त्यो जनकपुर, यो जनकपुर
डा. राजेन्द्र विमल
फरकधार / १४ असार, २०७८

मैले देखेको जनकपुर र म जन्मिएको जनकपुर एउटा सानो गाउँजस्तै थियो, जहाँ फुसैफुसका घरहरु थिए । घरहरु जति थिए, त्यसको तुलनामा खेतहरु बढी थिए । चारैतिर खेतैखेत ! 



मेरो परिवारले जनकपुरबाट सरेर अन्त जानुपर्ने अवस्था पनि आयो । किनभने दिउँसै आएर घरमा स्याल बस्थ्यो । किन यस्तो हुन्छ भनी पण्डितहरुसित सोध्दा, यो सारै अलच्छिन हो र कुनै न कुनै विनाशको सूचक हो भन्थे । 

त्यतिखेर सबै दृष्टिले अविकसित थियो जनकपुर । मैले देखेको जनकपुरमा कहीँ कतै स्कुल–कलेज थिएन । म २००३ सालमा जन्मिएँ, त्यसलगत्तै सम्भवतः २००४ मा सरस्वती हाइस्कुलको स्थापना भयो । म जन्मिएपछि मेरै निम्ति भगवान्ले सायद एउटा बन्दोबस्त गर्दिनुभयो । एउटा हाइस्कुल मात्रै थियो । पढेका मानिस पाउनै गाह्रो थियो । कसैले म्याट्रिक पास गर्यो भने त झ्याइँझ्याइँ पञ्चेबाजा बजाएर स्वागत गर्थे ।

एकपटक पिपरामा ठूलो मेला लाग्यो । मान्छेहरु खुबै ओइरिएका थिए । म सानै थिएँ, एकजनासित सोधेँ– किन मान्छेहरु ओइरिएका छन् ? जवाफ पाएँ– श्यामनन्दन मिश्रा नामका व्यक्ति इलाहाबादबाट एम.ए. पास गरेर गाउँ आएका छन् । चारैतिरका मान्छेहरु उनलाई हेर्न गएका थिए, एम.ए. पास मान्छे कस्तो हुँदो रहेछ भन्ने कौतुहलताका साथ । शिक्षाको त्यो अवस्था थियो । 



सामाजिक जीवनमा अन्धविश्वासको पराकाष्ठा थियो । चेचक हुँदा पनि त्यो माईको प्रकोप भयो भनेर झ्याली पिट्दै माईलाई रिझाउने कोसिस गरिन्थ्यो । त्यो रोग हो भन्ने कुरा कसैलाई थाहा थिएन । अन्धविश्वास व्याप्त थियो । बाह्रबिगाहा मैदानतिर मान्छेले राति हेर्दैैनथ्यो । किनभने त्यहाँ राँको लिएर प्रेत नाच्छन्, बोक्सीहरु नांगै नाच्छन् भन्ने विश्वास थियो । र, उनीहरुले ‘रे मुरहा घुरि ताक’ अर्थात् ‘ए मुढ फर्केर हेर’ भन्थे । अनि जो फर्केर हेर्थे उतातिर, त्यो मान्छे ठहरै हुन्थे रे ! यस्ता अन्धविश्वास थुप्रै थिए ।

जनकपुर सांस्कृतिकतामा ज्यादै समृद्ध थियो । थरिथरिका पर्वहरु त्यतिबेला मनाइन्थे, अहिले देखिँदैन । दहनही भन्ने पर्वमा राम र सीताको डोला निस्कन्थ्यो । लक्ष्मण मन्दिरबाट पनि डोला निस्कन्थ्यो । गाउँभरिका मान्छेहरु हात्तीमा चढेर घुम्थे । जुनजुन घरको अगाडिबाट हात्ती गुज्रन्थे, सबै घरबाट फूलको वर्षा गरिन्थ्यो । र, अरगजा पोखरीको डिलमा सीताजी रिसाउनु हुन्थ्यो, त्यस्तो नाटक अभिनय गरिन्थ्यो । त्यसपछि लक्ष्मणजी देबर बनेर भाउजुलाई मनाउन आउनु हुन्थ्यो । जानकी मन्दिरका हर्ताकर्ता मेरा पिताजी हुनुहुन्थ्यो र वहाँकै अधीनमा जानकी मन्दिरको बन्दोबस्ती थियो । 

पछि रात्रि पाठशालाहरु धेरै खुल्न थाले । बोरा ओछ्याएर हामीले पढनुपर्ने अवस्था थियो । स्वास्थ्यसेवाको नाममा कहीँ केही थिएन । २००७ सालपछि एकजना डाक्टर जयवल्लभ दास आए । उनी आएपछि सबैले भन्न थाले– अब रोग लागेर कोही मान्छे मर्दैैन । सबैजना धेरै जान्नेसुन्ने डाक्टर आएको भन्थे । उनले घरघर गएर उपचार पनि गरिदिन्थे । अस्पताल थिएन ।  

बिस्तारै जनकपुरमा पनि सहरीकरण बढ्दै गयो । तर जनकपुरले जुन उत्कर्ष पाउनुपर्ने थियो त्यो भने अझै पाउन सकेको छैन् । किनभने यो सामान्य भूमि होइन । यो असाधारण भूमि हो । जनकपुर त्यो भूमि हो, जहाँ ऋग्वेदको प्रथम मण्डलको रचना भयो, जहाँ अस्टाबक्रको रचना भयो, जहाँ चारवटा दर्शनको प्रतिपादन भयो । यहाँसम्म कि, बौद्ध दर्शनको पनि गहिरो प्रभाव थियो । महात्मा बुद्धलाई यहाँ प्रवेश गर्न निषेध गरिए पनि बौद्ध धर्मको प्रभाव परेको थियो । जनकपुर विभिन्न सम्प्रदायका मान्छेहरुको विकास भएको ठाउँ हो । 

जनकपुरले पाउनुपर्ने चर्चा नपाउनु अत्यन्त लज्जास्पद कुरा हो । संसारका महानतम् सभ्यताहरुमध्ये एउटा सभ्यताको विकास जुन ठाउँमा भयो त्यस ठाउँलाई हामीले संसारमा परिचितसम्म गराउन सकेका छैनौं । हामीले हाम्रा सांस्कृतिक र धार्मिक महत्वका स्थलहरुको पहिचान गर्न सकेनौं । जीवनका जति आयाम हुन्छन् तीमध्ये सांस्कृतिक आयामबाहेक लगभग सबैमा अत्यन्त पिछडिएको ठाउँ थियो यो । 

अहिले आएर जनकपुर भौतिक दृष्टिले पहिलेको तुलनामा धेरै विकसित भएको छ । कतिपय समाज बाहिरबाट हेर्दा अत्यन्त लोभलाग्दो देखिन्छ, तर भित्रबाट यसका केस्राकेस्रा केलाउँदा सबै कुहिएको देखिन्छ । जनकपुर पनि त्यस्तै लाग्छ मलाई । सबैभन्दा पहिला त जातीय विभाजन । यसले ठूलै नोक्सान पुर्याएको छ, जनकपुरलाई । यसो हुनु ‘फरवार्ड’ हो कि ‘ब्याकवार्ड’ हो ? फरवार्डमा पनि कुन हो ? बाहुन हो कि, कायस्थ हो कि, राजपुत हो कि, भूमिहार हो कि, के हो ? ब्राह्मण छ भने उसको मूल के हो ? गोत्र के हो ? भन्नुको तात्पर्य केस्राभित्र पनि केस्राकेस्राको आधारमा विभक्त देखिन्छ ।

राजनीतिक आधारमा विभक्त छ । हामीले अधिकारको निम्ति लडाइँ गर्ने हो न कि, घरमा उज्यालोका लागि घर नै जलाउने ! घरमा दाजुभाइको झगडामा घरै भत्काउन मिल्दैन नि । यहाँ अहिले दुर्भाग्यपूर्ण अवस्था छ । मुख्य कुरो त साम्प्रदायिक भावना छ । संसारमा कहीँ नभएको राजनीतिक संस्कारको विकास नेपालमा भएको छ । एउटा नश्लको या एउटा सम्प्रदायको व्यक्तिलाई गाली गरेर अर्को मन्त्री बन्छ, मुख्यमन्त्री बन्छ ! यो कति स्वस्थ दृष्टिकोण हो, त्यो हामी स्वयम् नै कल्पना गर्न सक्छौं । एकदमै रुग्ण राजनीतिक–संस्कृतिको विकास यहाँ भयो । 

सांस्कृतिक दृष्टिकोणले पनि ज्यादै स्खलन भएको छ, पहिलेको जुन वातावरण र माहोल थियो त्यो अहिले देखिँदैन । धेरै कुरा मान्छेले बिर्सिंदै गएका छन् । चाडपर्व, व्रतलगायत मान्छेले अब गर्न छोडेका छन् । मिथिला चित्रकला पनि मान्छेहरु कागजमा बनाएर टाँस्न थालेका छन् । अहिले धेरै किसिमका अरिपनहरु मान्छेलाई आउँदैन । यसरी सांस्कृतिक दृष्टिकोणले पनि कमजोर हुँदै गएको देख्छु । 

भौतिक विकासको दृष्टिकोणले पनि जनकपुरले जुन पूर्वाधार तयार गर्नुपर्ने देखिन्छ, त्यो हुन सकेको छैन । अहिले पनि फोहरैफोहरको डंगुर देखिन्छ चारैतिर । यो अत्यन्त लज्जास्पद कुरो हो । केही ‘प्लस’ र केही ‘माइनस’का कुराहरु पनि छन् । गंगा आरती नयाँ सुरु भयो । यो एउटा सुखद पक्ष हो । समग्रतामा जनकपुरको जुन गरिमा छ त्यसलाई पुनर्थापित गर्न जनकपुरवासीले धेरै मेहनत गर्नुपर्छ । हामी आफूलाई जनकका सन्तान भन्छौं,  याज्ञवल्क्यका सन्तान र अष्टावक्रका सन्तान हौं भन्छौं, तर त्यो व्यवहारमा कहीँ देखिँदैन । कहिलेकाहीँ त गुण्डागर्दी चरममा पुग्छ । बदमासीमात्रै देखिन्छ । कुटाकुट र पिटापिट मात्रै देखिन्छ । हामीले हाम्रो चरित्र पनि सुधार्नु आवश्यक छ । अनि मात्रै बाहिरका मान्छे यहाँ आउँछन् । 

वृन्दावनमा तपाईं जानुस्, सबैले भन्छन्– ‘राधे राधे’ । हामीले खोइ ‘सीते सीते’ भनेको ? यस्तो गर्व सायद हामीलाई छैन । त्यो गरिमाका लागि हामीले पनि प्रयत्न गर्नुपर्छ । हामीले एकबद्ध भएर कसरी बनाउने, जनकपुर नेपालमै रहेको कुरा कसले बुझ्ने ? यस ठाउँलाई राष्ट्रिय दृष्टिमा जहिले पनि राख्नुपर्छ नि, तर खोई त ? जनकपुरमा हामीले धेरै कुरा घनात्मक देख्दछौं भने धेरै धनात्मक र ऋणात्मक पनि छन् । अझै धेरै ठूलो यात्रा बाँकी छ । हामीले सोचेको र सपना देखेको जनकपुरसम्म पुर्याउनलाई, अहिले धेरै श्रमको आवश्यकता छ ।
 
अब भाषाको कुरा गरौं । हामी मैथली बोल्छौं र मुसलमानहरुले बोलेको भाषालाई पनि हामी मैथली भन्थ्यौं । तथाकथित ब्राह्मण, कायस्थ, राजपूत र भूमिहार भन्दा फरक जातका व्यक्तिहरुले ठेठी बोल्दा पनि उनीहरुको ठेठीलाई हामी मैथली नै बुझ्थ्यौं । अर्थात् भाषिक द्वन्द्व पहिला केही पनि थिएन । अहिले आएर भाषिक द्वन्द्व सिर्जना गरिएको छ । हामी मैथली बोल्दैनौं अंगिका बोल्छौं भन्छन् । कसैले बज्जिका बोल्छौं भन्छन्, तर बोलेको हो त्यही मैथली । भाषिक दृष्टिकोणले वैमनस्यको अवस्था आउँदैछ । त्यो एकदमै चिन्ताजनक छ । मैथलीले टाउकोको बलमा हिँड्नुपरेको छ । 

मातृभाषाको माध्यममा पढाइ हुँदो हो त भाषिक समस्या हुँदैनथ्यो । यसको मानकताबारे थुप्रै प्रश्नहरु छन् । भाषिक दृष्टिले पनि अनेक समस्या छन् । यसैमा केन्द्रित सञ्चार माध्यमहरुको अभाव छ । जे छ त्यो त्यति लोकप्रिय बनाउन सकिएको छैन । विभिन्न विषयका पुस्तकहरुको अभाव छ । भेषको कुरा गर्नुपर्दा, आफ्नो जुन पारम्परिक भेष छ त्यसमा धेरै परिवर्तन आएका छन् । देशले आफ्नो निजी भेषभुषालाई स्थापित गर्न सकेको छैन । धोती लगाएर काठमाडौंमा अहिले पनि मान्छेलाई सडकमा हिँड्न लाज लाग्छ । त्यो किन होला ? छिमेकी भारतको दिल्लीमा धेरै प्रतिष्ठित मानिसहरुले धोती लगाएको पाइन्छ, संस्कृति त उही हो । खोलको सिमाना हुँदैन । इन्द्रधनुषको सिमाना हुँदैन । भाषा र संस्कृतिको सिमाना हुँदैन । कतिपय भेषभुषा त हराएका छन् । अनेक किसिमका गहनाहरु हराए । हामीकहाँ एकसय भन्दा बढी किसिमका गहना हुन्थे, तर ती अहिले छैनन् । कण्ठा, ढोलना, अगेली, पछेली, बाजुबन्द, हँसुली, हैकल, बाली सबै हराइसके । 

हामीमा सजगता हुँदो हो त त्यसलाई विश्वसामु चिनाउन प्रयोग गर्न सकिन्थ्यो । यहाँको मान्छेमा सजगता देखिएन र आफ्नो भेषभुषा, भाषाले अरुलाई प्रभावित गर्नुको साटो हामी अर्काको प्रभावमा परिसक्यौं । अहिले वैश्वीकरणको जुन लहर आएको छ, त्यसमा त झन् जे बाँकी छन् त्यो पनि रहन्छ कि रहँदैन भन्ने चिन्ताको विषय बनेको छ । 

चालचलनमा पनि संसारभरि व्यापक परिवर्तन आएको छ । कुनै पनि जातिको जीवनमा अन्तर्निहित उच्चतम मूल्यहरुको व्यवहारमा रुपान्तरण नै चालचलन हो । तर ती अहिले हराएका छन् । मेरा पिताजीले मलाई ‘ए बाबु’ भनेर बोलाउँदा वहाँलाई ‘हजुर’ भनेर जवाफ फर्काइन्थ्यो । उनको अगाडि टक्क उभिइन्थ्यो । तर आजका युवाहरु त आफ्नो पितासँग खैनी–चुरोटजस्ता कुरा पनि मागेर खान थालेका छन् । यसले पारिवारिक ढाँचालाई परिवर्तन गरेको छ । 

पहिले जसरी घुम्टो हालेर बुहारीहरु आउँथे, त्यसरी अब घुम्टो हाल्ने चलन छैन । पाहुना आउँदा पहिले जसरी थाल सजाइन्थ्यो, त्यो चलन अब छैन । थरिथरिका पकवानहरु पनि हराए । अब कसलाई तपाईंले बगिया खुवाउनुहुन्छ र उ दंग पर्छ ? तिलकोरका पात कहाँबाट ल्याउनु हुन्छ ? कर्कलाको पातको अरिकञ्चन बनाउने चलन हरायो ।
 
चालचलनसँगै हाम्रा सम्बन्धमा पनि परिवर्तन आएका छन् । पहिलेको जस्तो यो समाज नै रहेन अब । पहिले त सडकमा पढाइ छोडेर कुनै बच्चालाई यदि गुच्चा खेलिरहेको कसैले पनि देख्दा उसको कान सहजै निमोठ्न सक्ने अधिकार राख्थे । मैले नै धेरै चट्ड्कन खाएको छु खेलेर बसेको बखत । बच्चालाई कसरी सुधार्ने भनेर अभिभावक वा नातागोताका मानिसलाई अधिकार थियो भने उसको कर्तव्य पनि थियो । सम्पूर्ण समाज एउटा परिवारजस्तो थियो त्यो बेला । अब त आफ्नै छिमेकलाई पनि चिन्दैनन् । काका, मामा, हजुरबाको जुन सम्बन्ध थियो समाजमा, अहिले त्यसको धागो चँुडिएको छ । अब को जान्छ लोटा लिएर मैदान ? को जान्छ दतिमन लिएर दाँत माझ्न ? को जान्छ बिहानबिहान कुवाको पानीले नुहाउन ? सबै चालचलनहरु बिर्से सबैले । 

त्यतिखेर गुरुहरु सर्वेसर्वा हुन्थे । ब्रह्माभन्दा पनि शक्तिशाली । मान्छेले आफ्ना सन्तानलाई गुरुका हातमा सुम्पिदिन्थे । गुरुले धेरै परिश्रम गर्न लगाउँथे । टुप्पी बाँधेर पनि पढाउँथे कहिलेकाहीँ । अहिले मभित्र जुन सामथ्र्य छ, त्यो सबै मैले बाल्यकालमै प्राप्त गरेको हो । मैले हिन्दी, नेपाली, अंग्रेजी, मैथलीको ज्ञान बाल्यकालमै प्राप्त गरेको शिक्षादिक्षाबाट मजबुत बनाएको छु । अब त विद्यार्थी नै शिक्षकलाई अभिभावकसहित कुट्नलाई विद्यालयसम्म पुगिहाल्छन् ! त्यसबेलाको अनुशासन अहिले पनि आवश्यक छ । अनुशासनहीनता हानिकारक छ । 

पहिलाका विद्यार्थी ज्यादै अनुशासित हुन्थे । तर अहिले केही ‘प्लस प्वाइन्ट’ पनि छन् । अहिले शिक्षामा नयाँनयाँ डाइमेन्सन्सहरु आएका छन् । नयाँनयाँ विषय थपिएका छन् । कम्प्युटरको ज्ञान मलाई यति छैन, त्यो ज्ञान मेरो नातिले पाएको छ । नयाँनयाँ टेक्नोलोजीहरु आएका छन् । तर मान्छेले अहिले आफ्नो चरित्र गुमाएका छन् । यो धेरै दुःखद कुरा हो । त्यसबेलामा मान्छे अलराउन्डर हुन्थे । सबैले सबै बिषय पढ्नुपथ्र्यो । सार्वजनिक पुस्तकालयमा दुई÷तीन वर्ष लगाएर दैनिक तीनवटासम्म किताब पढथेँ म । मैले तीन वर्षमै २६ हजारजति किताब अध्ययन गरेको थिएँ । 

राजनीतिमा भने अहिले खुबै चेतना फैलिएको देख्छु । अहिलेका युवाहरु सजग र सक्रिय छन्, त्यो एकदम हर्षलाग्दो कुरा हो । तर चेतनाको दिशा अलिकति चिन्ताजनक छ । मान्छेमा आफ्नो अधिकारका लागि राजनीतिक चेतना जुन आयो, त्यो राम्रो छ । तर शिष्टता भने हराएकै छ । संसदीय भाषा हराएको छ । दुई दाजुभाइको झगडामा आमालाई छुरा हान्ने अवस्था आउन लागेको त होइन ? हामी कहिलेकाँही देशै नष्ट गर्ने कुरा गरिरहेका हुन्छौं । चेतना नकारात्मक दिशामा जाँदैछ, त्यो चिन्ताजनक छ । भावनात्मक एकताको धागो अत्यन्तै मसिनो छ । अलिकति गल्तीले पनि त्यो चुँडिन सक्छ । त्यो चुँडियो भने हाम्रो देशको अस्तित्वमाथि नकारात्मक असर पर्न जान्छ । यसको फाइदा अरुले उठाउन सक्छ । त्यसैले राजनीतिक चेतनाको विकास भए पनि मानवीय मूल्यको रक्षा हुनु आवश्यक छ । 

(दीपक कर्णसँगको कुराकानीमा आधारित)

  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार १८:४५:५९,   अन्तिम अपडेट : असार १४, २०७८ साेमबार २०:४५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया