मकवानपुरको स्थानीय तह बजेट : निःशुल्क कोभिड खोपदेखि ‘रक क्लाइम्बिङ’सम्म

मकवानपुरको १० वटै स्थानीय तहले आफ्नो पाचौँ बजेट ल्याएका छन् । स्थानीय पालिकाहरुले बिहीबार आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रस्तुत गरेका हुन् । 
 
हेटौँडाको बजेट २ अर्ब ८० करोड, कोभिड खोप निःशुल्क 

हेटौंडा उपमहानगरले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि २ अर्ब ६० करोड १ लाख ५२ हजारको बजेट सार्वजनिक गरेको छ । पूर्वाधार विकासतर्फ १ अर्ब ३० करोड ६० लाख ७६ हजार, आर्थिक विकासतर्फ १२ करोड ९८ लाख, सामाजिक विकासतर्फ ६३ करोड ९२ लाख ९९ हजार, स्वास्थ्यतर्फ ८ करोड ६१ लाख १० हजार, संस्कृति प्रवर्द्धनतर्फ २ करोड ३७ लाख, खेलकुद तथा मनोरञ्जनतर्फ ३ करोड ७२ लाख ८० हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ३ करोड ७ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५ करोड ४४ लाख २२ हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ १ करोड ९१ लाख बजेट विनियोजन गरेको छ । 

यसैगरी आन्तरिक स्रोतबाट २४ करोड ३८ लाख ७५ हजार, राजस्व बाँडफाँडबाट ५६ करोड ८ लाख ८१ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट १२ करोड ६६ लाख ९६ हजार, संघीय सरकारको अनुदान १ अर्ब २ करोड १ लाख, नगर विकास कोषबाट ऋण अनुदान ९ करोड र गत वर्षको नगद मौज्दातबाट ५६ करोड रुपँयाको व्यवस्थापन गरिने हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले बताइन् । 

हेटौँडा उपमहानगरले नगरबासीलाई निःशुल्क कोभिडविरुद्धको खोप लगाउने भएको छ । संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर नगरबासीलाई खोपको व्यवस्थापन गर्ने उपमेयर लामाले बताइन् । यस्तै, हेटौंडा–११ थानाभर्याङस्थित प्रदेश सरकारसँगको सहकार्यमा निमार्ण हुने प्रादेशिक थोक बजार, फलफूल तथा तरकारी बजार केन्द्रका लागि हेटौँडा उपमहानगरले तीन करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले सो जानकारी गराएकी हुन् ।  

यस्तै थाहा नगरले आगामी आर्थिक वर्ष ०७८–०७९ का लागि झण्डै एक अर्बको बजेट ल्याएको छ । थाहा नगरले ९५ करोड ६४ लाख ३२ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको हो। बिहीबार नगरसभामा उपप्रमुख खड्गबहादुर गोपालीले आगामी वर्षको लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । चालू खर्चतर्फ ८ करोड ५७ लाख ४५ हजार, पुँजीगत खर्च ४२ करोड ७५ लाख ८१ हजार, सशर्ततर्फ ३२ करोड ३१ लाख ६ हजार, सामाजिक सुरक्षातर्फ १२ बजेट विनियोजन भएको हो । थाहा नगरले आफ्नो आन्तरिक आम्दानीबाट ११ करोड ८८ लाख ४९ हजार, राजस्व बाँडफाँडबाट १६ करोड ५३ लाख ४९ हजार, संघीय अनुदान ५७ करोड ५५ लाख र प्रदेशबाट ९ करोड ६७ लाख ३४ हजार रुपैयाँ आय गर्ने भएको छ ।  

मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपैयाँ ९६ पैसाको बजेट बिहीबार गाउँसभामा प्रस्तुत गरेको छ । गाउँपालिकाले आन्तरिक आयबाट २ करोड ७० लाख ६० हजार, चालू वर्षको मौज्दात कोषबाट ३३ करोड ७७ लाख ९९ हजार ७ सय १८ रुपैयाँ ९६ पैसा, संघीय सरकारबाट प्राप्त २७ करोड ३८ लाख, बागमती प्रदेशबाट प्राप्त १ करोड ७७ लाख र प्रदेश समपुरक अनुदानबाट २ करोड ९७ लाख ६४ हजार आय प्राप्त हुने जनाएको छ ।



भीमफेदीले ल्यायो ‘हेर्न जाऊँ टनेल गाउँ’ कार्यक्रम 

मकवानपुरको भीमफेदी गाउँपालिकाले महत्वाकांक्षी बजेट ल्याएको छ । ६५ करोड ४२ लाख ९९ हजारको बजेटमा गाउँपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने लक्ष्यसहित हेर्न जाऊँ टनेल गाउँ भन्ने नारासहित कृषि पर्यटनलाई जोड दिएको छ । यस्तै, गाउँपालिकाले भीमफेदीको हात्तीसार क्षेत्रमा साहसिक खेल जिपलाइन र भीमफेदी गाउँपालिका ९ मा रक क्लाइम्बिङ, ९ नम्बर मै लालिगुराँस साइक्लिङ ट्रयाकसम्मको योजना गाउँपालिका उपाध्यक्ष पार्वती रानाले  सार्वजनिक गरेकी छिन् ।



यस्तै, पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले पनि  बिहीबार आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट अनुसार, गाउँपालिकाले ५३ करोड ६६ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको छ । नीति कार्यक्रमअनुसार, गरिबी निवारणमा सहयोग पुर्याउने, वातावरणीय सन्तुलन कायम राख्ने, छिटो प्रतिफल र उत्पादनमूलक बनाउने, साहित्य कला र संस्कृतिको प्रवद्र्धन गर्ने, विपद् व्यवस्थापन न्यूनीकरण गर्ने, शिक्षा, स्वास्थ्य र खानेपानीलगायत क्षेत्र प्राथमिकतामा समेटिएका छन् ।

मकवानपुरको कैलाश गाउँपालिकाले पनि आगामी आर्थिक वर्ष २०७८–०७९को नीति कार्यक्रम र बजेट ल्याएको छ । कैलाश गाउँपालिकाले ४५ करोड ९६ लाख बजेट ल्याएको गाउँपालिका अध्यक्ष टंक मोक्तानले बताए । बजेटमा कृषि, स्वास्थ्य र विद्युतीकरणलाई जोड दिइएको छ । 

यस्तै, मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७८–७९ का लागि ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंको अध्यक्षतामा भएको गाउँपालिकाको सातौँ गाउँसभामा उपाध्यक्ष हर्कमाया रुम्बाको आदेशमा वडा अध्यक्षसमेत रहेका गाउँसभा सदस्य टीकाप्रसाद दाहालले आर्थिक वर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । 

गाउँपालिकाले आर्थिक वर्ष २०७८–०७९ का लागि संघीय सरकार र प्रदेश सरकारको गरी वित्तिय समानीकरण अनुदान ११ करोड ३८ लाख ६७ हजार प्राप्त हुने जनाएको छ । त्यस्तै, संघीय सरकार राजस्व बाँडफाँडका विभिन्न शीर्षकबाट १७ करोड ५५ लाख ५० हजार ५ सय प्राप्त हुने अनुमान गरिएको छ ।  नीति तथा कार्यक्रममा विषय क्षेत्रगत अनुमानित आर्थिक विकास क्षेत्रमा १० करोड ६० लाख ८० हजार रहेको छ जसबाट कृषि क्षेत्रमा २ करोड ६४ लाख, १३ हजार उद्योग क्षेत्रमा ६५ लाख, पर्यटनमा १ करोड १४ लाख, ५ हजार, सहकारी क्षेत्रमा ६६ लाख, जलस्रोत तथा सिँचाइमा २ करोड २२ लाख २० हजार, पशुपक्षी विकासमा २ करोड ८४ लाख ३२ हजार र भूमि व्यवस्थामा ४५ लाख बजेट छुट्याइएको छ ।  

त्यस्तै, पूर्वाधार विकास क्षेत्रको यातायात पूर्वाधारमा १४ करोड ६२ लाख, ९० हजार, भवन, आवास तथा सहरी विकासमा ८८ लाख ५० हजार, ऊर्जामा ३५ लाख ६८ हजार, सूचना तथा सञ्चारमा ८ लाख १८ हजार, विज्ञान तथा प्रविधिमा १० लाख ९५ हजार गरी पूर्वाधार विकास क्षेत्रमा १६ करोड विनियोजन गरेको छ ।
 
मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकाले सबैभन्दा कम बजेट प्रस्तुत गरेको छ । इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३८ करोड ४१ लाखको बजेट सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख जीवन लामाले जानकारी दिए । 

मनहरी गाउँपालिकाले पनि आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको बिहीबार बसेको नवौँ गाउँसभामा उपाध्यक्ष मनिला विष्टले आगामी आवका लागि ८३ करोड ६७ लाख ८६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । गाउँपालिकाले आगामी आर्थिक वर्षमा कोरोना संक्रमण नियन्त्रण, कृषि तथा पशुपालन, घरेलु तथा साना उद्योग, पर्यटन विकास, पूर्वाधार विकास, शैक्षिक विकास कार्यक्रम, थाहा स्वास्थ्य बिमा कार्यक्रम, विद्युतीय सुशासन कायमलगायतलाई प्राथमिकतामा राखेको छ ।

यस्तै, मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि कुल ५४ करोड ७३ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।  गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङले गाउँपालिकाको १०औँ गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि चालूतर्फ २८ करोड ८४ लाख रुपैयाँ अर्थात् ५२.७० प्रतिशत र पुँजीगततर्फ २५ करोड ८८ लाख रुपैयाँ अर्थात् ४७.३० प्रतिशत बजेट विनियोजन गरेको छ ।  

राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्षको आषाढ मसान्तसम्ममा आन्तरिक राजस्व वृद्धि भई ४ करोड ८३ लाख रुपैयाँ संकलन हुने, चालू आर्थिक वर्षमा ३ करोड रुपैयाँ मौज्दात रहने, संघीय सरकारबाट ३९ करोड १८ लाख १३ हजार रुपैयाँ र प्रदेश सरकारबाट ७ करोड ७१ लाख ०७ हजार ८ सय ४३ रुपैंया वित्तीय हस्तान्तरणमार्फत प्राप्त हुने अनुमान गरेको छ ।

  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार २१:१०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया