काेराेना खाेप दुई डोज फरक–फरक लगाउँदा झनै प्रभावकारी : डब्ल्युएचओ

नेपालमा कोरोना भाइरसविरुद्धको खोप आरम्भ हुँदा भारतमा बनेको कोभिसिल्ड लगाइएको थियो । पछि भारतले उक्त भ्याक्सिनको थप मात्रा दिएन । त्यसपछि भेरोसिल नामक चिनियाँ भ्याक्सिन नेपाल भित्रियो । 

कोभिसिल्ड लगाउनेले भेरोसिल लगाउन नहुने भन्दै लामो समयसम्म एक डोज भ्याक्सिनमै चित्त बुझाउन बाध्य भए । तर, अब त्यो चिन्ता दूर भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोभिसिल्डको पहिलो डोज लगाउनेले दोस्रो तथा अन्तिम डोजका रुपमा भेरोसिल लगाउन सकिने बताएको छ । 

डब्ल्युएचओकी मुख्य वैज्ञानिक सौम्या स्वामिनाथन भन्छिन्, ‘दुई अलग–अलग कम्पनीको भ्याक्सिन लगाउँदा कोरोनाको नयाँ भेरिएन्टविरुद्ध झनै प्रभावकारी हुने देखिएको छ । नयाँ शोधबाट पहिला एक कम्पनीको लगाएर सोही कम्पनीको भ्याक्सिन कुरेर बसेका व्यक्तिका लागि अब सहज अवस्था आएको देखाएको छ ।’

पहिलो र दोस्रो भ्याक्सिनको डोज फरक–फरक कम्पनीको प्रयोग गर्न सकिने उनले स्पष्ट पारिन् । यसअघि पनि वैज्ञानिकहरुले फरक–फरक कम्पनीको भ्याक्सिन लगाउन सकिने बताए पनि प्रयोगमा आएको थिएन । नयाँ शोधले दुईखाले भ्याक्सिनबाट कोरोनाविरुद्ध लामो समयसम्म सुरक्षा मिल्ने र इम्युनिटी पनि वृद्धि हुने पुष्टि भएको स्वामिनाथन बताउँछिन् ।

त्यसो त दुईखाले भ्याक्सिनको साइड इफेक्ट भने अलि बढी हुने देखिएको छ । जिउ दुख्ने, ज्वरो आउनेजस्ता समस्या हुन सक्ने वैज्ञानिकहरु बताउँछन् । बेलायत, स्पेन र जर्मनीलगायत मुलुकमा यस्तो समस्या देखिएको थियो । 

अलग–अलग कम्पनीको भ्याक्सिनले यस्तो इम्युन सिस्टम बनाएको छ, जसले उच्च स्तरको एन्टिबडी र ह्वाइट ब्लड सेल्स निर्माण गरिदिन्छ । यसले भाइरस प्रभावित कोषिकाहरुलाई मारिदिन्छ । 
विभिन्न देशमा भ्याक्सिनेसन अभियान तीव्र पार्नका लागि फरक–फरक कम्पनीका भ्याक्सिनको परीक्षण गर्न थालिएको छ । मलेसियामा कोभिसिल्ड र फाइजरको भ्याक्सिन लगाउनेबारे योजना बनिरहेको छ । केही देशका औषधि निर्माता कम्पनी कोरोना भाइरसको भेरियन्टका लागि ‘बुस्टर सट’ पनि तयार गरिरहेका छन् । 



वैज्ञानिकहरुले यो तथ्य बताइरहँदा स्वास्थ्यविद्हरु भने बुस्टर सट आवश्यक पर्ने–नपर्ने भन्नेबारे अहिले नै केही भन्न नसकिने उल्लेख गरिरहेका छन् । 

स्वामिनाथन भन्छिन्, ‘यसबारे अहिलेसम्म कुनै जानकारी आइसकेको छैन । यो कदम अहिले अपरिपक्व छ, किनकि अहिले त कतिपय देशमा कोरोनाका पहिलो डोज नै लगाइएको छैन ।’ बेलायतले यो जाडोअघि नै बुस्टर डोज लगाइसकिने बताइएको थियो । बुस्टर डोज लगाएपछि महामारी नियन्त्रणमा पूरा मद्दत मिल्ने बेलायतको भनाइ थियो ।



नेपाललगायत कतिपय देशमा भ्याक्सिनेसन अभियान निकै सुस्त छ । यस्ता मुलुकमा भ्याक्सिनको पहिलो डोज लगाइसकेपछि मात्रै बुस्टर डोज आवश्यक हुने–नहुने निक्र्योल हुन्छ । भारतबाट कोभिसिल्ड आउने आशामा बसेको नेपालले पछिल्लोपटक चीनबाट भेरोसिल आयात गर्यो । 

अहिले भेरोसिल निश्चित उमेर समूहका व्यक्तिलाई लगाउने क्रम जारी छ । अब नेपालले कोभिसिल्डको पहिलो डोज लगाएका व्यक्तिलाई पनि भेरोसिल लगाउन सक्ने भएकाले त्यसबारे सोच्नु जरुरी छ । 

संसारभरि नै अहिले कोरोनाको सम्भावित तेस्रो लहरको त्रास बढिरहेको छ । डब्ल्युएचओका वैज्ञानिकहरुले कम्तीमा ७० प्रतिशत नागरिकलाई भ्याक्सिन लगाएपछि मात्रै कोरोना नियन्त्रण हुन सक्ने बताइसकेको छ । 

संसारका कतिपय भ्याक्सिन निर्माता देशलाई आफ्ना नागरिकलाई नपुगी भ्याक्सिन नबेच्ने बताइसकेका छन् । छिमेकी चीनले एक अर्बभन्दा बढी नागरिकलाई भ्याक्सिन लगाइसकेको छ । भारतमा भ्याक्सिनेसन सुस्त छ । त्यसकारण पनि नेपालले चीन वा स्पुतनिक भीको निर्माता रुसबाट भ्याक्सिन खरिद गर्नेबारे तत्कालै निर्णय गर्नुको विकल्प छैन । 

  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १९:१२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया