शशांक र प्रकाशमानलाई बोलाएर निधिले भने– सभापतिमा मलाई सहयोग गर्नुहोस्

नेपाली कांग्रेसका नेताहरुलाई १४ औं महाधिवेशनले छोपिसकेको छ । १६–१९ भदौमा काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसका नेताहरु तयारीमा लागेका छन् ।

गत शुक्रबार केन्द्रीय कमिटी बैठकले महाधिवेशन गर्ने अनुमोदन गरेपछि यसको तयारीमा सबैभन्दा बढी लागेका छन्, कांग्रेस सभापति शेरबहादुर देउवा । देउवाले शनिबारबाट नै आफ्नो निवासमा विभिन्न नेताहरुलाई बोलाएर आफूलाई सहयोग गर्न अनुरोध गरिसकेका छन् । देउवाका लागि यसपटक सभापतिमा सबैभन्दा ठूलो चुनौति बनेका छन्, उनकै समर्थन गरिरहेका दुई नेता– विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ ।

निधि र श्रेष्ठ कांग्रेसमा सभापति देउवानिकट रहेका छन् । दुवैले सभापति देउवासँग यसपटक सभापतिमा आफ्नो दाबी रहने बताइसकेका छन् ।

यी दुईमा पनि निधि निकै आक्रामक रुपमा यसपटक आफूलाई सभापतिको आकांक्षी बनाइरहेका छन् ।

निधिले शनिबार फेरि सभापति देउवालाई यसपटक आफूलाई सहयोग गर्न अनुरोध गरेका छन् । शनिबार देउवा निवासमा भएको छलफलमा निधिले देउवालाई भनेका थिए– यसअघिको महाधिवेशनमा भएको वाचाअनुसार यसपटक मैले सभापतिमा उठ्ने निर्णय गरिसकेँ, मलाई सहयोग गर्नुहोला ।

तर, देउवाले निधिलाई फकाउन सुरु गरिसकेका छन् । उनले आफूनिकट अरु नेताहरुलाई पनि यसपटक निधिलाई आफूले फकाउने आश्वासन दिइसकेका छन् ।



तर, निधिले आफूलाई अगाडि बढाइसकेका छन् । यही क्रममा उनले सोमबार आफ्नो निवासमा यसपटक आफूलाई पनि सभापतिमा दाबी गरिरहेका दुई नेतालाई बोलाएका छन् । सोमबार विहान आफ्नो निवासमा निधिले प्रकाशनमान सिंह र शशांक कोइरालालाई बोलाएका हुन् ।

दुवै नेताहरुसँग उनले यसपटक कांग्रेसको नेतृत्व अब दोस्रो पुस्तामा आउनु पर्ने बताउँदै दुवै नेतालाई आफूलाई सहयोग गर्न अनुरोध गरेका छन् ।



‘उहाँले दुवै नेतालाई अब कांग्रेस नयाँ पुस्तामा आउनु पर्ने भन्दै आफूलाई सहयोग गर्न अनुरोध गर्नुभएको हो,’ छलफलमा सहभागी प्रकाशमान सिंहनिकट एक नेताले फरकधारलाई भने, ‘तर, दुवै नेताहरुले आफूहरु नै अहिलेका लागि सभापतिमा उठ्ने तयारीमा रहेको बताउनु भएको छ।’

  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १४:३८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया