भारतले सीमावर्ती क्षेत्रमा सडक बनाएपछि टुट्यो व्यास-खलंगा सम्पर्क

अविरल वर्षाका कारण दार्चुलादेखि व्यास गाउँपालिकाको छांगरुसम्मको सम्पर्क टुटेको छ । भारतले सीमावर्ती क्षेत्रमा मिच्याइँपूर्वक सडक बनाएपछि सम्पर्क टुटेको हो ।

भारतले सडक खन्दा व्यास गाउँपालिकाको वडा नम्बर २ कल्जुदेखि वडा नम्बर १ को बुदीसम्म दर्जन बढी ठाउँमा पहिरो गएर गोरेटो बाटो अवरुद्ध  बनेकाे हुनाले अहिले उक्त बाटो खुलाउन सकिने अवस्था छैन । अधिकांश ठाउँमा भारतले निर्माण गरेको सडकका कारण पहिरो गएको छ । केही ठाउँमा महाकालीमा नदीको बहाव बढेपछि बाटो अवरुद्ध भएको छ ।  महाकाली लोकमार्ग अन्तर्गत दार्चुला तिंकर सडकखण्डको व्यास गाउँपालिका वडा नम्बर २ मा पर्ने कोठेधारदेखि नेपाल-चीन सीमानाका टिंकरसम्मको ८७ किलोमिटर सडक नेपाली सेनाले बनाउने जिम्मेवारी पाएको छ ।

त्यस क्षेत्रमा गत वर्ष सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा गोरेटो बाटो निर्माण तथा मर्मत सम्भार गरिएको थियो । भारतले चट्टान फोर्ने क्रममा आएको पहिरो तथा महाकाली नदीमा फालिएका ढुंगाका कारण अधिकांश क्षेत्रमा नेपालतिर पहिरो गएको छ । वर्षाका कारण माल्पा, तम्बाकु, घागीबगर, कल्जु लगायतका ठाउँमा बढी अवरुद्ध भएको छ । 

पहिरो र नेपालतिरको गोरेटो बाटो दर्जनौँ बढी ठाउँमा अवरुद्ध भएको व्यास गाउँपालिका १ का वडाअध्यक्ष अशोकसिंह बोहराले बताए । ‘धेरै ठाउँमा गोरेटो बाटो सयौं मिटरभन्दा बढी नदीले कटान गरेको छ । बाटोको नाम निसाना नै मेटिएको छ’, उनले भने ।

महाकाली नदी किनारैकिनार छांगरुसम्म गोरेटो बाटो बनेको थियो । नदी किनारैकिनार बाटो निर्माण गरिएको कारण भारतीय सडकबाट नदीमा ढुंगा थुप्रिएपछि नेपालतिरको भूगोल बढी कटानमा परेको हो । 

अधिकांश ठाउँमा भारतीय सडकको कारणभन्दा पनि अहिले महाकाली नदी उर्लिएर आएकाले बढी क्षति भएको बोहराले  जानकारी दिए । सेनाले गत वर्ष बनाएकै गोरेटो बाटो समेत महाकाली नदीले कटान गर्ने जाेखिम बढी छ । नेपालतिर भएर व्यासको छांगरु टिंकर जान सकिने अवस्था छैन । महाकाली नदीले सीतापुल नजिकै रहेको भारतीय एसएसबीको चेकपोष्ट भत्काएको छ । पुलको आधा भूभाग कटान गरेको  छ ।



महाकाली नदीकाे क्षति सम्बन्धमा बोहरा भन्छन्, ‘काठको पुल वर्षाैँदेखि जीर्ण नै थियो । मर्मतका लागि पटकपटक गाउँपालिकामा माग गर्दा सुनुवाइ भएन । अहिले महाकालीले भत्काउने अवस्थामा पुगेको छ । व्यासीहरूले भारतको बाटो भएर अहिले खलंगा आउनुपरेको छ । त्यही पुल पनि बगायो भने खलंगासम्म व्यासीले पुग्ने सक्ने अवस्था छैन । अहिले पनि भारतका विभिन्न ठाउँमा सडक अवरुद्ध छ ।’

भारतले घाँटीबगरमा सडक चौडा बनाउने क्रममा पहाड भत्काउँदा व्यासको कल्जु क्षेत्रमा २५० मिटर बढी क्षेत्रमा क्षति पुर्‍याएको छ । ‘नदी किनार भएर बनाइएको पुरै गोरेटो बाटो भत्किएको छ’, वडा नम्बर २ का वडाअध्यक्ष धिरेन्द्र बुढाथोकीले भने, ‘थोरै बजेटले बाटो खुलाउन सकिने अवस्था पनि छैन । त्योभन्दा माथिल्लो तम्बाकु भीर लगायतका क्षेत्रमा पुरै बाटो भत्किएको छ ।’ 



बुढाथाेकीका अनुसार स्थानीयलाई वन जंगलबाट घर फर्किन समेत निकै कठिनाइ भएको छ ।

भारतले व्यासको दुम्लिङभन्दा माथिल्लो क्षेत्रमा विगतदेखि नै सडक निर्माणका लागि नदीको प्राकृतिक धार परिवर्तन गराउँदै आएको थियो । भारतले कयौं पटक डोजर, स्काभेटर महाकाली नदीमार्फत नेपाल प्रवेश गराउँदै आफ्नो भूमिमा सडक निर्माण गरेको हो । विगतदेखि नै महाकाली नदीको बहाव अवरुद्ध पार्दा नेपालतिर सडक अवरुद्ध हुँदै आएकाे थियाे । 

सशस्त्र प्रहरीले केही दिन अघि मात्रै नेपालको बाटो भएर माल्पासम्मको बाटोको अवस्थाबारे निरीक्षण गरेको थियो । सो क्रममा अधिकांश क्षेत्रमा भारतीय सडक निर्माणको क्रममा सिधै ठूलाठूला चट्टानहरू नदीमा फालिएकाले नदीको बहाव नेपालतिर सोझिन गएको सशस्त्र प्रहरीले जानकारी दिएको थियो ।

नेपाली सेनाले आगामी आर्थिक वर्षबाट सडक निर्माण कार्य सुरु गर्ने तयारी गरेको छ ।  सरकारले २०७७ वैशाख १४ को मन्त्रिपरिषद् बैठकले व्यास गाउँपालिकाकोकोठेधारदेखि टिंकरसम्मको ८७ किमी सडकको ट्र्याक खोल्न सेनालाई जिम्मा दिएको थियो । कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा बैतडी हुँदै दार्चुला-खलंगा हुँदै टिंकर जोड्ने महाकाली राजमार्गको लम्बाइ ४२५ किलोमिटर छ । 

  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार १६:१०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया