सञ्चालन नहुँदै भाँसियो कमला पुल

तराई मधेशको लाइफलाइन मानिएको हुलाकी राजमार्ग अन्तर्गत सिरहाको बसपिट्टा घाटस्थित निर्माणाधीन धनुषा र सिरहा जोड्ने कमला पुल भासिएको छ । 

२०७८ साल असार १३ गते हस्तान्तर गरी सञ्चालनमा ल्याउने सम्झौता भएको कमला पुल सञ्चालनमा नआउँदै पुलको को एक स्पान नै भासिएको हो ।

कमला नदीमा धनुषा र सिरहा जिल्ला जोड्ने सिरहाको बसपिट्टा घाटस्थित निर्माण भइरहेको कमला पुलको १२ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । 

कणेलले भने, ‘पुलमा १२ वटा स्पान बनाइएको छ । जसमध्ये सिरहातर्फबाट दोस्रो स्पान करिब एक फिट तल भासिएको हो । यसमा कमसल वस्तुको प्रयोग वा गुणस्तरहीन काम भएको हुन सक्छ ।’ 

२०६८ सालसम्म ४२ महिनामा पुल निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का पाएका पप्पु कन्सट्रक्सन र ज्यान जेभीबाट काम सुरु भएको थियो । बीचबीचमा म्याद थपिँदै अन्त्यमा लुम्बिनी बिल्डर्सले ठेक्का पाएको सिडिओ कणेलले बताए । 

उनले भने,‘२०७८ साल असार १३ गतेसम्म पुल निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता बमोजिम कार्य सम्पन्न भएको थियो तर हस्तान्तरण गर्न बाँकी रहँदा कमला नदीमा आएको साधारण बाढीमै पुलको स्पान भासिनुले काम गुणस्तरहीन भएको हुन सक्ने अनुमान हाम्रो छ ।’ 



पुल निर्माणको ठेक्का पाएका लुम्बिनी बिल्डर्सले गुणस्तरहीन काम गरेको भन्दै केन्द्रमा प्रतिवेदन समेत पठाइएको प्रजिअ कणेलले जानकारी दिए ।



  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार १६:१२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया