मास्क र सेनिटाइजरको प्रयोग गर्दा छालाको सुरक्षा कसरी गर्ने ?

कोरोना भाइरसको महामारीको समयमा सबैभन्दा बढी उपयोग गरिने सामान हो मास्क र सेनिटाइजर । संक्रमण नियन्त्रण गर्नका लागि अत्यावश्यक सामग्री हुन् मास्क र सेनिटाइजर । संक्रमण नियन्त्रणका सजिलो र सहज उपलब्ध हुने साधन बनेका यी चीजहरुको उपयोग गर्दा हाम्रो छालालाई के कस्ता असर पर्छन् र ती समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा के भन्छन् त छाला रोग विशेषज्ञ ?

मेडिसिटी अस्पतालकी छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर उमा क्याल भन्छिन्, ‘छाला अनुसारको सेनिटाइजर तथा मास्कको प्रयोग गर्नु पर्दछ ।’ कोभिड १९ को संक्रमणको भय लगभग दुई वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको छ । यसबाट बच्न सामान्यतः जता पनि र जहिले पनि उपयोग हुने सामान हुन् मास्क र सेनिटाइजर । 

यो चीजहरु संक्रमणबाट बच्न प्रयोग हुने भएतापनि यी चीजहरु ​कस्तो र कसरी प्रयोग गर्ने भन्ने केही प्रावधानहरु रहेका हुन्छन् । नेपालमा पाइने विभिन्न किसिमका मास्क तथा सेनिटाइजरले हाम्रो शरीरको छालालाई प्रत्यक्ष प्रभाव पुर्‍याइरहेका हुन्छन् । विभिन्न किसिमका मास्कले छालामा एलर्जी आउने तथा गुणस्तरहीन सेनिटाइजरले शरीरमा छाला चिरिने तथा फुट्ने समस्या निम्त्याउँछ । 

कस्ता किसिमको मास्क छालाका लागि उपयोगी ! 
सर्जिकल मास्क, कपडाको मास्क तथा एन–९५ मास्क जस्ता मास्कहरु संक्रमण नियन्त्रणका लागि प्रयोग गरिन्छ । जसमा सर्जिकल मास्क हाम्रो अनुहारको जुन भागमा प्रयोग गरिएको हुन्छ, त्यो भाग गुम्सिने हुन्छ । मास्क लगाएको ठाउँमा डन्डिफोर आउने एलर्जी निस्कने जस्ता समस्याहरु हुने गरेको सौन्दर्य तथा छाला रोग विशेषज्ञ डाक्टर उमा क्यालले बताइन् । 

कोभिड १९ को संक्रमणबाट जोगिन मास्क लगाउनै पर्ने हुन्छ । उनले भनिन् । सर्जिकल मास्कले ‘मोस्चर अब्जर्भ’ नगर्ने भएकाले ब्याक्टेरियल इन्फेक्सनका कारण यस्तो समस्या आउने गरेको उनी बताउँछिन् । मास्कको प्रयोग गर्दा मोस्चर अब्जर्भ गर्ने तथा कपडाको मास्क पनि उपयुक्त हुने उनको भनाइ रहेको छ । मास्कको छनोट गर्दा आफ्नो त्वचाको किसिम हेरेर छनोट गर्नुपर्ने उनको सुझाव रहेको छ । 

त्यस्तै चर्म रोग विशेषज्ञ डाक्टर अनिल झा भन्छन्, ‘कोरोनाको संक्रमणबाट जोगिन धेरै प्रकारका मास्कहरु पाइन्छन् । जसमा सबैभन्दा उपयुक्त भनेको सर्जिकल मास्क र एन–९५ मास्क नै हो । तर, यस्ता मास्कको प्रयोगले अनुहारमा डन्डिफोर एलर्जी आउने हुन सक्छ ।’ 



मास्कको प्रयोगले अनुहारमा डन्डिफोर एलर्जी आउन सक्ने सम्भावना पनि रहेकाले भित्र सुतीको कपडाको मास्क लगाएर बाहिर पट्टी सर्जिकल तथा एन–९५ मास्क लगाउँदा छालामा देखिने एलर्जी, डन्डिफोर जस्ता समस्या कम हुने उनी बताउँछन् ।   

कस्तो छालामा कुन प्रकारको सेनिटाइजर तथा मास्कको प्रयोग गर्ने भन्ने विषयमा यौन तथा छाला रोग अस्पताल महाराजगञ्जमा यस सम्बन्धित भिडियो सामग्री नै बनाएर मानिसहरुलाई जनचेतना फैलाउने गरेको डाक्टर झाले जानकारी दिएका छन् । 



कस्तो सेनिटाइजर छालाका लागि उपयुक्त ?
घर बाहिर जहाँ पानी उपलब्ध हुँदैन, त्यहाँ हामी हात सफा गर्न ह्यान्ड सेनिटाइजरको प्रयोग गर्ने गर्छौँ । कोरोना भाइरसको महामारी अगाडि पनि प्रयोग हुने सामान हो सेनिटाइजर । तर, अहिले भाइरसको संक्रमण बढ्दै गएपछि भने अनिवार्य जस्तै बनेको छ, ह्यान्ड सेनिटाइजर ।

बजारमा दुई प्रकारको सेनिटाइजरहरु पाइन्छ । एउटा जेली र अर्को वाटरबेस । यी दुई सेनिटाइजरहरु मध्ये जुन व्यक्तिको हात फुस्रो छ, अथवा भनौँ ‘ड्राइ स्किन’ छ, उसले जेली सेनिटाइजरको प्रयोग गर्नु पर्छ । त्यस्तै, जो व्यक्तिको हात ‘ओइली’  अर्थात चिल्लो छ, त्यस्ता व्यक्तिहरुले पानी जस्तो लिक्विड सेनिटाइजरको प्रयोग गर्नु उपयुक्त हुने बताउँछन्, छाला रोग विशेषज्ञ डाक्टर अनिल झा ।
 
डा. झा भन्छन्, ‘कहिलेकाँही दुवै किसिमको सेनिटाइजरले नै हातमा एलर्जी हुन सक्छ । त्यसकारण हातमा सर्जिकल ग्लोब्स अर्थात पञ्जा लगाएर हिँड्ने र बाहिरबाट सेनिटाइजर लगाउँदा हात सफा पनि हुने र छालाको पनि सुरक्षा हुन्छ ।’

फुस्रो छाला हुने व्यक्तिका लागि भने जेली सेनिटाइजरले पनि हात सुख्खा हुन सक्ने भएकाले साथमा अरु नै खालका एक्ट्रा मोस्चराइजर क्रिम पनि लगाउनु पर्नेमा उनले ध्यानाकर्षण गराए । सेनिटाइजरको प्रयोग पश्चात् ५ देखि ६ मिनेटको फरकमा सुख्खा छाला हुने व्यक्तिहरुले मोस्चराइजर क्रिमको पनि प्रयोग गर्नुपर्ने उनले बताए । 
 
बजारमा अल्कोहलयुक्त र अल्कोहल बिनाको सेनिटाइजरहरु पनि पाइन्छ । अहिलेको अवस्थामा संक्रमणबाट सुरक्षित हुन ६० प्रतिशतभन्दा बढी अल्कोहल भएका सेनिटाइजरको प्रयोग गर्नुपर्ने बताउँछिन् छाला रोग विशेषज्ञ डाक्टर उमा क्याल । 

उनी भन्छिन्, अहिले बजारमा धेरै प्रकारको  सेनिटानइजरहरु पाइन्छ । जसमा अल्कोहलयुक्त र अल्कोहलबिना, यी दुईमध्ये अल्कोहल र ग्लिसिरिनयुक्त सेनिटाइजरको प्रयोग गर्नुपर्नेमा उनले जोड दिइन् । अल्कोहल युक्त कडा सेनिटाइजर प्रयोग गरेमा हातका छालाहरु फुट्ने, ड्राई हुने जस्ता समस्या देखिन्छ । 

डा. क्यालका अनुसार यस्ता व्यक्तिहरुले समय समयमा छालामा मोस्चराइजर क्रिमको प्रयोग गर्नु पर्छ । छालालाई सुख्खापनबाट बचाउन बडी लोसनभन्दा मोस्चराइजर क्रिमको उपयोग राम्रो हुने उनको सुझाव छ । 

डा. क्याल भन्छिन्, ‘कोरोना भाइरसको रोकथामका लागि अल्कोहल भएको सेनिटाइजर नै प्रयोग गर्नु पर्छ । हातको सुख्खापनका लागि अल्कोहलले भन्दा पनि अन्य किसिमका तत्वहरुले बढी भूमिका खेलेका हुन्छन् । ‘क्लो अक्सिडेन्ट’ भन्ने तत्व जुन हाम्रो हात धुने साबुन तथा सेनिटाइजरमा प्रयोग गरिएको हुन्छ, त्यसले छालालाई सुख्खा बनाइदिन्छ ।’

कस्ता सेनिटाइजर प्रयोग गर्दा छालामा हुने समस्या हुँदैन त ?
ग्लिसिरिन राखेको सेनिटाइजरको प्रयोगले छाला फुट्ने समस्या कम हुने गर्दछ । त्यस्तै, अहिले बजारमा आएका सेनिटाइजर मध्येमा पनि ६० प्रतिशतभन्दा बढी मात्रामा अल्कोहल भएको तथा ग्लिसिरिन मिसाएको सेनिटाइजरको प्रयोग गर्नु राम्रो हुने गरेको बताउँछिन् डाक्टर क्याल ।
  
यदी कोही व्यक्तिको शरीर सुख्खा छ भने सेनिटाइजर प्रयोग गरिसकेपछि बडी लोसन, ह्यान्ड लोसनभन्दा पनि मोस्चराइजर क्रिमहरुको प्रयोग गर्नु पर्दछ । 

छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर क्याल भन्छिन्, ‘बडी लोसन वाटरबेस हुन्छ, यसको प्रयोगले सुख्खा छाला एकैछिनमा फेरि सुख्खा हुन सक्छ । यसकारण सुख्खा छाला हुनेहरुले सेनिटाइजरको प्रयोग पश्चात ह्यान्ड अथवा बडी मोस्चराइजरको नै प्रयोग गर्नु पर्दछ । 

  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार १६:२६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया