नेपालले चीनबाट पहिलो पटक किनेर कोरोना भाइरसविरुद्धको खोप ल्याउँदैछ । ४० लाख डोज खोप किन्न लागेको नेपालले पहिलो लटमा १० लाख डोज खोप यही असार २५ गते ल्याउँदैछ ।
आगामी मंसिरभन्दा पहिला नै सबै लक्षित नेपालीलाई खोप दिइसक्ने सरकारको लक्ष्य छ । सोही अनुरुपमा नेपालले दाताहरूसँग खोप माग्ने, आफैले पैसा तिरेर किन्न काम गरिरहेको छ ।
नेपालले चीन बाहेक अमेरिकाको जोनसन एण्ड जोनसन कम्पनीसँग पनि किन्न खोजेको छ । तर, उक्त कम्पनीले तीन महिनाभन्दा अगाडि खोप दिन नसकिने प्रष्ट पारेको छ ।
नेपालले खरिद गर्न लागेको भन्दा बाहेक कोभ्याक्स सुविधा मार्फत पनि खोप पाउँदैछ । यसअघि कोभ्याक्स सुविधामार्फत नेपालले तीन लाख ४८ हजार डोज पाएको थियो ।
अमेरिका र स्विट्जरल्यान्ड लगायतका देशले कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप दिने घोषणा गरेका छन् । तर, त्यो खोप कहिले नेपाल आउँछ भन्ने टुंगो लागेको छैन् ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले जुलाई भित्र खोप नेपाल आउन सक्ने बताए । तर, कति डोज खोप आउँछ भन्ने यकिन नभएको उनको भनाइ छ ।
‘जुलाई महिनाभित्र आउनसक्छ भन्ने हाम्रो अनुमान हो । त्यसका लागि हामीले ताकेता पनि गरिरहेका छौं । साउन १५ भित्रै आएपनि कति डोज आउने त्यो पनि हामीले यकिन गर्न सक्दैनौँ’, डा. पोखरेलले भने ।
नेपाललाई तत्काल १५ लाख डोज अस्ट्राजेनेकाको खोप अत्यावश्यक रहेको बारेमा कोभ्याक्सलाई जानकारी गराएको उनको भनाइ छ । ‘कम्तिमा पनि साढे तीन लाख डोज आउनसक्छ । त्यो भन्दा माथि जति पनि आउन सक्छ । त्यो त तपाई हामी सबैले कोभ्याक्स सुविधाले उपलब्ध गराएपछि मात्रै थाहा हुन्छ’, डा. पोखरेलले भने ।
नेपालले कोभ्याक्समार्फत २० प्रतिशत जनसंख्यालाई पुग्नेगरी खोप पाउनेछ । कोभ्याक्स सुविधामार्फत नेपालले १ करोड २६ लाख डोज खोप पाउनेछ । त्यसमध्ये अहिलेसम्म तीन लाख ४८ हजार डोज मात्र पाएको छ ।
अमेरिकाको राष्ट्रपति कार्यालयले हालै विश्वभरका विभिन्न देशलाई खोप दिने घोषणा गरेको थियो । जसमध्ये एसियाली १६ देशलाई ७० लाख डोज खोप पाउने छन् । त्यो खोप कहिले पाउने भन्ने यकिन नभएको डा. पोखरेलले बताए ।
त्यस्तै, अमेरिकाले दोस्रो घोषणामा १ करोड ६० लाख डोज खोप कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने छ । नेपालसहित एसियाका १८ देशलाई उक्त खोप कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने अमेरिकी राष्ट्रपतिको कार्यालयले २१ जुनमा घोषणा गरेको थियो ।
अमेरिकाले नेपाललाई उपलब्ध गराउने खोप सिधै नभएर कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउन लागेको हो । यसअघि घोषणा गरेको अमेरिकाले हालै पाकिस्तान र बंगलादेशलाई २५÷२५ लाख डोज खोप दिइसकेको छ ।
त्यही मितिमा घोषणा गरेको अमेरिकाले पाकिस्तान र बंगलादेशलाई खोप नै हस्तान्तरण गरिसकेको अवस्थामा नेपालले खोप पाउन कोभ्याक्सको निर्णय नै कुर्नुपर्ने डा. पोखरेलको भनाइ छ ।
नेपालले हाल चीनबाट खरिद गर्न लागेको र कोभ्याक्स सुविधामार्फत बाहेक अन्य देशसँग पनि पहल गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।
अमेरिकाले श्रीलंका, माल्दिभ्स, भारत लगायतका देशलाई पनि चाँडै नै खोप उपलब्ध गराउने तयारी गरेको छ । नेपाललाई भने अमेरिकाले सिधै नभएर कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने भएकाले कहिले आउँछ भन्ने टुंगो नलागेको प्रवक्ता पौडेलले बताए ।
नेपालले जोनसन एण्ड जोनसोनको ५० लाख डोज र मोडेर्नासँग २० लाख डोज खरिद गर्न इच्छा जाहेर गरेको थियो । तर, दुवै कम्पनीले तत्काल खोप उपलब्ध गराउन नसकिने व्यहोरा नेपाललाई जानकारी गराएका छन् ।
भारतले कोभ्याक्स सुविधाका लागि कोभिसिल्ड खोप उपलब्ध गराउने सहमति भएको थियो । तर, भारतमा कोरोना महामारीको दोस्रो लहरको प्रभावका कारण उसले तत्काल दिन नसकिने जनाएको छ ।
भारतले समयमै खोप उपलब्ध गराउन नसक्दा कोभ्याक्स सुविधाले सन् २०२१ भित्र वितरण गर्ने लक्ष्य लिइएको खोप दिन नसकिने जनाएको छ । भारतले दिने र अन्य देशले घोषणा गरे अनुसारको खोप तत्काल दिएको खण्डमा कोभ्याक्सले नेपाललाई पनि चाँडै नै खोप दिन सकिने जनाएको प्रवक्ता डा. पोखरेलले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।