विभेद गर्ने शैलीमा पनि आधुनिकता छिरेछ
शिव परियार
फरकधार / १२ असार, २०७८

:“नरिसाउ ल नानी, बरु यसो बस्ने अरु साथी खोजिदेऊ है, यसो आउँदै गर है”।
 : कामी भन्नेबित्तिकै म झस्कें।



बा, हजुरबा पुस्तामा ठाडै अपशब्द गाली वचन बोलेर गरेको विभेद मात्रै विभेद थियो, अहिले त माया गरेर बोलेर पो व्यवहार गरेको रहेछ नि, यस्तो नि विभेद हुन्छ र ? भन्ने पुस्ता यसपटक सामाजिक सञ्जालमा धेरै देखिए।

यो अहिलेको पुस्ताले चाँही विभेद गर्ने शैलीमा अलिक आधुनिकता भित्र्याएको पाइयो। जस्तै हुन्छ नि माया गरे जस्तो गर्दै विभेद कायम राख्ने खतरनाक विभेदको आधुनिक शैली।

"गाली गरी गरी घाँटी रेटे पनि, अथवा ग्वाम्लाङ्गै अँगालो हालेर  गालामै च्वाप्प च्वाप्प म्वाइँ खाँदै  घाँटी रेटे पनि परिणाम त आखिर मृत्यु नै हो। तर माया गरेको रैछनी त, चुम्मा पनि त खाकै रहेछ, त्यसले घाँटी रेटेर मारेको पनि मारेको हो र ? 



रिसाएको, गाली गलौज त्यस्तो केही गरेको थिएन त, कति राम्रोसँग म्वाँइ खाएर घाँटी रेटेको रहेछ नि,  त्यसरी रेट्दा पनि मृत्यु हुन्छ र ? 

सामाजिक सञ्जालमा यसपाली यही सोच स्थापित गर्न विचार प्रस्तुत गर्ने क्रम जारी देखियो। प्रस्तुत विचार अनुसार जातीय विभेद गर्ने शैलीमा पनि अहिले आधुनिकतावाद छिरेको प्रष्ट भएको छ। 

हिजोसम्म हामी जातीय विभेदरहित समाजको पक्षमा छौं भन्नेहरुको मुकुण्डो उत्रेको पनि देखियो। उनीहरुले यही ठान्ने रहेछन् कि माया गरेर, मिठो बोलेर गरिने विभेद विभेद नै होइन भनेर। मैले माथि भनें नि च्वाप्प-च्वाप्प म्वाइँ खाएर घाँटी रेटेर मार्ने अपराध होइन भनेजस्तै। यस्तो सोचसहित आधुनिक शैलीको जातीय विभेद कायम राख्न चाहनेहरुलाई रुपा सुनार र सरस्वती प्रधानको यो विषयले झस्काइदिएको हुनसक्छ। 

अशान्ति भो ,सामजिक सदभाव खल्बलियो यस्तो के गरेको भन्नेहरुलाई मेरो प्रश्न छ-हिजो आफूलाई उच्च जात भनिने पुस्ताले हिजोको कथित तल्लो जात भनिने पुस्तालाई विभेद गर्दा कथित तल्लो जात बनाइएका पुस्ताले प्रतिवाद या विरोध गर्न सकेनन्।

आफूमाथि भएको विभेद सहन बाध्य भए। किनकि उनीहरुलाई कानुन बनाएर हात खुट्टा बाँधिएको थियो। अत्यन्तै कमजोर बनाइएको थियो। आफूमाथि जबरजस्ती लादिएको विभेदको प्रतिवाद गर्न नसक्ने अवस्थामा विभेद सहन बाध्य पारिएका वर्गले विभेद सहिदिएकै कारण समाजमा कथित उच्च जातले शान्ति महसुस गरे। किनकी उनीहरुलाई आफ्नो शान्तिको मात्र चिन्ता थियो।

आफूलाई उच्च जातको मसिहा मान्नेले कथित तल्लो बनाइएका जातिमाथि बोली बचनले प्रहार गरिरहे। उच्च वर्गले आफ्ना लागि निर्माण गरेको शान्ति जातीय उत्पीडित जाति, वर्गलाई त सधैं मुर्दा शान्ति नै भइरह्यो। तर आज समय फेरिएको छ। गाउँ-गाउँ, शहर-शहरमा धेरै रुपा सुनारहरु छन्।

 उनीहरु छद्म भेषी सोचलाई बुझ्न चुक्दैनन्। अन्याय सहँदैनन्। विरोध गर्छन्।  अनि आज पनि आफू उच्च भइराखेर अरुलाई नीचको दर्जामा देखिरहन चाहनेहरुको फेरि टाउको दुख्न सुरु हुन्छ। 

'नरिसाऊ ल नानी' भनेर आधुनिक शैलीमा विभेदलाई निरन्तरता दिइरहने हो भने यो समाजमा सरस्वती प्रधान र रुपा सुनार चरित्रको द्वन्द समाजमा जारी नरहला भन्न सकिन्न। त्यो पक्कै पनि नेपाली समाजका लागि हितकर हुने देख्दिन म।

त्यसैले आमा, बाबा, हजुरआमा, हजुरबुबाका अपराध अपराध नै होइन भन्ने कुतर्क छोडेर जातीय समानता कायम गर्ने बाटोतर्फ सबै नेपाली लाग्न जरुरी छ।

किन भने उत्पीडित वर्गले छद्म भेषी जातीया समानता खोजेको हैन।  राज्य, समाज र व्यक्तिबाट मान्छेले मान्छेलाई गर्ने समानतामुखी व्यवहार अपेक्षा गरेको हो। 

दलित वर्ग र गैरदलित वर्गका धेरै शुभचिन्तकले मैले नबोलेको विषयमा बडो चित्त दुखाउनु भो अनि म बोल्न बाध्य भएँ। म कुनै एक वर्ग, जात, धर्मको एकलौटी कलाकार होइन तर विभेद गर्ने र विभेद भोग्नेहरु बीचमा जातीय समता कायम हुनुपर्छ भन्ने मेरो मनसाय हो। विभेद गर्नेहरु आज विभेद गर्ने कुरामा आधुनिक शैली अपनाउँदै छन्। यो त विभेद गरेको होइन नि माया गरेको हो भन्दैछन्। 

पहिलो कुरा यो दलित भन्ने शब्द वर्ग वा सम्प्रदाय  होइन।  यो विभेद अन्त्यका लागि संघर्ष गर्न बनाइएको सांगठनिक मोर्चाको नाम हो। हिजोको दिनमा समाजले पानी चल्दैन है भनेर चरम जातीय विभेद गरेका नेपालका करिब २० देखिमाथि जातहरुको साझा संगठन हो दलित।

जातीय विभेदविरुद्ध जातीय समानता होइन कि जातीय समताका लागि यसको आन्दोलन जारी छ। यहाँ खै किन हो पछिल्लो चरणमा दलित समुदाय भनेर यसलाई  जात नै बनाइएको छ यो गलत छ। 

२०६२/०६३ पछि बनेको गनतान्त्रिक सरकारले हिजो चरम विभेद भोगेका दलित वर्ग, मधेसी, जनजातिलाई वर्ग उत्थानका लागि। समावेसी कोटा उपलब्ध गराएको छ। जसमा दलितको जम्मा ९ प्रतिशत पर्दछ। 
तर आफूलाई सर्वहारा जनताको मसिहा ठान्ने सरकारले अहिले त्यो पनि पूर्णकार्यन्वयन गर्न बन्द गरेको छ। 

हरेक विभेदको घटनामा एउटा सामन्त वर्गको एक जमात सामाजिक सञ्जालमा कोटा खारेज गर, दलित कोटा खारेज गर भनी कुर्लिन्छ। उसको मुख्य टार्गेट नै दलित कोटा खारेज गराउनु हो। उसले महिला आरक्षण खारेज गर भन्न सक्दैन किनकी महिला आरक्षणका नाममा दिइने ३३ प्रतिशतमा उसैको वर्गको प्रतिनिधित्व छ। 

यो विषयमा बोल्दा उसको आफ्नै वर्गको टाउको फुट्छ भन्ने उसलाई थाहा छ। त्यही भएर डराउँछ। उसले जनजातिको आरक्षणको विषयमा त झन बोल्ने कुरै भएन एक नं. प्रदेश नै बन्द हुने सम्भावना भो, जनजातिसँग भिड्न अलि आँट पुगेन उसको। 

अब आयो मधेसी समुदाय अहिले तराईका मधेसी समुदायको आरक्षण कतौटीका विषयमा उनीहरु चुइँक्क बोल्न सक्दैनन् किनभने देश नि दुइटा बनाउँछु भन्ने थ्रेट र तराई झर्नै बन्द हुने अवस्था आउँन सक्दछ।

अब बाँकी को रह्यो भन्दा हिजो चरम जातीय विभेद गरेर दासत्व स्वीकार गर्न बाध्य पारिएका दलित समुदाय। उनीहरुलाई हेर्ने यी सामन्त वर्गको नजरिया र सोच त आज पनि परिवर्तन भएको छैन। यिनिहरु समता रुपि मन भावले हेर्नै हुँदैन भन्ने मन्साय बोकेर बोलिरहेका छन्।

2062/63 अगाडि विभेद थिएन? दलितको कोटा खारेज हुनेबित्तिकै सबैले आधिकार पाउँछन्? जातीय समतासहितको समानता कायम हुन्छ ? कदापि हुँदैन। 

हिजो दबाइएका, दलनमा पर्न बाध्य बनाइएका, मान्छे, जनावर भन्दा पनि नीच व्यवहार खप्न बाध्य पारिएका दलित समुदायका आजका पुस्ता समाजमा शिक्षित भए। बोल्न थाले। उनीहरुको पनि पहुँच पुग्न थाल्यो। उनीहरु पनि हजुर-हजुर गरेर टाउँको निहुर्याएर बोल्नुको सट्टा आँखामा-आँखा मिलाएर व्यवहार गर्नथाले।

पछि अहो ! अब हाम्रो भाग खाने भो भन्ने डरले फेरि उनीहरुलाई त्यही दासत्वको जीवन बाँच बाध्य पार्नका लागि सामन्त जहिले पनि कोटा खारेज गर भन्छ।

 कुनै पनि बहानामा जातीय विभेद हुनुहुँदैन भन्दैन । बरु कोटालाई कोठासँग जोडेर बहस गर्छ । यो त्यै सामन्तको पिढी हो जसले हिजो मान्छेलाई मान्छे बन्न नदिएकै कारण आज देशमा यत्रो परिवर्तन भैसक्दा पनि एउट वर्ग हरेक दिन मान्छे हुँ म भनेर आफ्नो अस्तित्व मान्छे भएको संसारलाई बताउँन बाध्य छ।

आफ्नो व्यक्तिगत सम्पतिलाई यदि कसैले आम्दानी गर्नकै लागि सेवाको माध्यम अपनाएर पब्लिक प्लेट्फर्मसम्म लान्छ भने चाहे मिठो बोलेर होस् चाहे तितो बोलेर होस् त्यँहा जातीय विभेद गर्न पाइँदैन्।

 ​(गायक शिव परियारको यो विचार उनको फेसबुक पेजबाट साभार गरिएको हो)

  • प्रकाशित मिति : असार १२, २०७८ शनिबार १५:४७:५,   अन्तिम अपडेट : असार १२, २०७८ शनिबार १८:१२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया