‘शेरनी’ अर्थात् सिंह : विद्या बालन

जब विद्या बालनको चर्चा हुन थाल्छ, तब साडीमा सजिएकी यी अभिनेत्रीको ‘परिणीता’, ‘कहानी’, ‘दि डर्टी पिक्चर’, ‘मिसन मंगल’ तथा ‘शकुन्तला देवी’जस्ता महिला प्रधान सिनेमा स्मरणमा आउँछन् । यी सिनेमामा विद्याले उत्कृष्ट अभिनय गरेर एउटा गहिरो छाप छाडेकी छन्, जसले उनलाई ‘लिकबाट पर’ रहेकी अभिनेत्रीको दर्जा दिएको छ । हरेक पटक उनको सिनेमाले सफलताको एक नयाँ उचाइ बनाएको छ ।

करिब दुई दशकदेखि सिनेमा क्षेत्रमा लागेकी विद्या त्यस्तो भूमिका निर्वाह गर्न रुचाउँछिन्, जुन उनलाई सम्मोहक लाग्छ, जुन सिनेमालाई उनी अस्वीकार गर्न सक्दिनन् । महिला प्रधान सिनेमाको हिस्सा बन्न उनलाई कुनै आपत्ति छैन, किनकि उनी सिनेमामा ‘हिरो’ बन्न मन पराउँछिन् ।

रजतपटमा पाइला

विद्याले ९० को दशकमा चर्चित कमेडी धारावाहिक ‘हम पाँच’बाट अभिनय सुरु गरिन् । अध्ययनका निम्ति आमाबुवाको चाहनामा उनले केही समय अभिनयलाई विराम दिइन् । अध्ययन सकिएपछि उनी पुनः सिनेमा जगतमा आइपुगिन् । दक्षिण भारतीय र बंगाली सिनेमामा काम गरेपछि उनले प्रदीप सरकारको हिन्दी सिनेमा परिणीतामा अभिनय गर्ने अवसर पाइन् । शरत्चन्द चट्टोपाध्यायको उपन्यासमा आधारित २००५ मा बनेको परिणीतामा विद्याका साथै सन्जय दत्त र सैफ अली खान पनि छन् । यो सिनेमालाई दर्शकमात्रै होइन समीक्षकले पनि उत्तिकै प्रशंसा गरे । उनले यसमा डेब्यु अवार्ड नै जितिन् ।

डर्टी पिक्चरबाट छलाङ

परिणीतापछि विद्याले थुप्रै ठूला सिनेमामा काम गरिन् । भुल भुलैया, पा, इस्किया, लगे रहो मुन्ना भाइजस्ता सिनेमामा उनले अभिनय गरिन् । २०११ मा विद्याका दुईवटा सिनेमा आए । ‘नो वन किल्ड जेसिका’मा उनको अभिनयको खुबै प्रशंसा भयो । सोही वर्षको अन्त्यतिर सिल्क स्मिताको जीवनमा आधारित सिनेमा ‘डर्टी पिक्चर’ बन्यो । उक्त सिनेमाले बक्स अफिसको रेकर्डमात्रै तोडेन, विद्यालाई हिन्दी सिनेमा उद्योगमा नयाँ केन्द्रमा पुर्‍यायाे । उक्त सिनेमामा उनले राष्ट्रिय पुरस्कारसमेत पाइन् । 



डर्टी पिक्चरका निर्देशक मिलन लुथरियाले यो सिनेमा बनाउनुको कारणबारे भने, ‘म भावनात्मक रुपमा यसको कथासँग जोडिएको थिएँ । म महिला प्रधान सिनेमा बनाउन चाहन्थेँ, किनकि म साह्रै दिक्क थिएँ- मलाई सबैले किन पुरुष प्रधान सिनेमा मात्रै बनाएको भनेर प्रश्न गरिरहेका थिए ।’

उनी थप्छन्, ‘कोही पनि यो कथामा सिनेमा बनाउन चाहँदैन थिए । मानिसहरु भनिरहेका थिए– यसको शीर्षक खराब छ, सिनेमाको कास्टिङ खराब छ, यो अश्लील सिनेमा हो । यो सिनेमा बनाउन मलाई कसैले प्रोत्साहन दिएनन् । सबैले नबनाऊ भनिरहे । तर मैले बनाएँ, जसमा मलाई निकै गर्व छ । अन्त्यमा, यो सिनेमाले तीनवटा राष्ट्रिय पुरस्कार पायो ।’



मिलन लुथरिया किन पनि खुसी छन् भने, डर्टी पिक्चरकै कारण विद्या उनको जीवनमा आइन् । उनलाई लाग्छ- महान् कलाकार हुन्, चाहे कुनै बायोपिक होस् या काल्पनिक सिनेमा । डर्टी पिक्चरमा विद्याको अभिनयबारे सिनेमाका इतिहासकार एसएमएम औसजा भन्छन्, ‘डर्टी पिक्चरमा उनको अब्बल अभिनय रह्यो, त्यो भूमिका निकै मुश्किल थियो । त्यस्तो जटिल र निडर भूमिका निर्वाह गर्नु सजिलो छैन । कुनै पनि शीर्ष अभिनेत्रीका लागि उक्त भूमिका कठिन छ । विद्याले जे गरिन्, त्यो असामान्य छ ।’

कहानीको कथा

डर्टी पिक्चर सिनेमा आएको केही महिनापछि २०१२ मा विद्याले सुजोय घोष निर्देशित ‘कहानी’ मा काम गरिन्, जुन निकै सफल भयो । दुवै सिनेमाले ७० देखि ८० करोड कमाए, कुनै पनि महिला प्रधान सिनेमाका निम्ति उक्त कमाइ निकै धेरै थियो । 

इतिहासकार औसजा डर्टी पिक्चर र कहानीको भूमिका फरकफरक रहेको बताउँछन् । दुवै सिनेमाको भार विद्याले आफ्नो काँधमा उठाइन् । विद्याका लागि त्यो कुनै जुवाभन्दा कम नरहेको औसजाको भनाइ छ । उनी असफल पनि हुन सक्थिन्, तर भाग्यले उनलाई साथ दियो । उनी निकै प्रतिभाशाली भएकै कारण यी काम हुन सकेको औसजा बताउँछन् ।

‘तुम्हारी सुलु’

डर्टी पिक्चर, कहानीजस्ता सिनेमाको सफलतापछि विद्याका हातमा थुप्रै सिनेमा आए, तर उनले सोचेजस्तो सफलता पाउन सकिनन् । नो वन किल्ड जेसिकाका निर्देशक राजकुमार गुप्ताले विद्यालाई लिएर ‘घनचक्कर’ बनाए । उक्त सिनेमामाथि ठूलो अपेक्षा गरिएको थियो, तर सफल हुन सकेन ।

बबी जासूस, हमारी अधूरी कहानी, कहानी २, बेगम जानलगायतका महिला प्रधान सिनेमामा उनले अभिनय गरिन्, तर दर्शकले उनलाई उतिविधि रुचाएनन् । २०१७ मा पुगेपछि उनको हातमा पर्यो ‘तुम्हारी सुलु’ नामक सिनेमा । उक्त सिनेमामा उनी विवाहित महिला थिइन् र रेडियो जकीको काम गर्थिन् । कथा सरल थियो, तर त्यसैबाट विद्याले पुनः एक पटक दर्शकको मन जित्न सफल भइन् । सिनेमा समीक्षकले पनि यसलाई मन पराए । यसैमा विद्याले फिल्मफेयर अवार्ड पनि पाइन् । सिनेमाले ३० देखि ३५ करोड कमायो । 

मिसन मंगल र शकुन्तला देवी

२०१९ मा विद्याले अक्षय कुमारसँग ‘मिसन मंगल’ सिनेमामा काम गरिन् । यस सिनेमामा उनको अभिनयको खुबै तारिफ भयो । २०२० मा कोरोना महामारीकै अवधिमा उनको अर्को सिनेमा ‘शकुन्तला देवी’ ओटीटी प्लेटफर्ममा रिलिज भयो । यसमा पनि उनको अभिनयको तारिफ भयो र उनलाई फिल्मी अवार्ड मिल्यो । 

‘शेरनी’ अर्थात् सिंह विद्या

गत साता विद्याको सिनेमा ‘शेरनी’ ओटीटी प्लेटफर्ममा रिलिज भयो । न्युटन नामक सिनेमाका लागि राष्ट्रिय पुरस्कार पाइसकेका निर्देशक अमित मासुरकको शेरनीमा विद्याले एक महिला वन अधिकारीको भूमिका निर्वाह गरेकी छन् । सिनेमा समीक्षकहरूका अनुसार विद्याको यो भूमिका उनकै अगिल्ला सिनेमाहरू भन्दा निकै अलग छ । यसमा विद्या स्त्रीपरक भेदभाव र कार्यालयमा हुने पक्षपातको सामना गर्छिन् । विद्याले आफ्नो अभिनयको नयाँ झलक यो सिनेमामा देखाएकी छन् । 

के खास विशेषता छ विद्यामा ?

झण्डै दुई दशकको सिनेमा यात्रामा विद्याले थुप्रै महिला प्रधान सिनेमा खेलिन् र यो उद्योगमा आफ्नो बलियो स्थान बनाइन् । सिनेमा व्यापार तथा विश्लेषक अतुल मोहन भन्छन्, ‘सिनेमा उद्योग हमेसा पुरुषप्रधान रह्यो, तर केही यस्ता अभिनेत्री छन्, जसले आफ्नो अलग पहिचान बनाए । यसमा रेखा, हेमा मालिनी, वैजयन्ती माला, श्रीदेवी र माधुरी दीक्षितजस्ता कलाकार छन् । यी अभिनेत्रीको सिनेमा आउँदा पूरा भारतमा चर्चा हुन्थ्यो । त्यस्तै अवस्था विद्या बालनले पनि बनाउने कोसिस गरिरहेकी छन् ।’
उनी थप्छन्, ‘परिणीतापछि पाइलापाइलामा उनले उत्कृष्ट अभिनय गरिरहेकी छन् । उनको भूमिका अपरम्परागत छ । गम्भीर सिनेमा भएर पनि ती हिट छन् ।’

सिनेमा जगतमा अभिनेत्री पातली हुनुपर्ने, आधुनिक र अंग्रेजीमा बोलचाल गर्न सक्ने हुनुपर्ने धारणालाई नूतनदेखि काजोलसम्मले गलत साबित गरिदिएको अतुल मोहन बताउँछन् । ती अभिनेत्रीमा भारतीयता रहेको र अहिले विद्यामा पनि सो कुरा निहित रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘विद्या बालन जब स्तरीय कथाको हिस्सा बन्छिन्, तब दर्शक उनलाई हेर्न सिनेमाघर निश्चित रुपमा जान्छन् । तुम्हारी सुलु यसकै एक उदाहरण हो ।’

सिनेमा इतिहासकार औसजा विद्यालाई ‘सोचविचार गर्ने’ अभिनेत्रीका रूपमा टिप्पणी गर्छन् । उनी स्क्रिप्ट हेरेर, सोचविचार गरेर सिनेमा खेल्छिन्, जसका कारण उनको भूमिकामा निखार आएको हुने उनको मूल्यांकन छ । ​औसजा भन्छन्, ‘उनले कमजोर सिनेमा पनि खेलिन् । त्यो समय उनी यति लोकप्रिय थिइन् कि, उनलाई धेरै सिनेमा मिल्यो र खेल्नुपर्यो । तर उनले यस्तो सिनेमा पनि खेलिन्, जसले उनको रचनात्मकतालाई कायम राख्यो । जसरी ७० को दशकमा आम मानिसको अभिनय अमोल पालेकर निर्वाह गर्ने गर्थे । त्यस्तै अहिले सिनेमा उद्योगमा भारतीय महिलाको सर्वोत्कृष्ट अभिनय विद्या बालनले गरिरहेकी छन् । उनको भारतीयता नै उनको पहिचान हो, जसलाई दर्शकले मन पराउँछन् ।’


(बिबिसीबाट अनूदित )

  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार ८:३३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया