मनसुनी वायुको प्रभाव केही दिन रहने तर असर घट्ने
फरकधार / १९ असार, २०७८

देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभागनजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले केही दिनयता देशका अघिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले विगत तीन दिनदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहनाका साथै सबैजसो भूभागमा हल्कादेखि मध्यम तथा केही क्षेत्रमा भारी वर्षा भएको छ ।



केही दिनदेखिको निरन्तर वर्षा र बदलीले देशका कतिपय क्षेत्रमा प्राकृतिक विपत्ति तथा मानवीय क्षतिका दुःखद् घटना पनि भए । पछिल्लो तीन दिन लगातार बदली र वर्षा भयो कतिपय क्षेत्रमा भारी वर्षासमेत भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलको भनाइमा अघिल्ला दिनको तुलनामा मनसुनी वायुको कम प्रभाव रहने तर मनसुनी वायुको प्रभाव कमजोर मात्रामा भए पनि केही दिन रहिरहनेछ । 



अझै देशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अबका दिनमा दिउँसो र साँझपख मौसम खुले पनि खण्डितरूपमा पुनः बदली र वर्षाको सम्भावना रहिरहन्छ ।



काठमाडौँ उपत्यकाको हकमा विगत तीन दिनदेखि आंशिकदेखि पूर्ण बदली र हल्कादेखि मध्यम वर्षा भएको छ । महाशाखाको विवरणअनुसार आज काठमाडौँमा ६६ मिलिमिटर वर्षा भएको छ । हिजो शुक्रबार ४६ मिलिमिटर वर्षा भएको थियो । 

सबैभन्दा धेरै सिमरामा १५३, विराटनगरमा १०७, जनकपुरमा ८५, ताप्लेजुङमा ५८, भैरहवामा ५३ र पोखरामा ५५ मिलिमिटर वर्षा भएको छ ।

आज काठमाडौँको अधिकतम २३ दशमलव चार र न्यूनतम तापक्रम १९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । अहिले प्रदेश नं १, २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ । 

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहिरहनुका साथै प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ ।

  • प्रकाशित मिति : असार १९, २०७८ शनिबार २०:४:३९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया