कसले खोस्यो ओलम्पिकमा दौडने गोपीचन्द्र पार्कीको सपना ?
फरकधार / २० असार, २०७८

अघिल्लो हप्तासम्म जापानको टोकियोमा आयोजना हुने ओलम्पिकको पक्का दाबेदार मानिएका खेलाडी थिए, गोपीचन्द्र पार्की । ०६३ सालदेखि दौडमा भाग लिन थालेका उनको ओलम्पिकमा खेल्ने ठूलो सपना थियो । सपना यो वर्ष पूरा हुने विश्वास थियो, तर विश्वासको पुल भाँचियो ।  



सुदूरपश्चिमको डाँडाकाँडा र पखेरामा दौडँदा, खेलमै सुन्दर भविष्य कल्पे गोपीले । ओलम्पियन धावक वैकुण्ठ मानन्धरको रेकर्ड तोडेर नेपाली धावकको नाममा अर्को रेकर्ड राख्ने उनको सपना अधुरै रह्यो । असार १७ मा आएको एउटा खबरले उनको सपनाको पुल नजोडिने गरी भाँचिदियो ।  

आठौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता, १३औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका उनले ०७७ मंसिरमा आयोजना भएको छैटौँ नेपालगन्ज म्याराथन जितेपछि टोकियो ओलम्पिकको ढोका खुल्यो ।



सोहीअनुरुप दुई वर्षयता उनी ओलम्पिकको तयारीमा जुटेका थिए । तयारीलाई उनले सधैँ प्राथमिकता दिए, कहिल्यै थकाइ मारेनन् । कति जोर जुत्ता फाटे, कतिपटक लडे अनि कतिपटक आफैंँलाई हौसला दिएर फेरि उभिएर दौडन थाले ! यसको छुट्टै फेहरिस्त छ । तर, सपनाको डोरी हातबाट फुस्किएपछि अहिले उनी निकै पीडामा छन् ।



ओलम्पिक जान नपाउने खबरले चिन्ता

जब असार १७ मा ओलम्पिक जान नपाउने खबर आयो, उनले पहिला त विश्वास नै गर्न सकेनन् । सबै कुरा तयार पारेर टोकियो प्रस्थान गर्ने सामानको जोहो गरेर बसेका थिए । जाने दिन कुर्दै गर्दा अचानक टेक्निकल फल्ट भन्दै जान नपाउने कुरा बाहिर आयो । उनी भन्छन्, ‘यो खबर सुनेपछि जिउ सिरिंङ भएर आयो, होइन किजस्तो पनि लाग्यो । मेरो सबैथोक लुटिएको, टेकेको जमिन पनि भास्सिएको अनुभूति भयो ।’ उनले सोचेकै थिएनन्, यस्तो सुन्नुपर्ला भनेर । उनी त कोरोनाका विश्वव्यापी महामारीका बीच पनि तयारी नरोकी दौडको अभ्यासमा लागिरहेका थिए । भन्छन्, ‘कोरोना महामारीका कारण ०७६ साल चैत ११ गतेदेखिको लकडाउनमा पनि म दौडिरहेको थिएँ । आज आएर मेरो साटो कोही अरुलाई छनोट गरियो । मेरो भाग खोसियो ।’ 

उनले दौडका जुनसुकै विधामा पाए पनि ओलम्पिक खेल्छु भन्ने लक्ष्य लिएका थिए । जसलाई छानियो, त्यसप्रति उनको विमति छ । कुन आधारमा छानियो भन्नेमा नै उनी अन्योलमा छन् । उनी भन्छन्, ‘पदक नै जितेर आउँथे कि के थाहा, तर जान नै पाइनँ । मेरो जिन्दगीको एक मात्र लक्ष्य थियो– ओलम्पिक खेल्ने । भोलि मेरा सन्ततिले पनि मेरा बाबा ओलम्पियन हो भन्ने एउटा चिनारी राख्छु भन्ने थियो, तर अन्तिम समयमा आएर पाइनँ ।’ उनले यो पीडा शब्दमा व्यक्त गर्नै नसक्ने रहेको बताए । 

०७६ को मंसिरमा भएको सागको ५ किलोमिटर दौडमा गोपीचन्द्रले नेपाललाई स्वर्ण दिलाए । नेपालको नाममा एकपछि अर्को जित दिलाउँदै गए । उनलाई कसैले रोक्न सकेन । मिहिनेती उनी कहिल्यै रोकिएनन् । १५ वर्ष लामो धावकको यात्रा अविरल कायम राखे । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल एथ्लेटिक्स संघले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटको मान्यता दिएको थियो । उनले नेपालगन्ज म्याराथनमा स्वर्ण जितेपश्चात् एथ्लेटिक्सबाट युनिभर्सल कोटामा परे । उनलाई लाग्यो– उनको जिन्दगीको सबैभन्दा ठूलो सपना पूरा हुन अब कसैले रोक्न सक्दैन । 

राखेप, एनओसी तथा एथ्लेटिक्स संघले असार १६ मा निकालेको त्यो विज्ञप्तिले उनको सपनालाई च्यातिदियो । तीनवटा संस्थाले संयुक्त रुपमा निकालेको उक्त विज्ञप्तिमा टोकियो ओलम्पिकमा म्याराथनबाट धेरैको आवेदन परेकाले नेपालको धावकलाई स्थान दिन नसकिने बतायो । त्यसको सट्टा महिला सय मिटर दौडका लागि अर्को खेलाडी पठाउन प्रस्ताव आएकाले सरस्वती चौधरीको नाम सिफारिस गरियो । 

तीनवटै निकायले म्याराथनमा पुरुष धावक पठाउन नसक्ने जानकारी दिएका छन् । तर, यो निर्णयलाई गोपीले भने सहजै स्वीकार गर्न सकेका छैनन् । उनी भन्छन्, ‘यस्तो थियो भने मलाई पहिल्यै किन भनिएन ? टेक्निकल फल्टका कारण भनेर सुरुमा भनियो । ढिला नाम पठाएको भन्ने पनि आयो । अहिले कोटा नै नपाएको भनेर आएको छ । कसको गल्तीले यस्तो भयो थाहा छैन । तर, ममाथि धेरै ठूलो अन्याय भयो ।’

ऋण लिएर ओलम्पिकको तयारी 
 
ओलम्पिककै तयारी गर्न भनेर उनले पाँच लाख रुपैयाँ ऋण लिएका छन् । महिनाको पाँच हजार ब्याज मात्रै तिर्छन् । उनी भन्छन्, ‘ओलम्पिक खेल्छु भनेर ऋण लिएको थिएँ । अब कसरी तिर्ने ? ओलम्पिक खेलेर आएपछि केही आम्दानी होला र तिरौँला भनेर ऋण लिएको थिएँ ।’ उनलाई यो पीडा भुल्न निकै गाह्रो भएको छ । 

कोरोना महामारी र लकडाउनको बेला पनि एक दिन घरमा बसेनन्, उनी । उनका अनुसार म्याराथन लामो दूरीको दौड भएकाले दैनिक धेरै समय प्रशिक्षण आवश्यक पर्छ । उनी भन्छन्, ‘दशरथ रंगशालामा मात्र हरेक दिन ८० देखि ९० राउन्ड लगाउँथेँ । म राति १ बजे उठेर कुद्थेँ । बिहान ५ बजे ट्रेनिङ सकाउँथेँ ।’

उनले परिवारलाई समय दिन पाएनन् । ओलम्पिक तयारी गर्ने भनेर परिवारलाई प्राथमिकता दिएनन् । ओलम्पिक जान नपाउने खबरले उनका आमाबुवासमेत रोए । उनले भने, ‘अब त निकै गाह्रो भएको छ, बाहिर समाजमा अनुहार देखाउन पनि लाज लागेको छ ।’ 

झन् दह्रो भएर उभिने अठोट 

‘अहिले मौका नपाएर के भयो त, म झनै बलियो र दृढ भएर आफ्नो लक्ष्यमा लाग्नेछु,’ गोपीचन्द्र भन्छन् । ओलम्पिक खेल्ने खेलाडी भनेर जुन इज्जत मैले समाजमा कमाएको थिएँ, अहिले मान्छेले मलाई हेर्ने नजर नै बदलिएको छ । इज्जत कमाउन गाह्रो हुन्छ । म मेरा साथीहरुको पनि हिम्मत थिएँ । ओलम्पिकमा भाग लिन नपाउने खबरले सबै कुरा बिग्रिएको उनको भनाइ छ । 
 
‘आज मान्छेले मेरो दुई वर्षको मिहिनेतलाई नै प्रश्न गरिरहेका छन् । मेरा साथीहरु भन्छन्– ओलम्पिक जान त केही गर्नै नपर्ने रहेछ । यस्तो सुन्दा निकै नरमाइलो लाग्दो रहेछ ।’

उनीसँगै ट्रेनिङ गर्ने अन्य साथीहरु गोपीजस्ता खेलाडीले त ओलम्पिक जान नपाएपछि आफूले कसरी पाइएला भन्न थालेका छन् । खेलाडीलाई अपमान हुने यस्ता कुराले म्याराथनमा नयाँ पुस्ताको आकर्षण नै घट्न सक्ने गोपीचन्द्रको चिन्ता छ । 

३० वर्षे गोपीचन्द्र भन्छन्, ‘वैकुण्ठ गुरुले ३८ वर्षको उमेरमा कीर्तिमान बनाउनुभएको थियो । मेरो पनि उमेर छ, म पनि सक्छु भन्ने अझै आश छ ।’ यस वर्ष भाग लिन नपाए पनि अर्कोपटकको लागि समयमै सम्बद्ध निकायले पहल गरोस् भन्ने उनको माग छ । ‘म आफूलाई अझै पनि साबित गर्न चाहन्छु र सक्छु पनि,’ उनले भने ।

  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार २०:४१:४३,   अन्तिम अपडेट : असार २०, २०७८ आइतबार २०:४१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया