अमेरिकामा लू, तापक्रम ४४ डिग्री नाघ्यो
सांकेतिक तस्बिर

अमेरिकाका कतिपय भागमा लू चलेको छ । प्रशान्त उत्तरपश्चिम क्षेत्रमा दिउँसोको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ । यसलाई त्यहाँको राष्ट्रिय मौसम विभागले तीव्र, लामो, रेकर्ड तोड्ने, अभूतपूर्व, असामान्य र खतरनाक अवस्था बताएको छ ।

अधिकतम तापक्रम रेकर्ड गरिएका स्थानहरूमा यसअघिका आँकडा यति उच्च थिएन । ओलम्पिक क्वालिफाइङ प्रतियोगितामा समेत तापक्रमका कारण बाधा पुगेको छ ।

पोर्टल्यान्ड, ओरेगावँमा आइतबार ११२ डिग्री फरेनहाइट (४४.४ सेल्सियस) तापमान रेकर्ड भएको थियो । तापमानमा उच्चता देखिएपछि उक्त दिन ओलम्पिक क्वालिफाइङमा उपस्थित दर्शकलाई रंगशालाबाट बाहिरिन अनुरोध गरिएको थियो । खाली रंगशालामा प्रतियोगिता चलाइएको थियो ।

युगिनमा ४३.३ डिग्री

राष्ट्रिय मौसम विभागले आइतबार युगिनमा ४३.३ डिग्री सेल्सियस तापक्रम पुगेको बताएको छ । अघिल्लो दिन त्यहाँको तापक्रम ४२.२ डिग्री रहेको थियो । ओरेगावँको राजधानी सहर सालेममा आइतबार इतिहासकै सबैभन्दा अधिक गर्मी (४४.४ डिग्री) भएको थियो । यो तापमान यसअघिको भन्दा ४ डिग्री बढी रहेको विभागले बताएको छ । अर्को सहर सियाटलमा ४० डिग्रीसम्म पुगेको थियो ।

विभागले इतिहासमै सबैभन्दा बढी गर्मी रहेको यो समय नागरिकलाई सुरक्षित रहन अनुरोध गरेको छ । यस पटकको गर्मी १८९४ पछि पहिलो पटक यो बिन्दुमा पुगेको हो । मंगलबारदेखि तापमान ओर्लन सुरु हुने पनि विभागले बताएको छ । 



अधिक गर्मीका कारण केही स्थानमा बिजुली गएको थियो । त्यसपछि अवस्था झनै भयावह भएको थियो । 

क्यानडामा पनि उस्तै हालत



लूको कहरले यतिखेर अमेरिकालाई मात्र होइन क्यानडालाई पनि पिरोलेको छ । यो ब्रिटिस कोलम्बियादेखि फैलिएर क्यानडेली प्रान्तहरूसम्म पुगेको छ । आइतबार दिउँसो क्यानडाको लाइटन गाउँको तापक्रम ४६.१ डिग्री रेकर्ड गरिएको थियो । यो आँकडा क्यानडाको इतिहासमा सबैभन्दा अधिक हो । पश्चिम क्यानडाका अधिकांश हिस्सामा गर्मी बढ्ने चेतावनी दिइएको छ ।

सरकारले प्रभावित क्षेत्रका वासिन्दालाई पानी पिइरहन र आफ्ना वरिपरिका मानिसको ख्याल राख्न अनुरोधसमेत गरेको छ । साथै, स्विमिङ पुल, कुलिङ सेन्टर तथा शीतल हुने स्थानमा जान पनि सरकारले नागरिकलाई सल्लाह दिएको छ ।
 

  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार १२:०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया