेहरुको ठूलो जमात बनिसकेको भन्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक पतनको यो महामारी नियन्त्रण आवश्यक रहेको बताए ।
प्रधानमन्त्री ओलीका अनुसार देशलाई अहिले दुई चिजले आक्रान्त पारेको छ । एउटा–कोभिड महामारी, अर्को सांस्कृतिक पतनको महामारी । अहिले समाजलाई यी दुवै चिजबाट जोगाउनका लागि अत्यावश्यक देखिएको उनले बताए ।
अरुको नक्कल गर्ने कामलाई हामी गर्वका रुपमा लिने गरेको प्रधानमन्त्री ओलीले बताए । अनुशासन तोड्नु, अराजक हुनु, असामाजिक हुनुलाई गर्वको विषयमा बनाउनु अहिलेको मुख्य सामाजिक समस्या भएको ओलीको भनाइ छ ।
अहिले नेपालमा कानुन तोड्नुलाई गर्वको विषय बनाउने गरेको ओलीले बताए । उनले अहिले देखावटी विरोध गरेर बलपूर्वक नकरात्मकता देखाउने काम भइरहेको बताए ।
सांस्कृतिक पतनको अहिलेको महामारी नियन्त्रणका लागि योगले सहयोग गर्ने ओलीले विश्वास व्यक्त गरे । जीवनलाई वस्तुपरक हिसाबले बुझ्नका लागि तथा जीउनका लागि पनि योगको महत्व उत्तिकै भएको ओलीको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।