काठमाडौं महानगरले भत्कायो हाम्रो टिम नेपालको कार्यालय, अध्यक्षसहित २५ जना पक्राउ

सामाजिक कार्यमा सक्रिय रहेको हाम्रो टिम नेपालको कार्यालय काठमाडौं महानगरपालिकाले भत्काएको छ । अनामनगरस्थित युनियन हाउस नजिकैको टहरामा रहेको कार्यालय काठमाडौं महानगरपालिकाले भत्काएको हो । 

उक्त ठाउँमा पार्क बनाउने भन्दै यसअघि नै हाम्रो टिम नेपाललाई खाली गर्न निर्देशन दिएको थियो । आज बिहान निःशुल्क भोजनको तयारी भइरहेका बेला बाक्लो संख्यामा आएका सुरक्षाकर्मी र नगर प्रहरीले भवन भत्काएका हुन् । 

भत्काउन खोज्दा अवरोध गरेको भन्दै प्रहरीले हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तसहित २५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । पक्राउ गर्ने क्रममा सपना रोक्का बेहोस भएकी थिइन् । बेहोस भएपछि उनको वीर अस्पतालमा उपचार भइरहेको छ । 

खानाको तयारी भइरहेका बेला एकाएक आएका सुरक्षाकर्मीले धरपकड गर्दै त्यहाँ राखिएका राहत सामग्री पनि फालिदिएको हाम्रो टिम नेपालका एलएस धामीले बताए । पक्राउ गर्ने क्रममा प्रहरीले आफूहरूमाथि कुटपिट समेत गरेको उनको भनाइ छ । 

हाम्रो टिम नेपालले गत वर्षदेखि नै कोरोना महामारीको कारण समस्यामा परेकालाई सहयोग गर्दै आएको छ । गत वर्षदेखि नै निःशुल्क रूपमा खाना खुवाउँदै समेत आएको छ । 

केही दिन अगाडि सिन्धुपाल्चोकमा आएको बाढीका कारण घरबारविहीन भएकालाई समेत हाम्रो टिम नेपालले निःशुल्क खाना खुवाएको थियो । काठमाडौं महानगरपालिका-२९ मा रहेको सामाजिक विकास भवनलाई हाम्रो टिम नेपालले कार्यालयको रूपमा प्रयोग गर्दै आएको थियो । 



सार्वजनिक जमिनमा रहेको भवनमा कार्यालय बनाएको हाम्रो टिम नेपाललाई यसअघि नै महानगरले हट्न चेतावनी दिँदै आएको थियो । महानगरले उक्त जग्गामा पार्क बनाउने भन्दै यसअघि नै खाली गर्न ताकेता गर्दै आएको थियो । अर्को व्यवस्था नभएसम्मका लागि त्यहीँ बस्न दिन आग्रह गर्दागर्दै सुरक्षाकर्मी र महानगरले गुन्डा शैलीमा आफूहरुलाई हटाएको धामीको भनाइ छ । 

यसअघि, गत वर्ष पुरानो बसपार्क क्षेत्रमा खाना खुवाउँदै गर्दा काठमाडौं महानगरले आफ्नो बेइज्जत भएको भन्दै खाना खुवाउन रोक लगाएको थियो । त्यसपछि हाम्रो टिमले थापाथलीस्थित प्रसूति गृहको पछाडिपट्टीको खाली जग्गामा खाना खुवाउँदै आएको छ । 



  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार १४:१८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया