बाढी पहिराेबाट घर गुमाएकालाई निर्वाहका लागि ५० हजार रुपैयाँ दिँदै सरकार

मनसुनजन्य प्रकोपका कारण घरबार गुमाएका पीडितहरुलाई सरकारले अस्थायी बसोबासका लागि प्रति परिवार ५० हजार रुपैयाँ दिने भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । 

राष्ट्रियसभाको आजको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले मनसुन पीडितलाई निर्वाहका लागि सहयोग प्रक्रियामा गइसकेको जानकारी गराएका हुन् । 

पीडितहरुलाई तत्काल अस्थायी बसोबासको प्रबन्ध गर्नका लागि प्रति परिवार ५० हजार रुपैयाँ सहयोग प्रदान गर्नका लागि २ करोड ८६ लाख रुपैयाँ विभिन्न जिल्लामा पठाइसकेको पौडेलले बैठकलाई जानकारी गराए । 

राष्ट्रियसभाको आजको बैठकलाई सम्बोधन गर्दै गृह मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मन्त्री पौडेलले प्राकृतिक प्रकोप पीडितलाई सरकारले आवश्यक व्यवस्था मिलाउनका लागि काम गरिरहेको बताए । 

‘यसवर्षको मनसुनजन्य विपद्बाट २०७८ असार १६ गते सम्म विभिन्न जिल्लामा आंशिक तथा पुर्ण क्षति भएका ५ सय ७२ घर परिवारका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न प्रति परिवार ५० हजारका दरले २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरुबाट प्रभावित परिवारलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ’, पौडेलले भने ।

मन्त्री पौडेलले गत वर्षको मनसुनबाट क्षति भएका विभिन्न जिल्लाका ३ हजार ९४९ परिवारहरुलाई पहिलो किस्ता वापत प्रति परिवार ५० हजार रुपैयाँका दरले १९ करोड ९७ लाख रुपैयाँ अनुदान प्रदान गरी पुनर्निर्माणको काम सुरु गरिएको पनि जानकारी गराए ।





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १६:१०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया