वस्ती हटाएर कवुलियत वन बनाउन खाेजेको भन्दै आन्दोलन, २० राउण्ड अश्रुग्यास प्रहार

बसोबास गरेको स्थानबाट हटाउन लागेको भन्दै उदयपुरको बेलका नगरपालिकाका बासिन्दा आन्दोलित भएका छन् । उदयपुर नगरपालिका- ३ को झण्डै १२६ हेक्टर जग्गालाई कवुलियत बनाउने सरकारले निर्णय गरेपछि स्थानीय आन्दोलित भएका हुन् ।

हर्वल कम्पनीसँगको मिलेमतोमा हर्वल कम्पनीलाई जग्गा भाडामा दिने उद्देश्यले कवुलियत वन बनाउने चलखेल भएको भन्दै स्थानीयले असार १७ गते नगरपालिका घेराउ गरेका थिए ।

नगरपालिका घेराउ गर्न आएका स्थानीय बासिन्दालाई रोक्ने क्रममा  झडप भएको छ । झडपमा परी ४ जना प्रहरी सामान्य घाइते भएका छन् । दुई पक्षीय झडपमा नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका दुई गरी चार प्रहरी जवान घाइते भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि छ राउन्ड हवाई फायर र बिस राउन्ड अश्रुग्यास प्रहार गरेकाे थियाे ।

स्थानीय र प्रहरीबीचको झडपमा बेलका नगरपालिकाको सभाहल, मेयर कार्यकक्षको झ्यालको सिसा, वडा नम्बर नौको कार्यालयमा क्षति पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार वन बनाउने प्रक्रिया सुरु हुँदा सो जग्गामा बसोबास गर्दै आएका जनता नगरपालिका घेर्न आएपछि प्रहरीसँग झडप भएको थियो ।



सरकारले २०६८ साल जेठ ६ गते बेलका नगरपालिकाको उक्त क्षेत्रलाई कवुलियत वन बनाउने निर्णय गरेको थियाे । सरकारले कवुलियत वन बनाएपछि त्यस क्षेत्र आसपासमा बसोबास गर्ने १३ सय परिवार प्रभावित हुने बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जानकारी दिए ।

सरकारी जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका जनताले जग्गाको लालपुर्जा आफूहरूले पाउनुपर्ने भन्दै नगरपालिकाको कार्यालय घेराउ गरेपछि उनीहरूलाई हटाउने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले बताए ।



स्थानीय रामकुमार भुजेलले आफूहरू लामो समयदेखि सुकुम्वासी भएर उक्त जग्गामा बसोबास गर्दै आएको र उक्त जग्गालाई नगरपालिकाले नेपाल सरकारलाई कबुलियत वन बनाउन सिफारिस गरेपछि आफूहरूको उठीबास हुने भएकाले मागहरू राख्न गएको जनाए।

यता मेयर थापा भने आफूहरूले नगरसभाबाटै सो जग्गालाई कवुलियती वन बनाउन नहुने निर्णय गरेको बताउँछन् । उनका अनुसार डिभिजन वन कार्यालय उदयपुर क्षेत्रीय वन निर्देशनालयको सिफारिसमा सरकारले कवुलियती वन बनाउने निर्णय गरेको हो ।

भिडियाे हेर्नुहाेस् :

  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार १४:४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया