खर्बपति एलन मस्कको घर कत्रो होला ?

संसारकै दोस्रो धनी व्यक्ति एलन मस्क कस्तो, कति डलर पर्ने र कत्रो घरमा बस्लान् भन्ने चासो जोकोहीलाई पनि हुन सक्छ । तर, हालै उनले आफू बस्ने घरको बारेमा जे कुरा सार्वजनिक गरे, त्यसले सबैलाई आश्चर्यचकित पारिदिन्छ । 

उनी हाल केवल ५० हजार डलरको घरमा बस्दै आएका छन् । उक्त घरको लम्बाइ र चौडाइ २०÷२० फुटमात्रै छ । केही समयदेखि उनी मंगल ग्रहमा सहर बसाउने कुरा गर्दै आएका छन् । अब मानिसले मंगल ग्रहमा बस्ती नबसाउने हो भने मानव अस्तित्वमै खतरा पैदा हुने उनको भनाइ छ । 

यो सपना पूरा गर्नका निम्ति उनले स्पेस एक्स कम्पनी नै खोलेको छन् । उक्त कामका लागि उनले अर्बौं डलर खर्च गरेका छन् । यसरी अरुलाई मंगल ग्रहमा घर बनाउन उक्साउने एलन आफू भने धरतीमा पत्याउनै नसक्ने घरमा बस्दै आएका छन् ।

मस्कले ट्विट गर्दै क्यालिफोर्नियामा रहेको घर रियल इस्टेटलाई बेचिदिएको खुलासा गरेका छन् । र, उनी अहिले टेक्ससस्थित स्पेस एक्सको स्टारबेस नजिकै सानो घरमा बस्न थालेका छन् । यी धनाढ्यसँग अहिले १६६ अर्ब डलरबराबर सम्पत्ति छ । 

उनले चाहने हो भने, संसारको सबैभन्दा महँगो घर किन्न सक्छन् । सुख सुविधा संसारमा जेजति छन्, ती सबै प्राप्त गर्न उनलाई कसैले रोक्न सक्दैन । तर, उनी यस्ता छन्, हरेक वस्तुलाई फरक नजरले हेर्न, बुझ्न र प्रयोग गर्न रुचाउँछन् ।

विद्युतीय कार कम्पनी टेस्लाका मालिक मस्कले सानो घर स्पेस एक्सको स्टारबेस नजिक किन्नुको कारण आफ्नो मंगल मिसनमा नजिकबाट रेखदेख गर्न चाहनु रहेको छ । २० फुट लामो र त्यति नै चाैंडाइ भएको उक्त घर फोल्ड गर्न पनि मिल्छ । त्यो घर बोक्साबल नामक स्टार्टअप कम्पनीले बनाएको हो ।



बोक्साबलले गत वर्ष नोभेम्बरमा एक भिडियो ट्विट गरेको थियो । त्यसमा कम्पनीले कोही एकजना ‘हाई प्रोफाइल’ र ‘टप सिक्रेट’ व्यक्तिका निम्ति बनाएको उल्लेख गरेको थियो । आइतबार एकजना युट्युबर मिट केभिनले ट्विट गर्दै बोक्साबलको सिइओसँग एलन मस्क त्यहाँको घरमा बस्छन् भनी सोधेको उल्लेख गरेका छन् । ती सिइओले जवाफमा भनेका थिए, ‘म त्यो भन्न सक्दिनँ ।’ केभिनको ट्विटको मुनितिर बोक्साबलको ट्विटर पेजमा लेखिएको छ- नो कमेन्ट ।

मस्क सम्भावित तेस्रो विश्वयुद्धअघि नै मंगल ग्रहमा मानव बस्ती बसाउनु पर्ने जिकिर गर्दै आएका छन् । उनको योजनाको मंगल ग्रहको बस्तीमा सबथोक स्वतः सञ्चालित हुने छ । 



मस्कले मार्स सोसाइटीको भर्चुअल सम्मेलनमा मंगल ग्रहमा बस्ती बसाउने घोषणा गरेका थिए । २०२६ सम्ममा मंगल ग्रहमा मानिसलाई लगिने उनको भनाइ थियो । 

सोही सम्मेलनमा उनले चेतावनी दिँदै भनेका थिए, ‘ यदि, हामीले छिट्टै मंगल ग्रहमा मानव बस्ती बिस्तार नगर्ने हो भने मानवताको अस्तित्वमै संकट आउने छ ।’

  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार १७:१२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया