उही खेल, उस्तै प्रतिस्पर्धा : तर, महिलामाथि यस्तो विभेद !

नेपाली महिला खेलाडीको सन्दर्भ परै राखौं, युरोप-अमेरिकालगायत सम्पन्न देशमा समेत खेलकुदमा महिला र पुरुषबीच ठूलो खाडल छ । यो विभेद विभिन्न खेलका विश्वकप र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितासम्म नै फैलिएको छ । महिला खेलाडीको पारिश्रमिक अनि महिलाले भाग लिने सबैखाले खेलकुद प्रतियोगिताको स्पोन्सर सम्मले पनि चर्को विभेद गर्दै आएको पाइन्छ ।

पुरुषको तुलनामा महिला खेलकुदका कार्यक्रमहरु निकै कम रहेको विश्व रेकर्डले देखाउँछ । खेलकुदमा महिलाको सहभागिता २०औँ शताब्दीमा मात्रै केही बढेको देखिन्छ । पछिल्लो समय खेलप्रेमी तथा खेलकुदमा संलग्न हुने महिलाको संख्या बढेको छ । तर पनि पुरुषको तुलनामा महिला सहभागितामा हुने खेलकुद प्रतियोगिता अझै निकै कम छ । 
 
विश्वमा महिला खेलकुदको अवस्था 
फुटबल

फुटबलमा महिला टुर्नामेन्टका रुपमा सर्वप्रथम १९९१ मा विश्वकप भयो । त्यस बेलादेखि हरेक चार वर्षमा यो प्रतियोगिता हुँदै आएको छ । विगतमा ३६ वटा देशहरुले महिला विश्वकप फुटबल खेल्दै आएका थिए । भाग लिने टोलीमा घटबढ भइरहन्छ । 

१९९१ देखि सुरु भएको महिला विश्वकपको आगामी संस्करण २०२३ मा हुनेछ । यस पटक भने ३२ टोलीले मात्रै भाग लिने भएका छन् । महिला विश्वकपमा सहभागी हुने टोली घट्नु पनि चिन्ताको विषय बनेको छ । 

विश्वकप मात्रै नभएर फ्रेन्चाइज फुटबल प्रतियोगितामा पनि महिलाको प्रतियोगिता कमै हुन्छन् । युरो कप, कोपा अमेरिकाजस्ता प्रतियोगिता पनि पुरुषको तुलनामा कम चर्चामा आउँछन् । महिला सहभागी प्रतियोगिताहरुमा दर्शकको चासो पनि कम हुँदै आएको पाइन्छ ।

अन्तर्राष्ट्रिय फुटबलमै पारिश्रमिक विभेद उच्च छ । २०१९ मा अमेरिकाको महिला टोलीले विश्वकप जित्दै गर्दा ‘इक्वेल पेमेन्ट’को चर्चा निकै चुलिएको थियो । पुरुषले विश्वकप जित्दा र महिलाले जित्दाको पुरस्कार रकम नै कम थियो । अमेरिकामा ‘इक्वेल पेमेन्ट’लाई लिएर महिला फुटबल टोलीले कानुनी कारबाहीको मागसमेत अगाडि बढाएका थिए । 



क्रिकेट 
महिला क्रिकेट तुलनात्मक रुपमा सधैं पछि परेको छ । प्रतियोगिता आयोजना, पारिश्रमिकजस्ता कुरामा महिला क्रिकेट पुरुषको तुलनामा कमजोर देखिन्छ । गत मार्चमा सम्पन्न अस्ट्रेलिया र भारतबीचको महिला टि–२० प्रतियोगिताको फाइनल प्रतियोगिता हेर्न मेलबर्न क्रिकेट ग्राउन्डमा ८६ हजार भन्दा बढी दर्शक उपस्थित भए । यस प्रतियोगिता सकिने बित्तिकै महिला क्रिकेटले अब राम्रै स्थान पाउन थालेको चर्चा चुलियो । 



तर, विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीले पुनः सबै खेलकुद बन्द हुन पुगे । क्रिकेटमा पनि पारिश्रमिकदेखि हरेक कुरामा महिला टोलीका सदस्यमाथि विभेद व्याप्त छ । विश्वका विकसित भनिएका राष्ट्रहरुमा पनि महिला क्रिकेटको अवस्था पुरुषको तुलनामा कमजोर रहेको छ । 

दर्शकले सधैं पुरुषका प्रतियोगिताहरुलाई बढी महत्व दिँदै आएकाले महिला सहभागिताका विभिन्न खेल ओझेलमा परेका छन् । पुरुष सहभागी खेलभन्दा महिलाका खेल प्रतियोगिताको लगभग आधा छन् । 

अन्य खेलकुदमा महिला  
अन्य खेलकुद जस्तैः पौडी, ब्याडमिन्टन, बास्केटबल, भलिबल, कुस्तीजस्ता खेलमा पनि महिलाको सहभागिता निकै कम छ । शारीरिक तथा सामाजिक कारणले पनि महिलालाई खेलाडीका रुपमा अघि बढ्न मुश्किल छ । आमा बनेपछि कम्तीमा पनि एकदेखि दुई वर्षको समय खेलकुदमा लाग्न सक्दैनन् । यसकारण पनि महिला खेलाडी पछि पर्दै आएका हुन् ।
 
सुधारिएको पक्ष 
सन् १९६५ पश्चात् खेलकुदमा महिलाको अवस्था विस्तारै सुधारिएको पाइन्छ । अहिले ओलम्पिकजस्ता विश्व चर्चित खेलका प्रायः प्रतियोगितामा महिला र पुरुषको बराबर प्रतिस्पर्धा हुन थालेका छन् । ओलम्पिकमा महिला र पुरुषको पुरस्कार रकम पनि बराबर छ । 

त्यस्तै, विश्वव्यापी रुपमा हुने अन्य खुला प्रतियोगिताहरुमा पनि महिलाले पुरुषसँगै भिडेर हराउनसमेत थालेका छन् । २०२० फेब्रुअरी २९ मा अमेरिकामा भएको स्टेट लेभल खुला रेस्लिङ प्रतियोगितामा १६ वर्षीया हेभन फिचले आफूसँग भिडेका पुरुष प्रतिस्पर्धीलाई पराजित गर्दै च्याम्पियनसिप जितेकी थिइन् । यस्ता केही उदाहरणले महिलाहरु खेलकुदमा अगाडि बढिरहेको देखिन्छ, तर यो पर्याप्त छैन ।   

नेपालमा महिला खेलकुद 
पछिल्लो समय नेपाली खेलकुदका केही प्रतियोगिता महिला र पुरुषको बराबर हुन थालेको छ । तर, अधिकांश खेलमा पुरुष बर्चस्व कायमै छ । नेपालमा महिला खेलाडीलाई सरकारका तर्फबाट दिइने पारिश्रमिकमै विभेद छ । राष्ट्रिय स्तरका खेलाडीलाई दिइने तलबमै असमानता छ । प्रतियोगिताहरुमा जति पुरुषहरु भिड्दा दर्शकको चासो हुने गरेको छ, त्यति महिलाको सहभागिताले आकर्षण दिन सकिरहेको छैन । 

नेपालमा फुटबल, क्रिकेट र भलिबलमा महिला प्रतियोगिता बढी हुने गरेको छ । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता पश्चात् नेपाली महिला खेलाडीको उदय र अन्य धेरै खेल पनि आयोजना हुन थालेको देखिन्छ । खेलकुदका अन्य विधामा महिला सहभागिता विस्तारै बढ्न थालेको छ ।
 
सागमा महिला शान 
१३औँ साग पश्चात् नेपाली महिला खेलाडीको शान निकै चुलियो । नेपालले त्यस प्रतियोगितामा २०७ मेडल हात पार्यो । जसमा १०७ मेडल महिला खेलाडीले जिते । नेपालले सागमा ५१ वटा ऐतिहासिक स्वर्ण हात पार्यो । जसमा २८ स्वर्ण महिला खेलाडीले आफ्नो नाममा दर्ता गरेका थिए । नेपालमा महिला खेलाडीले सागमा २८ स्वर्ण, ४१ रजत, ३३ कास्य र ५ वटा मेडल समूह खेलबाट जितेका थिए । 

नेपालका महिला खेलाडीले फरकफरक खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । जसमा कराँतेकी अनु अधिकारीले एक अंक पनि नगुमाई नेपाललाई स्वर्ण जिताइन् । सुनिता महर्जन, कुसुम खड्का, अनुपमा मगरजस्ता खेलाडीले पनि कराँतेमा स्वर्ण जिते । त्यस्तै, पहिलो पटक निकै रोमाञ्चक तरिकाले एक मिलिसेकेन्डको फरकमा धाविका सन्तोषी श्रेष्ठले नेपाललाई पहिलो पटक १० हजार मिटर दौडमा स्वर्ण जिताइन् । 

नेपाली खेलकुदले बिर्सन नसक्ने अर्को नाम हो, गौरीका सिंह । उनले नेपालका लागि एकै विधा (पौडी)बाट चार स्वर्ण जिताइन् । यस प्रतियोगितापछि उनलाई ‘गोल्डेन गर्ल’ उपनाम पनि दिइयो । 

फुटबल


नेपालमा सबैभन्दा लोकप्रिय र सबैले सहजै बुझ्ने खेल हो फुटबल । हुन त फुटबलमा धेरै किसिमका नियम हुन्छन्, तर सामान्य हिसाबले सबैले बुझ्ने गोल गरेर अंक बढ्ने वा नबढ्ने भन्ने कुराले गर्दा यो खेल लोकप्रिय बन्न पुगेको हो । 

नेपाली महिला फुटबलमा निकै चर्चित नाम हो, सावित्रा भण्डारी । यिनको खेल निकै नै मनमोहक मानिन्छ । उनी महिलातर्फ अन्तर्राष्ट्रिय सर्वाधिक गोल गर्ने खेलाडी हुन् । ३८ गोल गरेकी उनी प्रथम भइन् । 

उनीसँगै अन्य चार नेपाली महिला खेलाडीले विदेशी लिग खेल्ने मौका पनि पाए । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला र पुरुषको मासिक तलबमा पनि एकरुपता ल्याई बराबरीको आभास दिलाउने कोसिस गरेको छ । 

क्रिकेट  


महिला क्रिकेटअन्तर्गत कीर्तिमान बनाउने मध्ये एक हुन्, अञ्जली चन्द । उनले सागमा कीर्तिमानी बलिङ गरिन् । अञ्जलीले दुई ओभर बलिङ गर्दै एक रन पनि नदिई ६ विकेट लिएकी थिइन् । अन्तर्राष्ट्रिय टि–२० महिला क्रिकेटमा कुनै पनि क्रिकेटरले यस्तो रेकर्ड बनाएका छैनन् । यसपछि नेपालमा महिला र पुरुषको समान क्रिकेट प्रतियोगिता भएका छन् ।

महिला र पुरुष दुवैको मेयर कप तथा प्रधानमन्त्री कप प्रतियोगिता सम्पन्न भए । पहिलो लहरको कोरोना संक्रमण केही मत्थर भएपछि सम्पन्न यी खेलहरुमा पुरुषको प्रतियोगितामा दर्शकको उपस्थिति बाक्लो देखियो भने महिलाका प्रतियोगितामा निकै कम देखियो । यसबारे प्रतियोगिता सकिएपछि अनेक बहस पनि भए । 

क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले यसै वर्षदेखि महिला खेलाडीको लागि पनि मासिक भत्ताको व्यवस्था गरेको छ । महिला क्रिकेट खेलाडीले तलब पनि समान पाउनुपर्ने माग गर्दै आएका छन् । 

भलिबल 


पुरुषको भन्दा निकै चर्चामा रहेको छ, महिला भलिबल टोली । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो पटक रजत पदक हात पारेको थियो । सेमिफाइनलमा श्रीलङ्कालाई पराजित गर्दै नेपाली टोली पहिलो पटक फाइनलमा पुगेको थियो । 

नेपालमा पुरुष भलिबल टोलीको भन्दा महिला टोलीको चर्चा निकै हुने गरेको छ । विभागीय टोलीको बर्चस्व रहेको भलिबलमा खेलाडीको कारण पनि निकै चर्चा हुने गरेको छ । नेपाली भलिबलमा पुरुषले भन्दा महिलाले उपाधि पनि निकै चुमेका कारण यो टोली निकै चर्चामा रहने गरेको छ । 

अन्य खेल
अन्य खेलमा पनि नेपाली महिला खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको छ । बक्सिङ, ट्रायथलन, उसुजस्ता खेलका खेलाडी पनि १३औँ सागपछि ‘लाइम लाइट’मा आए । बास्केटबलमा पनि नेपाली महिलाको प्रदर्शन उत्कृष्ट रहेको छ । सदिना श्रेष्ठको नेतृत्वमा रहेको टोलीले पनि पहिलो पटक १३औँ सागमा रजत पदक हात पारेको थियो । 

महिलालाई खेलकुदमा काँडा
नेपाली महिलालाई खेलकुदमा लाग्न निकै नै कष्ट भोग्नुपर्छ । खेलमा लाग्नै कठिन भएपनि सफलता पाउनु झनै गाह्रो छ । समाजले के भन्छ ? परिवारले के भन्छ ? भन्नेजस्ता कारणले पनि महिला खेलमा अघि बढ्न सकिरहेका छैनन् । ‘केटी मान्छे भएर खेलकुदमा लाग्ने ?’ यो प्रश्न अहिले पनि जीवितै छ । कतिपय चेलीले खेलकुदबाटै आम्दानी र सफलता पाइसक्दा पनि बाटो सहज र सुगम बन्न सकेको छैन ।

कतिपय राम्रा र सफल खेलाडीले पनि बीचमै खेल छोड्नुपरेको अवस्था छ । विवाहपछि त अधिकांश महिला खेलाडी पलायन भएका देखिन्छन् । खेल क्षेत्रबाटै जीवन निर्वाह सहज नभइदिनाले पनि महिलालाई यसमा लाग्न कठिन भएको हो । खेलकुदलाई जीविकोपार्जनको मुख्य माध्यम बनाउन नसक्दासम्म अहिलेको अवस्थामा तात्विक भिन्नता नआउने कतिपय खेल विश्लेषक बताउँछन् । 

त्यसो त जीविकोपार्जनको समस्या महिला खेलाडीलाई मात्रै होइन पुरुषलाई पनि उत्तिकै छ । खेललाई एउटा शोखको रुपमा मात्रै अघि बढाउने स्थितिले नेपालमा खेलकुदको विकास हुन सकेको छैन । 

नेपालमा खेलकुद अझै व्यावसायिक बन्न सकेको छैन । खेलकुदमा लगानी निकै कम छ । जसका कारण खेलाडीले खेलमा मात्रै लागेर जीवन जिउन मुस्किल हुन्छ । नेपालमा मात्रै सीमित रहेर खेलकुदमा लाग्नेलाई त जीवन झनै कष्टकर बनेको छ । 

पछिल्ला समय नेपाली फुटबल तथा क्रिकेट खेलाडीले अन्तर्राष्ट्रिय क्लबहरुमा मौका पाउन थालेका छन् । तिनले अन्तर्राष्ट्रिय रुपमै आफ्नो खेल कौशल देखाउन सफल पनि भएका छन् । त्यस्ता खेलाडी र केही विभागीय टोलीमा आवद्ध बाहेक अन्यलाई खेलेर जीवन जिउने दिन अझै आइसकेको छैन । 

  • प्रकाशित मिति : असार १३, २०७८ आइतबार १६:२४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया