बागमती प्रदेश बजेट छलफल : विपद व्यवस्थापनमा सरकार चुकेको आरोप

बागमती प्रदेश सभाको आर्थिक ०७८/७९ को बजेटमाथि छलफल शुक्रबारबाट सुरु भएको छ । सरकारले बजेट प्रस्तुत गरेपछि पहिलो चोटी संसदमा शुक्रबारबाट छलफल भएको हो । बजेटमा छलफल अघि विशेष समयमा प्रदेश सभा सदस्यहरूले सरकारको आलोचनासहित विभिन्न विषयमा ध्यानाकर्षण गराएका छन् ।

सरकारबाट जानकारी    

प्रदेश सभामा शुक्रबार बोल्दै बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केशव पाण्डेले असार १ गते सिन्धुपाल्चोकमा वर्षाको कारण आएको बाढी तथा पहिरोले पाँचपोखरी थाङपालका ६५ परिवार, हेलम्बुमा २०४ परिवार र मेलम्चीमा २४ घरपरिवार गरेर २९३ घरपरिवार विस्थापित भएको बताए ।

यसै गरी मन्त्री पाण्डेले पाँचपोखरीमा अहिले पनि ४ घर जोखिमा, हेलम्बुमा १२० घर, मेलम्चीमा २० घर र भोटेकोशीमा ३५० घर गरी ४९४ घर परिवार जोखिममा रहेको बताए । मन्त्री पाण्डेले असार १ गतेको बाढी तथा पहिरोमा परी ५ जनाले ज्यान गुमाएको बताए । मन्त्री पाण्डेले ज्यान जानेमा चिनियाँ नागरिक र भारतीय नागरिक २/२ जना  तथा एक जना नेपाली नागरिक रहेको बताए ।

मन्त्री पाण्डेले उक्त बाढीमा अहिलेसम्म २० जना सम्पर्क विहीन रहेको बताए । मन्त्री पाण्डेले बाढी आइरहेको अवस्थमा सेना, प्रहरी तथा स्थानीयको सहयोगमा १२३ जनाको उद्धार गरिएको र ५ जना घाइते भएको र हाल उपचारपछि स्वास्थ्य अवस्था सामान्य भएको बताए । मन्त्री पाण्डेले सिन्धुपाल्चोकको बाढी तथा पहिरोबाट प्रभावितहरूका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत् स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिए ।

उनले प्रभावितहरूका लागि तत्काल प्रदेश सरकारबाट ५० थान टेन्ड र १ सय थान त्रिपाल पठाइएको जानकारी गराए । पाण्डेले असार २ गते नै प्रदेश विपद् व्यवस्थापनको बैठक बसेर मेलम्ची हेलम्बु क्षेत्र लगायतमा उद्धार सामग्री तथा खाद्यान्न पुर्‍याउने काम गरेको बताए । त्यसै गरी मन्त्री पाण्डेले बैठकमा प्रदेशस्तरीय तत्काल विपद व्यवस्थापनका लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ दिने निर्णय गरेको जानकारी गराए ।



सांसदको आक्रोश : हेटौंडामा मात्रै प्रदेश सरकार ? 

प्रदेशसभा बैठकमा सासंदले बाढीपहिरोको विषय उठाएका छन् । सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने सांसद युवराज दुलालले प्रदेश सरकारले बाढीपहिरोबाट मृतक तथा बेपत्ता भएका परिवारलाई आर्थिक सहायता गर्नुपर्ने बताए । उनले मेलम्ची, हेलम्बु र पाँचपोखरीमा तत्काल बेलिब्रजको आवश्यकता भएको सदनमा जानकारी गराए ।



जेनेरेटरको व्यस्थापन गरेर टेलिफोन, विद्युतका पोलहरू र तार व्यवस्थित गरेर बिजुली बाल्न सक्ने वातावरण बनाउनुपर्ने भन्दै क्षति भएका विद्यालय सञ्चालन गर्न सहयोग गर्नुपर्ने बताए । यस्तै सांसद रमेश पौडेलले सिन्धुपाल्चोकमा बस्ती बस्न योग्य र अयोग्य क्षेत्र छुट्टाएर जनतालाई सुसूचित गराउनुपर्ने माग राखे ।  सांसद सुरेन्द्रराज गोसाईले बाढीपहिरोले सधैं क्षति गर्ने हुँदा भूर्गवविदहरूले छलफल गरी अध्ययन गर्न आवश्यक भएको बताए ।

सांसद रिना गुरुङले अहिले नारायणी नदीको तटीय क्षेत्र वरपर बस्तीको व्यवस्थापन गर्न नसकेको निकट भविष्यमा ठूलो क्षति पुग्ने भन्दै सरकारको ध्यानाकर्षण गराइन् । काभ्रे, सिन्धुपाल्चोक र दोलखा क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले प्रदेश सरकार हेटौंडामा मात्रै देखिएको भन्दै सिन्धुपाल्चोकमा देखिनुपर्ने बताएका छन् ।

प्रदेश सरकारको आमसञ्चारको चर्को विरोध 

यसैगरी शुक्रबार प्रदेशसभामा बोल्दै सांसदहरूले बागमती प्रदेश सरकारले आमसञ्चारगृह चलाउने निर्णय गरेकोमा विरोध गर्दै सांसदहरूले यो निर्णय फिर्ता लिन माग गरेका छन् । बैठकमा सांसद प्रेमबहादुर पुलामीले समृद्धि हासिल गर्न अघि बढ्नुपर्ने सरकार चौथो अङ्ग सञ्चार क्षेत्रमाथि नियन्त्रण गर्नेतर्फ अग्रसर हुनु आपत्तिजनक भएको बताए ।

उनले बजेट पुस्तिकाको १४४ नम्बर बुँदामा प्रदेश सरकारले आम सञ्चारगृह चलाउने बुँदा रहेको भन्दै यथाशीघ्र फिर्ता लिन माग गरे । त्यस्तै सांसद विशाल खड्काले पत्रकारले समेत सकारलाई ध्यानाकर्षण गराउनुपर्ने, गर्नुपर्ने अवस्था कसरी आयो भन्दै यसतर्फ गम्भीर हुन आग्रह गरे । सांसद गीता वाग्लेले आफै सञ्चारगृह चलाएर पत्रकारलाई भजनमण्डली बनाउने काम नगर्न माग गरिन् । उनले यसअघिका सरकारी सञ्चार गृहको उदाहरण दिँदै अब त्यसको आवश्यकता नरहेको बताइन् ।

खोपको विषयमा सरकारलाई ध्यानाकर्षण 

बैठकमा सासंदहरूले खोपको विषय उठान गरेका छन् । सभामा बोल्दै सांसद घनश्याम दाहालले जेष्ठ नागरिकले पहिलो डोज कोरोनाको खोप लगाएको भए पनि दोस्रो डोज कहिले लगाउने भनेर प्रदेश सरकारसँग प्रश्न गरे । ३ महिना खोप लगाएको भइसकेकाले दोस्रो खोप कहिले लगाउने सरकारसँग जवाफ माग गरे । सांसद विशाल खड्काले निषेधाज्ञा खुकुलो हुँदै गए पनि खोपको व्यवस्थापन किन भएन भनेर प्रश्न गरेका छन् ।

उनले दोलखाका दुई स्थानीय तहले आफ्नै पहलमा चिनियाँ सरकारले ७२ सय खोप व्यवस्थापन गरेको बताए । उनले प्रदेश सरकारले विपदमा सूचना संकलन र अवलोकनबाहेक केही गर्न नसकेकोमा दुःख व्यक्त गरे । सांसद दीपेन्द्र श्रेष्ठले पहिलो डोज खोप लगाएकाहरूले खोपको दोस्रो डोज लगाउने अवधि सकिएको सुन्नमा आएको भन्दै खोप व्यवस्थान गर्न सरकार सफल बन्न सुझाव दिएका छन् ।

  • प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार २०:२८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया