कोपा अमेरिका अन्तर्गत आइतबार बिहान क्वाटरफाइनलका अन्तिम २ खेल हुँदैछ । यी खेलमा उरुग्वेले कोलम्बियाको सामना गर्दा अर्जेन्टिना र इक्वेडर आमनेसामने हुनेछन् ।
यी खेलबाट प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा हुनेछ । नेपाली समय अनुसार बिहान पौने ४ मा माने गारिन्चा फुटबल मैदानमा हुने खेलमा उरुग्वेले कोलम्बियाको सामना गर्नेछ ।
उरुग्वे समूह ‘ए’को दोस्रो तथा कोलम्बिया समूह ‘बी’ को तेस्रो स्थानमा रहेर क्वाटरफाइनल प्रवेश गरेका हुन् । एक अर्काविरुद्ध मैदान उत्रिँदा दुवै टिमको लक्ष्य सेमिफाइनल हुनेछ ।
हालसम्म यी दुई टोलीले ४२ खेलमा एक अर्काको सामना गरेका छन् । उरुग्वे २०, कोलम्बिया १३ खेलमा विजयी हुँदा ९ खेल बराबरीमा सकिएको छ ।
यी दुईले पहिलो पटक सन् १९४५ मा एक अर्काको सामना गरेका थिए । कोपा अमेरिका अन्तर्गत भएको यो खेलमा उरुग्वेले ७-० को फराकिलो जित दर्ता गरेको थियो ।
विश्वकप छनोट अन्तर्गत सन् २०२० मा भएको पछिल्लो भेटमा पनि उरुग्वे ३-० ले विजयी भएको थियो ।
उरुग्वे कोलम्बिया विरुद्धको इतिहासलाई कायम राख्दै सेमिफाइनलमा प्रवेश गर्ने प्रयासमा हुनेछ । कोलम्बिया पनि उरुग्वेलाई स्तब्ध पार्दै अघि बढ्ने दाउमा हुनेछ ।
यस खेलको विजेताले अर्जेन्टिना र इक्वेडर बीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
नेपाली समय अनुसार बिहान पौने सातमा ओलिम्पिको फुटबल मैदानमा उपाधि दाबेदार अर्जेन्टिनाले इक्वेडरको सामना गर्नेछ ।
अर्जेन्टिना समूह ‘ए’ को विजेताका रुपमा तथा इक्वेडर समूह ‘बी’ को चौथो स्थानमा रहेर क्वाटरफाइनल प्रवेश गरेका हुन् । यो खेलमा जित निकाल्दै दुवै टोली सेमिफाइनल पुग्न चाहन्छन् ।
अहिले सम्म यी दुईले ३६ खेलमा एक अर्काको सामना गरेका छन् । अर्जेन्टिनाले २१, इक्वेडरले ५ खेल आफ्नो पक्षमा पार्दा १० खेल बराबरीमा सकिएको छ ।
यी दुईले पहिलो पटक सन् १९४१ मा एक अर्काको सामना गरेका थिए । कोपा अमेरिका अन्तर्गत भएको यो खेलमा अर्जेन्टिनाले ६-१ को फराकिलो जित दर्ता गरेको थियो ।
विश्वकप छनोट अन्तर्गत सन् २०२० मा भएको पछिल्लो भेटमा पनि अर्जेन्टिना १-० ले विजयी भएको थियो । इतिहासमा बलियो रहेको अर्जेन्टिना यो खेलमा पनि त्यसलाई निरन्तरता दिँदै सेमिफाइनल प्रवेश गर्ने प्रयासमा हुनेछ ।
इक्वेडर पनि इतिहासलाई बिर्सिँदै अर्जेन्टिनालाई स्तब्ध पार्ने दाउमा हुनेछ । तर, उसलाई लयमा देखिएको अर्जेन्टिनामाथि जित निकाल्न सहज भने हुने छैन ।
यस खेलको विजेताले सेमिफाइनलमा उरुग्वे र कोलम्बिया बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।