कर्णालीमा ५५ प्रतिशत रोपाइँ सम्पन्न

असार १५ अर्थात् धान दिवस कर्णालीसहित देशैभर धान रोप्दै, दही–चिउरा खाएर मनाइएको छ । धान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक अन्य ९ जिल्लामा सार्वजनिक बिदा समेत दिएको छ । 

मध्य असारसम्म आइपुग्दा कर्णालीमा ५५ प्रतिशत रोपाइँ सकिएको छ । यो वर्ष समयमा नै धेरै वर्षा हुँदा गत वर्षको तुलनामा केही प्रतिशत धेरै धान रोपाइँ भएको कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । 

जसमा हिमाली जिल्लाहरू जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोटमा ९० प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले बताए । हिमाली जिल्लामध्ये मुगु, हुम्ला र डोल्पामा न्यून मात्रामा धान रोप्ने गरिन्छ । यस्तै, पहाडी जिल्लाहरु रुकुम पश्चिम, जाजरकोट र सल्यानमा ८० प्रतिशत, दैलेखमा ४७ र सुर्खेतमा ३४ प्रतिशत रोपाइँ सकिएको निर्देशनालयले जानकारी दिएको छ । कर्णालीका हिमाली जिल्लामा चैतदेखि नै रोपाइँ सुरु हुन्छ भने पहाडी जिल्लामा जेठ अन्तिमबाट धान रोप्न सुरु गरिन्छ । 

भौगोलिक रुपमा तराई नभएको कर्णालीमा खोला किनार, नदीको छेउछाउ, कान्लाहरुमा धान रोपिन्छ । कर्णाली प्रदेशभर करिब ४६ हजार हेक्टरमा धान रोपाइँ हुन्छ । प्रदेशको २५ लाख २५ हजार २७५ हेक्टर क्षेत्रफलमध्ये दुई लाख ९९ हजार ३३९ हेक्टरमा मात्रै खेतीयोग्य जमिन छ ।

धान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारको आयोजनामा वीरेन्द्रनगर ९ मा धान रोपाइँ गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा मन्त्री कुर्मराज शाही, सचिव डा.राजेन्द्र मिश्र, कृषि विकास निर्देशनालयका निर्देशक रोकायासहित सहभागितामा रोपाइँ गरिएको हो । 

यस्तै, वीरेन्द्रनगर १० मनिकापुरमा मनिकापुर कृषि सहकारी तथा अन्य विभिन्न क्षेत्रहरुमा रोपाइँ तथा दही–चिउरा खाने कार्यक्रमको आयोजना गरिएको छ । यसअघि धुमधामका साथ मनाइने धान दिवस कोरोनाका कारण पछिल्ला दुई वर्षमा सीमित ठाउँमा मनाउने गरिएको छ । 





  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार १६:५६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया