एकातिर अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सैनिक टोली फिर्ता हुँदै छ, अर्कोतिर तालिवानले आफ्नो रफ्तार बढाएको छ । यो समस्यालाई लिएर संयुक्त राष्ट्र संघले चेतावनी दिएको छ । तालिवान लडाकुले मे महिनादेखि अहिलेसम्म अफगानिस्तानको ३७० मध्ये ५० जिल्ला आफ्नो कब्जामा लिएको छ ।
संयुक्त राष्ट्र संघका विशेष दूत डेबोरा ल्योन्सले परिवर्तित पछिल्लो समीकरणलाई लिएर चेतावनी दिएका हुन् । अफगानिस्तानमा बढ्दो संघर्षको अर्थ असुरक्षा रहेको र त्यो केही छिमेकी मुलुकमा मात्र होइन, अन्य मुलुकका लागि पनि चिन्ताको विषय भएको उनको भनाइ थियो ।
अमेरिका र नेटोले सेप्टेम्बर ११ सम्ममा आफ्ना सबै सैनिक फिर्ता ल्याउने लक्ष्य लिएका छन् । पेन्टागनका प्रवक्ता जोन किर्बी भन्छन्, ‘अफगानिस्तानमा स्थिति गतिशील बनेको छ, तर तालिवानीको बढ्दो पकडले सैनिक फिर्ता कार्यक्रममा कुनै असर पारेको छैन । तथापि, तालिबानको रफ्तार र यसको दायरामा अझै पनि लचिलोपन बाँकी छ ।’
यति हुँदाहुँदै पनि इस्लामी समूह-तालिबानले केही समयदेखि जुन ढंगको प्रगति गरेको देखिएको छ, त्यसबाट संयुक्त राष्ट्र संघ चिन्तित रहेको उनको भनाइ थियो ।
ल्योन्स भन्छन्, ‘प्रान्तीय राजधानीसँग जोडिएका जुन जिल्ला तालिबानले कब्जामा लिएको छ, उनीहरूको निशानामा यिनै जिल्ला थिए । तर अहिले तालिबान विदेशी सैनिक फिर्ता हुने मितिको प्रतीक्षामा रहेको देखिन्छ ।’
अधिकारीहरूका अनुसार मंगलबार तालिवानले ताजिकिस्तानका साथै अफगानिस्तानका मुख्य सीमामा पनि कब्जा जमाएका छन् । यी क्षेत्र उत्तरी प्रान्त कुन्दुजमा पर्छ, जहाँ पछिल्लो समय संघर्ष चर्किएको छ ।
तालिवानी लडाकुले यी क्षेत्र आफ्नो पूर्ण नियन्त्रणमा रहेको बताएका छन् । प्रान्तीय राजधानी कुन्दुज (यसलाई पनि कुन्दुज नै भनिन्छ) मा मात्रै सरकारी नियन्त्रण रहेको छ । उता, अफगानिस्तानको रक्षा मन्त्रालयले अफगान सैन्यबलले केही जिल्ला पुनः आफ्नो कब्जामा लिने अभियान सुरु गरिसकेको बताएको छ ।
कुन्दुज सहर रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ । २०१५ भन्दा पहिला पनि यो क्षेत्रमा तालिवानको कब्जा थियो, जसलाई नेटो समर्थित अफगान सैन्यबलले आफ्नो कब्जामा लिएको थियो ।
स्थानीय मिडियाका अनुसार तालिवानले यो अवधिमा अधिक मात्रामा सैन्य उपकरण आफ्नो कब्जामा लिएको छ । साथै, दर्जनौं सैनिकलाई मारेको या घाइते बनाएको छ । यो संघर्षमा कतिजना तालिवानी मारिए भन्ने यकिन तथ्यांक छैन ।
आफ्नो गुमेको जमिन फिर्ता लिनका लागि छिट्टै आक्रामक सैन्य अभियान सुरु गरिने अफगान सैन्यबलको भनाइ छ । अफगान सेनाका प्रवक्ता जनरल अजमल सिनवारी भन्छन्, ‘‘चाँडै नै देशभरि अफगान सेनाको बढ्दो प्रभाव देखिने छ ।’’
अमेरिकी नेतृत्वको गठबन्धन सेनाले २००१ मा तालिवानलाई अफगानिस्तानको सत्ताबाट हटाइदिएको थियो । अमेरिकामा ९÷११ को हमला गर्ने ओसामा बिन लादेनजस्ता चरमपन्थीलाई तालिबानले सुरक्षा दिइरहेको अमेरिकाको आरोप थियो । यही कारण अमेरिकाले अफगानिस्तानमा आफ्नो सेना पठाएको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई विश्वास छ- अमेरिकी सुरक्षाबलले अब कुनै पनि विदेशी चरमपन्थी अफगानिस्तानले सुरक्षा दिएर राख्न सक्ने छैन, जो पश्चिमी मुलुकका निम्ति खतरनाक छ । तर अमेरिकाका एक वरिष्ठ अधिकारीले पछिल्ला वर्षहरूमा अफगानिस्तानका तालिबानी लडाकू समूहभित्र अल-कायदाका थुप्रै मानिस घुसपैठ भएको चेतावनी दिएका थिए ।
अफगाानिस्तानका राष्ट्रपति असरफ गनी आफ्नो देशको सैन्यबल तालिवानलाई नियन्त्रण गर्न सक्षम रहेको बताउँछन् । तर त्यहाँका अधिकांश मानिस विदेशी सैन्यबलको बहिर्गमनसँगै अफगानिस्तान तालिबानको हातमा जाने चिन्ता गर्छन् ।
अमेरिकी राष्ट्रपतिले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि पनि अफगान सरकारलाई सहयोग जारी रहने विश्वास दिलाएका छन् । तर यसमा सैन्य सहयोग भने सामेल छैन ।
(याे सामग्री बिबिसीबाट अनुदित गरिएकाे हाे ।)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।