वहसमा बारम्बार विदेशको प्रसंग आएपछि न्यायाधीश खतिवडाको भने, ‘अलि टाढा गइयो’

संसद विघटनसँग सम्बन्धित रिटहरुमाथि संवैधानिक इजलासमा जारी वहसमा सरकार पक्षबाट वहसमा रहेका नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयलाई न्यायाधीशहरूले प्रश्नै प्रश्न गरेका छन् । 

धारा ७६ को उपधारा ५ र राष्ट्रपतिको अधिकारको विषयमा केन्द्रित वहसका क्रममा इजलासमा रहेका न्यायाधीशहरूले पाण्डेयलाई प्रश्न गरेका हुन् । राष्ट्रपतिको अधिकार र संसद विघटन सदर गर्नुपर्ने विषयमा वहसका क्रममा पाण्डेयले विदेशी प्रसंग धेरै उल्लेख गरेपछि प्रश्नको सामना गर्नुपरेको हो । 

नायब महान्यायाधिवक्ता पाण्डेयले आफ्नो वहसको क्रममा भारत र बेलायतको प्रधानमन्त्री नियुक्ति र संसद विघटनको प्रसंग सुनाउँदै आफ्नो तर्क राखेका थिए । 

वहसका क्रममा पाण्डेयले भने ः भारतमा र बेलायतमा एउटा पनि विघटन अदालतले बदर गरेको छैन । प्रजातान्त्रिक मुलुकमा अदालतले विघटन बदर गर्दैन । कहिलेकाहीँ आफ्ना विरोधीलाई तह लगाउन पनि प्रधानमन्त्रीले संसद विघटन गर्ने गर्दछन् । यस्तो भएको छ । मंगोलिया, सिंगापुर लगायत विभिन्न आधा दर्जन देशमा यो कोभिडमा चुनाव भएको रहेछ । (यसपछि पाण्डेयले कोभिड कालमा कसरी चुनाव गर्ने भन्ने विषयमा उदाहरण र विकल्पहरु दिए ।) 

धारा ७६ को उपधारा ८ ले ३५ दिन भित्रमा प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया सम्पन्न गर्नुपर्छ भन्छ । संसद पुनःस्थापना भयो भने के होला ? पुनःस्थापना भएपछिको विगतको राजनीतिक अवस्था राम्रो छैन । संसद पुनःस्थापना समस्याको समाधन होइन, अझ झन् ठूलो समस्या हुनसक्छ । फागुन ११ मा त पुनःस्थापना भएको हो । फेरि विघटन भयो । अब पनि फेरि विघटन हुन्छ भन्ने मलाई लागेको छ, इतिहास हेर्दा ।

यसक्रममा पाण्डेयले विदेशी प्रसंग धेरै प्रयोग गरेपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडाले वहस विषयबाट अलि टाढा गएको भन्दै रोके । यसअघि अघिल्लो पटक भएको संसद विघटनसँग सम्बन्धित वहसमा पनि उनले बारम्बार विदेशी प्रसंग ल्याउँदा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले नेपालको संविधान पढ्न सुझाएका थिए । 



पाण्डेयको वहस सकिएसँगै इजलासमा नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले वहस गरिरहेका छन् । 



  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार १६:७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया