नेपाली कांग्रेसका युवानेता गगन थापाले विभेदको कुनै पनि घटनामा राज्य कहाँ उभिने भन्ने प्रश्नमा निरन्तर बहस चलाइरहनुपर्ने बताएका छन् । कलाकार एवं दलित अधिकारकर्मी रूपा सुनारमाथि भएको जातीय विभेदको घटनापछि यसको आवश्यकता देखिएको उनले बताएका छन् ।
रुपाले जातका कारण कोठा नपाएको विषयमा न्याय निरूपणको स्वाभाविक प्रक्रिया अघि बढिरहेको अवस्थामा सरकारका मन्त्रीको गैरजिम्मेवार हस्तक्षेपप्रति आफूहरुले आक्रोश र असहमति व्यक्त गरेको उनले स्मरण गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘तर फेरि पनि जातीय विभेदको कुनै एउटा घटनापछि आक्रोशित बहस हुने र तुरुन्तै सेलाएर जाने अनि विभेदका घटनाचाहिँ दोहोरिइरहने त होइन भन्नेतर्फ सचेत रहनुपर्ने छ।’ यस्तो हुन नदिन विभेदको कुनै पनि घटनामा राज्य कहाँ उभिने भन्ने प्रश्नमा निरन्तर बहस चलाइरहनुपर्ने उनको भनाइ छ ।
‘सबै लिङ्ग, वर्ग, जाति, क्षेत्रका प्रतिनिधिहरूको लामो विमर्श र अथक मेहनतपछि लेखिएको हाम्रो नयाँ संविधानले जातीय भेदभावलाई गम्भीर सामाजिक अपराध मानेको छ,’ उनले लेखेका छन्, ‘त्यस्तो भेदभाव दण्डनीय रहने संवैधानिक प्रबन्धअनुसारका कानुन हामीले बनाएका छौँ ।’
जातीय विभेदको कुनै पनि घटनामा विना कुनै आग्रह, कुनै किन्तु परन्तुविना, निष्पक्ष रूपमा संविधान र कानुनको यो प्रबन्धको कार्यान्वयन गर्नु गराउनु राज्यको निर्विकल्प दायित्व भएको थापाको ठहर छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।