अमेरिकी सेनाले करिब २ दशकपछि अफगानिस्तानको बगराम एयरबेस छाडेको छ । अमेरिकी ट्विन टावर हमलापछि अलकायदालाई लक्षित गरेर बगराममा स्थापना भएको अमेरिकी सेनाको शिविर उठेको हो ।
अलकायदा विरुद्धको युद्धमा अमेरिकी सेनाको केन्द्रबिन्दुको रुपमा रहेको बगराम एयरबेस सेनाले अफगानिस्तान सरकारलाई हस्तान्तरण गर्दै खाली गराएको हो । लडाकू समूह तालिवानसँग शान्तिवार्तामा भएको सम्झौताअनुरुप अमेरिकी सेना स्वदेश फर्कन थालेको हो ।
अमेरिकी सेनाले बगराम एयरबेस अफगानिस्तानको राष्ट्रिय सेनालाई हस्तान्तरण गर्दै बाहिरिएको एक अमेरिकी अधिकारीले आफ्नो नाम नखुलाउने शर्तमा बताएका अलजजिराले लेखेको छ ।
अफगानिस्तानका लागि अमेरिकी सेनाका कमान्डर जनरल अस्टिन एस मिलरले अमेरिकी सेनाले एयरबेस छाडेपनि आफ्नो सैन्य सुरक्षाका लागि पूर्णरुपमा तयार रहेको बताएका समाचारमा उल्लेख छ ।
अमेरिकी सेनाले एयरबेस छाडेको कुराले कम्तिमा ३ हजार ५ सय सैनिकले अफगानिस्तान छाडेको प्रष्ट संकेत गरेको छ । यससँगै आगामी सेप्टेम्बर ११ सम्ममा आफ्नो सैनिक फिर्ता लैजाने राष्ट्रपति जो बाइडेनको भनाइ कार्यान्वयनतर्फ गएको बताइएको छ ।
यसअघि बाइडेनले सेना फिर्ता लैजाने निर्णय गरेसँगै अमेरिकाको २० वर्ष सहयोग पाएको अफगानिस्तानी सेना र सरकार तालिवानसँगको समस्या समाधानका लागि आफै सबल रहेको विश्वास व्यक्त गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।