पाकिस्तानमा धर्म परिवर्तनको जालो

गीता कुमारी (नाम परिवर्तन) दुई महिनादेखि पाकिस्तानको सिन्ध प्रान्तमा आफ्नो पैतृक गाउँमा काकासँग बस्दै आएकी छिन् । यसअघि उनी अर्कै सहर हैदराबादमा आफ्नै घरमा बस्थिन् । 

गीतालाई त्यता पठाउनुको कारण सुरक्षित महसुस गराउनु र पीडाबाट मुक्ति दिलाउने प्रयास थियो । आफूलाई दुई वर्षदेखि अपहरण गरेर कैदमा राखिएको उनीको दाबी छ । 

घुम्टो ओढेकी उनको अनुहार पूरा देखिँदैनथ्यो । उनले कालो रङको फूलबुट्टे कमिज लगाएकी थिइन् । उनको चाल तेज थियो, तर बोल्दा केही अड्कन्थिन् । 

गीता दाबी गर्छिन् -उनलाई तीन वर्षअघि एकजना मुसलमान रिक्सा चालकले अपहरण गरेको थियो, जतिखेर उनी काममा जाँदै थिइन् । उनलाई बेहोश पार्ने औषधि दिइएको थियो र त्यही हालतमा केही कागजमा औँलाको निशान लिइएको थियो ।

उनी भन्छिन्, ‘रिक्सामा दुई जना थिए, तिनले मलाई ट्याब्लेट खान दिए । मलाई थाहा छैन उसले मसँग विवाह गर्यो कि गरेन, तर आफ्नो पक्षमा बयान दिन धम्की दिएको थियो । अन्यथा, मेरो परिवारलाई मार्ने धम्कीसमेत दिएको थियो । म निकै डराएकी थिएँ, त्यसैले अदालतमा उसले भनेको जस्तै बयान दिएँ । मैले इस्लाम मानेकी थिइनँ । मलाई त्यसबारे केही पनि थाहा थिएन । यस्तो अवस्थामा इस्लाम धर्म अपनाउने बारेका कुरा कसरी साँचो हुन सक्छ र !’

त्यस ठाउँबाट भाग्न गीतालाई दुई वर्ष लाग्यो । त्यो ठाउँलाई उनी अपहरणकर्ताको जेल भन्छिन् । त्यो व्यक्तिले आफूलाई गीतको पति भन्दै अदालतमा आफ्नो हक माग्यो । तर पछि सिन्ध अदालतले गीतालाई उनकै मातापिताको हातमा सुम्पिदियो । 



अनैतिक र जबरजस्ती

पछिल्लो समय पाकिस्तानमा जबरजस्ती धर्म परिवर्तनका घटना वृद्धि भएका छन् । खासगरी, त्यहाँका अल्पसंख्यक हिन्दू र इसाई यस्तो मारमा परेका छन् । विगत एक दशकदेखि संसारभरका मानवअधिकार संगठनले पाकिस्तानमा भइरहेका यस्ता घटनाको निन्दा गर्दै आएका छन् ।



जबरजस्ती धर्म परिवर्तनको आँकडा प्राप्त हुन सकेको छैन । तर लाहोरस्थित सेन्टर फर सोसल जस्टिस (सिएसजे)का अनुसार, कथित धर्म परिवर्तन र अल्पसंख्यक समुदायका बालिकासँग जोडिएका २४६ घटनाबारे संस्थामा जानकारी छ । कतिपय घटना बाहिर नआउने हुनाले पनि संख्या ठूलो हुन सक्ने सिएसजेका अधिकारी पिटर ज्याकोब र अन्य सामाजिक कार्यकर्ता बताउँछन् । कतिपय हिन्दूले इस्लाम परम्परा मान्दै आउनुलाई पनि स्वेच्छा हो या जबरजस्ती, यकिन नभएको उनीहरूको भनाइ छ ।

प्रलोभन देखाएर पनि गरिन्छ धर्म परिवर्तन

अल्पसंख्यक समुदायका कम उमेरका बालिकालाई प्रलोभनमा पारेर या जबरजस्ती धर्म परिवर्तनका लागि बाध्य पारिने गरिएको पिटर बताउँछन् । कमजोर आर्थिक अवस्था भएका बालिकारू प्रायः यस्तो प्रलोभनको सिकार हुने गर्छन् । र, जब उनीहरूलाई अदालतमा पेस गरिन्छ तब मुस्लिम युवाहरूले घेरिरहेका हुन्छन् । यही कारणले गर्दा उनीहरूका विरुद्ध बयान दिन सक्दैनन् । पाकिस्तानमा अदालतमा आफ्नो पक्षमा बयान दिएर परिवारमा फर्कनु अर्थात् धर्मत्याग गर्नु भनेको ज्यानलाई जोखिममा पार्नु सरह हो ।

रोबिन डेनियल राष्ट्रिय अल्पसंख्यक गठबन्धनका लागि काम गर्छन् । उनी विभिन्न इसाई परिवारलाई मद्दत गर्दै आएका छन्, जो अदालतमा कथित अनैतिक धर्मान्तरणविरुद्ध लडाइँ लडिरहेका छन् ।

नीतिमै खोट

‘पाकिस्तान सरकारको नीतिमै ठूलो खोट छ । कानुनमा निकै रिक्तता छन्, जसको फाइदा उठाउँदै जबरजस्ती धर्म परिवर्तन गराइन्छ । र, अपराधी उम्कन्छ,’ रोबिन भन्छन्, ‘अपहरणकर्ताको चंगुलबाट निस्केपछि बालिकालाई लगिने अदालतमा कानुन केही पनि बोल्दैन । अधिकांश बालिकालाई सेल्टर होम पठाइन्छ ।’

केटी बालिग छन् र उनीहरूले आफ्नो इच्छामा धर्म परिवर्तन गरेका छैनन् भने बाँकी जिन्दगी परिवारसँग बिताउने मौका दिनुपर्ने उनको भनाइ छ । कसैले कार चोरेको छ भने, त्यसको मालिक खोजेर फिर्ता दिने प्रयास गरिने पाकिस्तानमा जबरजस्ती धर्म परिवर्तनबारे कानुन नबोल्नु अन्यायपूर्ण रहेको रोबिन बताउँछन् ।

पिटर भन्छन्, ‘हरेक धर्म र कानुनले महिला–पुरुषलाई आफ्नो इच्छामा विवाह गर्ने अधिकार दिन्छ । मानिसले कुनै धर्म अँगाल्न र त्याग्न पाउँछ, यसमा कुनै रोकतोक गरिनु हुँदैन । तर जबर्जस्ती, आपत्तिजनक ढंगमा या अनैतिक रूपमा यस्तो काम गरिन्छ भने त्यसमा प्रश्न उठाउनु पर्छ ।’

धामिर्क संस्थाहरूको कनेक्सन

धर्म परिवर्तनका अधिकांश घटना सिन्ध र पन्जाब प्रान्तमा हुने गरेका छन् । सिन्धमा अधिकांश हिन्दू परिवारका र पन्जाबमा इसाई युवतीमाथि यस्ता घटना भएका छन् । सिन्धका दूरदराजका धार्मिक संस्था सयौँ युवतीलाई धर्म परिवर्तन गराएर इस्लाम बनाएको दाबी गर्छन् । तीमध्ये अधिकांश युवती भील, मेघवार र कोहलीजस्ता अल्पसंख्यक जातिका छन् । 

अल्पसंख्यकको अधिकारका लागि काम गर्ने संस्था र हिन्दू समुदायको दाबी के छ भने, धर्म परिवर्तन जबरजस्ती ती युवतीहरूको गराइएको छ जो मुस्लिम युवकसँगको सम्बन्धमा छन् । धार्मिक संस्थाहरूका प्रमुखमाथि कानुन उल्लंघनको आरोप लाग्दै आएको छ । तर उनीहरू भने यसलाई अस्वीकार गर्छन् । राजीखुसीले विभिन्न धर्मका मानिसहरू इस्लाम बन्न आउने उनीहरूको जिकिर छ । यस्ता घटनामा सामाजिक र राजनीतिक फ्याक्टर महत्वपूर्ण रहेको बताइन्छ ।

अल्पसंख्यकको सुरक्षा

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफू अल्पसंख्यक समुदायको सुरक्षामा प्रतिबद्ध रहेको पटकपटक बताइसकेका छन् । देशमा सबैलाई समान अधिकार रहेको उनको दाबी छ । पाकिस्तानले धर्म परिवर्तनबारे अन्तर्राष्ट्रिय समुदायले लगाएको आरोपलाई नकार्दै आएको छ । पाकिस्तानको छवि खराब पार्न भारतले प्रोपोगान्डा फैलाइरहेको आरोप पनि लगाइएको छ । 

तर जबर्जस्ती धर्म परिवर्तनका घटनाबारे मिडियामा समाचार आउन थालेपछि सरकार सत्यतथ्य के हो भनेर बोल्दैन । सरकारले त्यसबारे आँकडा पनि दिँदैन र त्यसको व्यापकतालाई अस्वीकार मात्रै गर्छ ।

पाकिस्तान सरकार यो समस्या सुल्झाउन कानुन बनाउने प्रक्रियामा रहेको एक अधिकारी बताउँछन् । कानुन बनाउन निर्माण गरिएको कमिटीले वयस्कले धर्म परिवर्तन गर्नु उसको अधिकार रहेको बताएको छ । तर कम उमेरका व्यक्तिलाई जबरजस्ती धर्म परिवर्तन गराउन नहुने पनि कमिटीको भनाइ छ । धर्मान्तरणका लागि एक सरकारी संयन्त्र हुनुपर्ने र त्यसलाई वैधता दिइनुपर्ने कमिटीको राय छ । सरकारी संयन्त्रबाहेक अरूलाई यस्तो अधिकार दिन नहुने पनि कमिटीले बताएको छ ।

सिएसजेका पिटरका अनुसार यो मुद्दामा न्यायिक र जाँच अधिकारीलाई संवेदनशील बनाउनु आवश्यक छ । ‘नागरिकतामा वर्षौँदेखि चलिआएको असमानताको नतिजा हो यो, अल्पसंख्यकमाथिको उत्पीडनको कारण पनि यही नै हो,’ उनी भन्छन्, ‘बहुसंख्यक र अल्पसंख्यकबीच रहेको सामाजिक, राजनीतिक र आर्थिक असमानता कम गर्नुपर्छ, नत्र पाकिस्तानले आगामी केही दशकमा आफ्नो धार्मिक विविधता गुमाउने छ ।’ 

(बिबिसीबाट अनूदित सामग्री)

       
 

  • प्रकाशित मिति : असार १६, २०७८ बुधबार १२:३३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया