सुदूरपश्चिम प्रदेशको बजेटमा सांसदको चर्को विरोध

सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेट मा सांसदले चर्को विरोध गरेका छन् । नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको बजेट सरकारको बजेट नै नभएको तर्क दिए ।

‘‘बजेट होइन, सभामुख महोदय बिचौलियाहरुलाई राखेर बनाएको बजेट हो,’ उनले भने, ‘कांग्रेसले स्विकार्दैन ।’ सांसद खड्काले प्रक्रिया नै असंवैधानिक तरिकाले ल्याएको हुँदा जनताको पक्षमा हुने कुरै नभएको बताए । ‘योजनाहरु न्यायोचित तरिकाले वितरण गरिदिनुस् । यति लाख उति लाख हामी भन्दैनौँ ।’ 

‘मापदण्डविना नै आएको बजेटको औचित्य नभएको उल्लेख गर्दै उनले अहिले केही सुधार हुने अपेक्षा रहेको तर अन्त्यमा उस्तै बजेट आएको बताए । उनले भने, ‘कोभिडले सबै प्रभावित भएको वेला प्रदेश सरकार भएको महसस भएन, भाषणमा कुरा मिठा भए, तर व्यवहोरमा देखिएन । यही प्रवृत्ति रहने हो भने अन्तिम वर्षको बजेटको त कल्पनासमेत गर्न नसकिने उनले बताए । उनले बजेट पास गर्नुपहिले सर्वदलीय बैठक बोलाउन आवश्यक रहेको बताए ।

यस्तै कांग्रेस सांसद गोविन्दराज बोहराले केन्द्रमा सेटिङमा राज्य सञ्चालन भइरहेको बेला प्रदेशमा त्यो रोग सरेको बताए । उनले भने, ‘सांसदका योजना रातो किताबमा समेटिएका छैनन्, कहाँबाट योजना परेछन् ।’ 

निजी कम्पनीलाई योजना दिएको उनले आरोप लगाए । ‘फर्निचर उद्योगलाई योजना दिएको छ । अन्य ठाउँमा हेर्दा पनि त्यस्दै देखिन्छ, उनले भने, ‘यसले प्रदेशको के उन्नति गर्छ ?’ उनले प्रतिपक्षको काम बाटो देखाउने मात्र भएको बताए । 

सांसद बोहराले प्रदेश सरकार प्रतिपक्षको बाटोमा कहिले जान नसकेको बताए । ‘नजिकको मान्छेलाई योजना हाल्ने प्रवृत्ति देखिएको छ,’ उनले भने, ‘त्यसले गर्दा बजेटले प्रदेशको मुहार फेरिँदैन ।’



सत्ता पक्षकै सांसद कृष्णराज सुवेदीले पनि बजेटमा झ्यालबाट योजना हालिको आरोप लगाए । उनले भने, ‘मेरो निर्वाचन क्षेत्रमा एक सय ३३ वटा योजना आएका छन् । कहाँबाट आए मलाई थाहा नै छैन । यस्तो पनि कहीँ हुन्छ ?’ 

मन्दिरमा योजना नपरेकोमा सांसदको चिन्ता



मंगलबारको प्रदेश सभामा छलफलमा भाग लिने अधिकांश सांसदले मन्दिरमा योजना नपरेकोमा चिन्ता व्यक्त गरेका छन् । मन्दिरमा योजना नहालेको सत्ता पक्षका सांसद कृष्णराज सुवेदीले बताए । ‘मेरो निर्वाचनमा मन्दिरमा योजना पार्न आफ्नो स्वकीय सचिवलाई पर्यटन मन्त्रालयमा पठाएको थिएँ, मन्त्रीज्यूले मन्दिरमा योजना नपार्ने भन्दै फर्काए । तर, मन्त्रीको निर्वाचन क्षेत्र दार्चुलामा मन्दिर–मन्दिरका योजना रातो किताबमा राखिएका छन् ।’ 

कांग्रेस सांसद गोविन्दराज बोहराले पनि देवभूमिमा प्रदेश मा मन्दिरमा योजना नपारेकोमा चिन्ता व्यक्त गरे । ‘सुदूरपश्चिमका जनता धार्मिक र आस्थावान् छन्,’ उनले प्रदेश सभामा भने, ‘तर, यहाँ नै मन्दिरमा योजान हालिएको छैन ।’ 

यस्तै छलफलमा भाग लिने सत्तापक्षका सांसद बलबहादुर सोडारीले पनि मन्दिरमा योजना नहालेकोमा चिन्ता व्यक्त गरे । उनले पनि झ्यालबाट योजना आएको कुरा बैठकमा दोहोर्याएका थिए ।

कांग्रेस सांसद देवराज पाठकले विगतको बजेट भन्दा कुनै भिन्नता नरहेको बताए । ‘बजेट कनिका छरिएजस्तै छ । यसअघि विपक्षको मात्र वेदना हुन्थ्यो । यस वर्ष सत्तापक्षकै वेदना सुनिएका छन्,’ उनले भने, ‘यसलाई के को संकेत भन्ने हो ?’

मंगलबारको प्रदेशसभा बैठकमा सांसद दुर्गा कामी, शान्ति नेपाली, दिव्यश्वरी शाह, सुशीला बुढाथोकीलगायततले आफ्नो भनाइ राखेका थिए । 

  • प्रकाशित मिति : असार ८, २०७८ मंगलबार १८:४८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया