राष्ट्रिय धान दिवस : सुदूरपश्चिममा ५० प्रतिशत रोपाइँ सकियो
फाइल फाेटाे

आज असार पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस । आज देशैभरि राष्ट्रिय धान दिवस मनाइरहँदा सुदूरपश्चिम प्रदेशमा भने ५० प्रतिशत रोपाइँ सकिएको छ ।

प्रदेश कृषि निर्देशनालय दिपायलका कृषि निर्देशक वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले मंगलबारसम्म ५० प्रतिशत रोपाइँ सकिएको जानकारी दिए ।

यस वर्ष समयमै मनसुन सक्रिय भएको हुँदा प्रदेशका ९ वटै जिल्लामा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको हो । ‘सुदूरपश्चिममा एक लाख ८५ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिँदै आएको छ’ वरिष्ठ कृषि विकास अधिकृत जोशीले भने, ‘मंगलबारसम्म आइपुग्दा करिब ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।’

जोशीले यस वर्ष समयमै मनसुन भएका कारण अघिल्ला वर्षको तुलनामा धेरै रोपाइँ सकिएको बताए । ‘गत वर्ष अहिले ३०-३२ प्रतिशत मात्र रोपाइँ भएको थियो । 

प्रदेश कृषि निर्देशनालयका अनुसार सबैभन्दा धेरै धान खेती हुने कैलालीमा मंगलबारसम्म ५५ प्रतिशत रोपाइँ सकिएको छ । कैलालीमा झण्डै ७२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । कैलालीपछि बढी क्षेत्रफल रहेको कञ्चनपुरमा ३७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । दार्चुलामा ६२ प्रतिशत, डडेल्धुरामा ६०,बाजुरामा ५५, अछाममा ४५ बैतडीमा ४५, बझाङमा ४५ र डोटीमा ४५ प्रतिशत धान रोपाइँ सम्पन्न कृषि निर्देशनालयले जनाएको छ । 

प्रदेशमा धान रोपाइँ हुने कुल क्षेत्रमध्ये करिब ५३ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको कृषि निर्देशनालयले जनाएको छ । बाँकी ४७ प्रतिशत क्षेत्रफलमा आकाशे पानीको भरमा रोपाइँ गरिने गरेको छ ।





  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार ९:३४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया