जनकपुरधामस्थित त्रिभुवन विश्व विद्यालयको मैथिली केन्द्रीय विभागले अनलाइन कक्षा सञ्चालनका लागि लाखौँ रुपैयाँको सामान खरिद गरे पनि दक्ष जनशक्तिको अभावमा ती सामान थन्किएका छन् ।
विभागले अनलाइन कक्षा सञ्चालनका लागि ३ लाख ५४ हजारको समान खरिद गरे पनि कक्षा भने अहिलेसम्म सञ्चालनमा ल्याउन सकेको छैन । गत असोज महिनामै खरिद गरिएका ती सामानहरू दक्ष जनशक्ति अभावमा थन्काएर राख्नु परेको लेखापाल सञ्जीव दासले बताए ।
उनले भने, ‘गत असोज महिनामा अनलाइन कक्षा सञ्चालन गर्ने अभिप्रायले त्रिभुवन विश्व विद्यालयले ७ लाख रुपैयाँ उपलब्ध गराएको थियो । जसमध्ये ३ लाख ५४ हजार खर्च भएको छ । त्यस पैसाबाट ल्यापटप, मोबाइल, क्यामेरा, क्यामेरा स्ट्यान्ड, मिनी स्पिकर, वायरलेस हेडफोन, प्रोजेक्टर, इन्भर्टर, ब्याट्री लगायतका सामग्री खरिद गरिएको छ ।’
विभागले अनलाइन कक्षा सञ्चालनका लागि ७६ हजार ३२७ रुपैयाँको ल्यापटप, ४० हजार ७०७ रुपैयाँको रेडमी ९ प्रो म्याक्स मोबाइल, ४ हजार ७० रुपैयाँको दुई थान क्यामेरा स्टयान्ड, ७६३ रुपैयाँमा मिनी स्पिकर, ६ हजार १०६ रुपैयाँमा वायरलेस हेडफोन र ५८ हजार रुपैयाँमा क्याननको क्यामेरा खरिद गरेको उनले जानकारी दिए ।
शिक्षकहरूलाई अनलाइन कक्षा सञ्चालनका लागि तालिम दिने योजना रहे पनि शिक्षकहरूमा प्राविधिक ज्ञानको अभावका कारण कक्षा सञ्चालन गर्न नसकिएको लेखापाल दासले बताए ।
विभागको अवस्था दयनीय
जनकपुरधामस्थित त्रिभुवन विश्व विद्यालयको मैथिली केन्द्रीय विभागमा अहिले ३० जना विद्यार्थी मात्रै अध्ययनरत छन् । विभागको अवस्था भने दयनीय बन्दै गइरहेको छ ।
रामसागर रामस्वरुप बहुमुखी क्याम्पसको हाताभित्रै रहेको सो विभागमा कार्यरत कर्मचारी तथा प्राध्यापकहरूले कुनै वास्ता नगर्दा यसको अवस्था दयनीय बन्दै गइरहेको पाइएको हो ।
एक कर्मचारीले भने, ‘अधिकांश शिक्षकहरू घरमै बसेर तलब खाने गरेकाले कक्षासम्म सञ्चालन हुँदैन । उनीहरू आआफ्नो मनोमानी तरिकाले काम गर्छन् । विभागप्रति कसैको कुनै चासो छैन । सबैथोक लथालिङ्ग छ ।’
दुईवटा कोठामा मात्रै सञ्चालनमा हुँदै आएको विभागमा अहिले २ जना कर्मचारी तथा ५ जना शिक्षक कार्यरत रहेका छन् । उनीहरूको तलब तथा सेवा सुविधामा प्रतिमहिना २० लाख रुपैयाँ खर्च हुँदै आइरहेको छ ।
यस सम्बन्धमा विभाग प्रमुख श्यामा महतोसँग जानकारी लिन खोज्दा उनी बोल्न चाहिनन् । उनले भनिन्, ‘मेरो कार्यकाल समाप्त भएको ४ दिन भइसकेकाले म यहाँको वस्तुस्थितिको विषयमा कुनै कुरा गर्न सक्दिनँ ।’
यता, विद्यार्थी क्याम्पस नआएकाले केही समय बसेर घर फर्कनु पर्ने बाध्यता रहेको विभागका प्राध्यापक रुपेश सिंहले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।