खेती, किसानी अर्थात् कथित ‘नर्ककुण्ड’
फरकधार / १५ असार, २०७८

असार १५ गते धेरै नेपालीले कृषि पेसालाई सम्झन्छन् । ३६४ दिन कृषिसँग कुनै साइनो नगाँसिएका जनहरुले पनि असार १५, धान दिवस, दहीचिउरा खाने दिन जस्ता अवसरका रुपमा यसलाई सम्झिइरहेका हुन्छन् । 



रहर, कहर, देखासिकी जे–जसरी भएपनि एक दिन चाँही कृषि पेसालाई सम्झन्छन् धेरैले । समाजिक सञ्जालको प्रचलन आएदेखि त असार १५ मा फोटो पोस्ट गर्नकै लागि भएपनि एकदिन हिलो खेतमा डुबेर फोटो खिच्ने गरेको देखिन्छ । फोटो खिच्नकै लागि दहीचिउरा खाने प्रचलन पनि बढ्दै गएको देखिन्छ ।

वर्षभरमा एक दिन धेरैले सम्झने अनि तीमध्ये अधिकांशले बाँकी ३६४ दिन वास्ता नगर्ने कृषि पेसालाई नेपालमा सबैभन्दा अपहेलित, तुच्छ पेसाका रुपमा चित्रित गरिन्छ ।

केही दिनअघि सामाजिक अभियन्ता भनिने एक टोलीको ट्राफिक प्रहरीका असईसँग झगडा प¥यो । विवादकै क्रममा भीडबाट कसैले भन्यो, ‘तराई घर रहेछ, उतै जाउ खेतीपाती गर, प्रहरीको जागिरका लागि तिमी योग्य छैनौ ।’ ती व्यक्तिको भनाइको आशय यो हो कि उनी दुनियाँका सबैभन्दा अयोग्य मान्छे हुन् ।



ती अयोग्यलाई थन्क्याउने पेशा खेती, किसानी हो । जहाँ उनले यसअघि गरेका गलत कर्मवापत कठोर सजाय पाउनेछन् । उनीहरुको ध्येय यो हो कि आफूलाई सताउने ती प्रहरीलाई खेती, किसानी गर्न जाऊ भनेर उनको अपमान गर्न सकियोस् । 

माओवादीबाट एमालेमा लागेका नेताहरुले कृषिका विषयमा यसै साता मात्रै गरेको छलफल चर्चामा छ अहिले । केही मिडियाले उनीहरुको संवाद भन्दै प्रकाशन गरेअनुसार उनीहरुले आफूलाई राजनीतिदेखि वाक्क लागेका कुरा एक–अर्कालाई बताएका थिए । सबै छाडेर कृषि कर्ममा लाग्ने कि ? भनेर छलफल गरेका थिए । 

ती नेताप्रति रुष्ट व्यक्तिहरुले सामाजिक सञ्जालमा उनीहरुलाई अपमानित गर्ने उचित मौकामा रुपमा लिए यसलाई । ‘तिमीहरुको हैसियत नै त्यही हो । ठीक योजना बनायौ । हैन तिमीहरुलाई त पशुपालन सुहाउँछ, अझ सुँगुर पालनतिर लाग’, सामाजिक सञ्जालमा यस्तै धेरै प्रतिक्रिया थिए । 

ती महानुभावको नजरमा ती नेताहरुले अक्षम्य अपराध गरेका छन् । दुष्कर्म गरेका छन् । अनि तिनलाई नरकमै पठाउनुपर्छ, मतलब कृषि, पशुपालन पेशा त्यो कथित नरक हो । त्यहाँ गएर यसअघिका पापको फलस्वरुप उनीहरु दुःखैदुःखको सागरमा डुब्नेछन् । 

करिब १० वर्ष अगाडि एक कलाकार मित्रले तत्कालीन राष्ट्रपति रामवरण यादवलाई व्यंग्य गर्ने क्रममा पहिले भैंसी चराएको कुरा जोडे । राष्ट्रिय नाचघर जमलमा उनले भैंसीको आवाज निकाल्दै रामवरण यादवलाई व्यंग्य गर्दा हलमा हाँसो गुन्जिएको थियो । 

कार्यक्रम सकिएपछि आफ्नो प्रस्तुतिबारे प्रतिक्रिया माग्दा मैले राष्ट्रपतिलाई भैँसीसँग जोडेर व्यंग्य गर्नु ठीक भएन भने । यसले त भैंसी गोठालो लाग्नु खत्तम काम हो भन्ने अर्थ लाग्दैन र ? भैसी पाल्ने तपाई हाम्रै बुबा, आमालाई मजाक उडाएको जस्तो भएन र ? 

त्यसपछि उनी झसंग भएका थिए । आफूले त्यहाँसम्म नसोचेको र आगामी दिनमा त्यसो नगर्ने प्रतिवद्धता जनाएका थिए । पछि गरेकी गरेनन् कुन्नि, सुनिएन । 

हाम्रो समाज यसरी प्रशिक्षित छ, पढाइ लेखाइ र खेती किसानी एक–अर्काका विपरीत बाटा हुन् । यी कर्मको कहिल्यै भेट हुँदैन र हुनु पनि हुँदैन । अर्थात् खेती, किसानी गर्नेले लेखपढ गर्दैन । लेखपढ गर्ने खेती किसानीमा लाग्दैन र लाग्नु पनि हुँदैन ।

अक्षर चिन्न सुरु गरेदेखि नै हाम्रा अविभावक, अग्रजहरुले हाम्रो मगजमा आफूखुसी यही दृष्टान्तको पम्पले हावा भरिरहे, अहिले पनि भरिरहन्छन् । जान्ने सुन्ने भइखाएका हामी आफैँ पनि अभिभावकत्व निभाउँदा त्यही रुपले प्रस्तुत भइरहेका छौँ । 

हामीले प्रायः सुन्ने, सुनाउने गरेका कथनहरु कोट्याएर हेरौँ :-
‘पढ्ने बेलामा बाख्राको पुच्छर समातेर गोठालो हिँड्यो, कसरी राम्रो काम पाउँछस् ?’ वा तँलाई ती कुराहरुको ज्ञान कसरी होस् ?’ 

औपचारिक शिक्षा नलिएका वा बीचैमा पढाइ छाडेकाहरुले आफन्त, अग्रज, सहकर्मी, उपल्लो दर्जाका हाकिम वा कोही न कोहीबाट पाइला–पाइलामा यस्ता भनाइका प्रहार सामाना गरिरहेका हुन्छन् ।

भनाइको सन्दर्भअनुसार उसलाई होच्याउन, उसको अक्षमताबारे टिप्पणी गर्न वा जिस्क्याउन यसो भनिएका हुन्छन् । तर, आशय प्रष्टै छ, कृषि कर्मलाई तुच्छ देखाउनु । त्यो व्यक्तिले कुनै समयमा बाख्रा गोठालो गएर गर्न नहुने काम गर्यो, त्यही तुच्छ कर्मको फल अहिले भोगिरहेको छ ।

छोरा छोरीले पढ्न अल्छी गरे, स्कुल जान मानेनन् भने उनीहरुलाई तर्साउनका लागि देखाउन पेशा खेती, किसानी नै हो । पढिनस् भने हली बन्छस्, गोठालो बन्छस्, खनजोत गर्नुपर्छ, गोबर सोहोर्नुपर्छ । राम्रोसँग पढिस् भने राम्रो काम पाउँछस्, त्यस्तो फोहोरी काम गर्नुपर्दैन । 

जीवनबारे सोच्ने बेला नहुँदै, समाजबारे अलिकति जानकारी लिन नपाउँदै अभिभावक, अग्रज, शिक्षकहरु बाल मानसपटलमा हर क्षण यही दृष्टान्त कोचिरहेका हुन्छन् । यसको हेतु– राम्रो काम गर, राम्रो बाटोमा लाग, खराब गरिस् भने सजाय भोग्लास् भनिएको नै हो । मतलब खेती, किसानी खराब मार्ग हो, त्यता लागिस् भने दुःख पाउलास् , भविष्यमा सजाय भोग्लास् भनेको नै त हो नि यो । 

पाप गरिस् भने मरेपछि नर्क पुग्छस्, त्यहाँ दुःख, कष्ट शिवाय केही हुँदैन भन्दै नर्कको त्रास देखाएर सचेत जसरी गराइन्छ, त्यही तरिकाले हामी केटाकेटीलाई खेती, किसानी देखाएर तर्साइरहेका हुन्छौँ । त्यो मार्गमा नलाग्न, नसोच्न सचेत गराइरहेका हुन्छौँ । 

अधिकांश नेपालीहरु कृषि पृष्ठभूमिकै परिवारबाट हुर्किएर आएका छौँ । सानै उमेरदेखि कृषि कर्ममा सघाउँदै, त्यसमै अन्तरघुलन हुँदै हुर्किएकाहरु छौँ । हाम्रो परिवारका कोही न केही अहिले पनि खेती, किसानी गरिरहेकै छन् । तर, कृषिमा लाग्नु असक्षमता हो, असफलता हो, प्रतिष्ठाबाट वञ्चित हुनु अनि दुःखैदुःखको सागरमा डुब्नु हो भन्ने धारणाबाट ग्रसित समाजका उपज हौँ हामी । यही दृष्टान्त अर्काे पुस्तालाई सिकाइरहेका छौँ । 

हाम्रा हरेक गाँसमा कृषकहरुको पसिना मिसिएको हुन्छ । हाम्रो भान्सामा पाक्ने हरेक स्वादहरुमा माटो, गोबरको त्राण मिसिएको हुन्छ । हामी कृषककै पाखुराको बलबाट उब्जिएका व्यञ्जनहरूको स्वाद लिँदै कृषकको जीवनलाई खिसिट्यूरी गरिरहेका हुन्छौँ । मूल पेशा कृषि भएको देशमा खेती किसानीप्रति वितृष्णा जगाउँदै नयाँ नयाँ पुस्ता जन्माइरहन उद्यत छौँ हामी । 

नेपाली अल्छि भए, काम गर्दैनन्, सबैलाई सहर चाहिएको छ, सुख चाहिएको छ भन्ने टिप्पणी गरेको सुनिन्छ । यी भनाइ गहिरो विश्लेषणभन्दा पनि सस्ता टिप्पणीहरु हुन् । सुख र सहज जिन्दगी बाँच्न को चाहँदैन ? जे काम गर्दा सजिलै जीवनयापन हुन्छ, त्यही गर्ने त हो । सजिलो र धेरै आयआर्जन जता हुन्छ, त्यता स्वतः मान्छे आकर्षित भइहाल्छ । 

कृषि क्षेत्रमा काम गर्न विदेश जानका लागि तँछाडमछाड गरिरहेका युवा जमात हामीले देखेकै छौँ । कारण, त्यहाँ केही वर्ष कृषि कर्ममै नोकरी गर्दा पनि राम्रो आयआर्जन गर्न सकिन्छ । नेपालमै कृषि कर्ममा लाग्दा राम्रो आम्दानी हुने सुनिश्चिता भए गर्न पछि पर्दैनन् भन्ने यसले प्रष्टै देखाउँछ । 

कृषिमा राम्रो सम्भावना बनाउनका लागि यसको आधुनिकीकरणका कुरा खुबै उठ्छन्, उठिरहेकै छन् । तर, यसमा साँच्चिकै गहन तरिकाले लाग्ने, अध्ययन अनुसन्धान गर्ने काम भने भएको देखिँदैन । राज्यले छुट्याएका बजेट कसरी पशुपालन गर्ने, कसरी खेती गर्ने भन्ने परामर्श तथा तालिममा बढी खर्च हुन्छन् । 

हाम्रा लागि कृषि क्षेत्र, अनि किसान गहन चासोको विषय हुँदै होइनन् । किनकि, हामी खेती किसानीमा लाग्नु असफलता र अक्षमताको उपज होे भन्ने समाजको उपज हौँ । गलत काम र अपराध गरेपछि पाउने सजाय वापतको पेशा कृषि हो भन्ने मानसिकताबाट ग्रसित छौँ ।

धर्मशास्त्रले भन्दै आएको पापपछिको गन्तव्य ‘नर्ककुण्ड’, जहाँ दिसा पिसाब, फोहोरसहितको पोखरीमा डुब्नुपर्छ, हो त्यही उपमा पाइरहेको छ खेती किसानीले । अनि यही समाजबाट जन्मिएको राज्य, सरकार अनि यसका संरचनाहरुले कृषि क्षेत्रमा के चासो दिन्थे ?

एक पटक सोचौँ त, हामीले कसैलाई अपमान गर्नका लागि उसलाई कृषि पेशासँग जोडेर कसको अपमान गरिरहेका छौँ ? हामीले कृषि पेसाभित्र हाम्रै आमा, बुबा, दाजु दिदीका अनुहार देख्दैनौँ ? हाम्रा अग्रज र प्रियजनहरु देख्दैनौँ ? तिनीहरु यो धर्तीका अयोग्य मान्छेहरु हुन् ? खेती किसानीलाई जोडेर अरुको मजाक उडाउँदा त्यो मजाकका पात्रको प्रतिनिधित्व गर्ने को–को हुन् भनेर सोच्नु पर्दैन ? 

खेती, किसानीको त्रास देखाएर त्यसलाई तुच्छ सावित गर्दै हाम्रा सन्तानलाई महान बनाउने सपना देखिरहेका छौँ हामी । यो श्रममा, हाम्रो सभ्यता र विगतप्रति गरिएको अपमान होइन र ? एक दिने कृषि मोह अनि एक दिने प्रचारबाजीको पछाडि दौडिरहेका हामीले यसबारे सोच्ने कि ?

  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार १५:३४:१०,   अन्तिम अपडेट : असार १५, २०७८ मंगलबार १५:३५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया