[शेखर गुप्ताकाे विचार] मृत्यु र पत्रकारिता

यो साता कोलमको विषय चयन गर्नका निम्ति मैले गुगलमा ‘मृत्यु र पत्रकारिता’ (डेथ एन्ड जर्नलिज्म) शीर्षकमा खोज गरेँ । अचम्मको कुरा के छ भने, यसमा सुरुको २० वटा इन्ट्री पत्रकारिताको मृत्युबारे थियो । निजी स्वार्थवश यो पनि बताउन चाहन्छु कि, यसमध्ये दुई इन्ट्रीले पत्रकारिताको मृत्यु नै भइसकेको भन्नु गलत रहेको देखाएको थियो । यति भनिदिएकोमा गुगललाई धन्यवाद ! त्यसो त मेरो खोजमा पत्रकारिताले मृत्युको खबर कसरी दिन्छ या अधिक संख्यामा मानिसको मृत्युलाई लिएर उसको बुझाइ कस्तो छ भन्ने बुझ्नु रहेको थियो । 

‘प्वाइन्टर वेबसाइट’मा मैले एउटा लेख पाएँ । त्यसले मृत्युबारे समाचार लेखिरहेका पत्रकारका लागि उपयुक्त मानक निर्देशिकाको काम गर्न सक्छ । तर यो साता केही अप्रियखालको विषयमा अल्झिरहेको छु, जसमा आफ्नो खोजको आरम्भमा यो ढंगको अपेक्षा गरिरहेको थिइनँ । निश्चित रूपमा मलाई यो विषयमा लेख्ने विचार न्युयोर्क टाइम्सको त्यो रिपोर्टबाट मिलेको थियो, जसमा खासगरी भारतमा कोरोनाको दोस्रो लहरबाट मृत्यु हुनेको वास्तविक आँकडा अनुमान गरिएको छ ।

उक्त आँकडा पत्रकारिता (डाटा जर्नलिज्म)को गज्जब नमूना हो । त्यसमा प्रयुक्त ग्राफिक्स पनि उत्तिकै उम्दा छ । विवरण सारगर्भित र संक्षिप्त, स्रोत खोल्ने, श्रेय दिने शैली भव्य छ । र, त्यस्तो उक्त समाचारको मामिलामा मात्र होइन, अन्यमा पनि देखिन्छ । भारतमा भएको मृत्युको वास्तविक आँकडा के हो, यसमाथि ग्लोबल मिडिया, थिंक ट्यांक समूह र सोसल मिडियामा प्रभाव पार्नेबीच खुबै चर्चा भयो । 

यो पनि सत्य हो कि भारतमा कोरोनाका कारण भएको मृत्युको आँकडा कम देखाइयो । यस्तो हरेक क्षेत्रमा भएको छ । तर हाम्रा स्थानीय पालिका र सार्वजनिक स्वास्थ्य सेवाको जुन अवस्था छ, त्यसका कारण भारतको आँकडा अमेरिकाको तुलनामा निकै कम छ र यस्तो लाग्छ– तिनले एकतिहाइ त कम गरेरै आँकडा सार्वजनिक गरेको हुनुपर्छ ।

अहिलेसम्मको अनुमान अनुसार अमेरिकामा नौ लाखको मृत्यु भएको छ (सरकारी आँकडा ६ लाख) । डा. एन्थोनी फाउचीले यसको हालै खण्डनसमेत गरिसकेका छन् । उनले विज्ञानको यो मोडेलको विश्सनीयतामा सवाल उठाएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले त संसारभर कोरोनाका कारण मृत्यु हुनेको संख्या सम्बद्ध देशका सरकारले बताएको भन्दा दुई गुनाभन्दा अलिकति मात्र कम छ भनेको छ । तर ठीकै छ । अमेरिका र संसारभरबाट आएको आँकडामा ५० देखि सय प्रतिशत कम रहेको हामी बुझौँला । 

न्युयोर्क टाइम्सको रिपोर्टले मे २४ सम्मको आँकडा कम बताइएको जुन अनुमान गरेको छ, त्यसमा तीनवटा सम्भावना रहेको पनि देखाएको छ । सरकारी आँकडाले भारतमा अहिलेसम्म कोरोना संक्रमित २.६९ करोड छन् भने मृत्यु हुनेको संख्या ३.७ लाख रहेको बताएको छ । 



तर रिपोर्टमा संसारभरको संख्यामा जुन अनुमान गरिएको छ, त्योचाहिँ डब्ल्युएचओको आँकडासँग मिल्छ । र अन्त्यमा हामी हेडलाइनहरूमा केन्द्रित हुन्छौं ‘झन् खराब हालत !’ ध्यान दिनु के पर्छ भने अहिले नै ‘खराबभन्दा खराब’ अवस्था अनुमान गर्न सकिँदैन । अथवा त्यस्तो अवस्थाबारे लेख्न वा पढ्नका लागि म वा तपाईं नै नबाँच्न सक्छौँ । के मान्न थालिएको छ भने परीक्षण गरिएका नमूनामध्ये औसतमा २६ प्रतिशत छुटेको छ । र, मृत्युदर ०.६ प्रतिशत हुन पुगेको छ । नछुट्दो थियो भने मृत्यु हुनेको संख्या ४२ लाख पुग्थ्यो । 

केही गणितीय र सांख्यिकीय कारण पनि छन् । तर कुनै पनि संख्याबारे प्रश्न गर्ने हामीसँग आधार छैन । हामी त केवल प्रस्तुत आँकडाको आधार जान्न चाहन्छाैँ । 



भारत सरकारले अनुमानित आँकडाहरूको खण्डन नीति आयोगका सदस्य तथा शीर्ष नियोनेटोलोजिस्ट भीके पालमार्फत् गराइसकेको छ । यदि तपाईं संक्रमणको घटना दर्ता नगरिएको संख्याका लागि भारत सरकारको डिनोमिनेटर प्रयोग गर्नु हुन्छ भने अनुमानित आँकडा ६३ करोड पुग्छ । यो संख्या न्युयोर्क टाइम्सले बताएको खराब अवस्थाको आँकडा ७० करोड नजिक छ । उता, डा. पाल भने संक्रमणका कारण भएको मृत्युदर ०.०५ प्रतिशत रहेको बताउँछन् ।
 
डा. पाल उल्टो ढंगमा गन्ती गर्छन् । मृत्युबारे उनले भनेको आँकडा तीन लाख हो । अहिले त्यस्तो संख्या प्रतिदिन चार हजारभन्दा बढी हुन गएको छ । संक्रमणमा पनि २३ प्रतिशत दर्ता भएको छैन । जनवरी ८ पछि कुनै गम्भीर सर्भे पनि गरिएको छैन । यही कारण पनि भारत सरकारको दाबीमा कुनै वैज्ञानिक र ठोस आधार छैन । तर अनुमानित भनिएको आँकडामा पनि खासै वैज्ञानिक आधार देखिँदैन । 

मृत्यु एक गम्भीर घटना हो खासगरी तिनका निम्ति जो जीवित छ । हरेक मृत्युले परिवार, मित्र र कामहरुलाई अधूरै राखिदिन्छ । यो यातनादायी छ । यसै कारण हामी पत्रकारले मृत्यु र त्यसको संख्याका बारेमा एकदमै संवेदनशील भएर कामकुरा गर्नुपर्छ । 

स्वतन्त्रतापछि पछिल्ला तीन महिना गम्भीर राष्ट्रिय त्रासदी, शासनको अक्षमता तथा राष्ट्रिय रूपमै लज्जाजनक अवस्था रह्यो । अन्तिम संस्कारका लागि शवहरूको लस्कर, मसानघाटमा दाउरा र कब्रस्थानको अभाव, सडकमा अक्सिजन नपाएर तड्पिरहेका बिरामी, नदीहरूमा बहिरहेका शव, नदी किनारमा तैरिरहेका र यत्रतत्र छरपष्ट भएका शवको तस्वीर । यसरी यो पिँढीको मनमस्तिष्कमा छाइरहने छ जसरी भारत भागबन्डा हुने क्रममा भएको जनसंहार र सामूहिक बलात्कारको तस्वीर तिनका आमाबाबुको मनमस्तिष्कमा रहेको छ । संसारभरका प्रेसले जसरी नै भारतका मिडियाले पनि यो त्रासदीका विस्तृत, सजीव र सटिक विवरण दिए (तपाईं प्राइमटाइममा गलत टेलिभिजन हेरिरहनु भएको छैन भने) ।

यही कारण म भन्छु– बाँचिरहेका मानिसका लागि मृत्यु एक गम्भीर घटना हो । पछिल्ला दुई महिना कयौं भारतीय नागरिक मृत्युको सिकार भए, जसमध्ये अधिकांशलाई बचाउन सकिन्थ्यो ।

मलाई थाहा छ, यस्ता खाले तर्क दिएर म आफ्नो गर्धन र पिठ्युँलाई फसाइरहेको छु । प्रसिद्ध लेखक अमिताभ कुमारले एक सोसल मिडियामा मलाई प्रश्न गरेका थिए– यो अप्रिलमा किन यतिविधि घटिरहेको छ, के तिम्रो मुखमा खरानीको स्वाद आउँदैन ? तर मैले अप्रिल २०२० मा यस्तो केही किन घटेन ? भनेर लेखेको थिएँ । 

आफ्ना यति धेरै मित्र, आफन्तलाई गुमाउनु पर्दा मेरो मुखमा खरानीको स्वाद निश्चित रूपमा आएको छ किनकि तिनलाई अन्तिम विदाइ गर्न सकिएन । अक्सिजन, अस्पतालमा शय्या र औषधि उपलब्ध गराउन नसकिएका कारण तिनको मृत्यु भएको थियो । मेरो मुखमा खरानीको स्वाद आएको छ किनकि मेरो सरकारले कोरोनाको दोस्रो लहरसँग निकै अक्षमताका साथ संघर्ष गर्‍याे । मेरो मुखमा खरानीको स्वाद आएको छ किनकि अप्रिल २०२१ मा केही गलत घट्यो । तर मेरो मुखमा खरानीको स्वाद आएको छैन किनकि अप्रिल २०२० का बारेमा मैले एकदम सही कुरा लेखेको थिएँ । यो कुरा तपाईं मेरो यही कोलममा पुनः पढ्न सक्नु हुन्छ ।   

(गुप्ता भारतका वरिष्ठ पत्रकार तथा दिप्रिन्टका संस्थापक प्रधान सम्पादक हुन् । दिप्रिनटबाट अनूदित तथा सम्पादित)

  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १३:२२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया