नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पश्चिम सुर्खेतका तीनवटा पालिका र स्वास्थ्य संस्थालाई १० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ बाट पराजित उम्मेदवार खड्काले क्षेत्र नं. २ अन्तर्गत पर्ने बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका साथै सालकोट प्राथमिक स्वास्थ्य केन्द्र सहित १६ स्वास्थ्य संस्थालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
अक्सिजन सिलिन्डर, माक्स, सेनिटाइजर, अक्सिजन फ्लोमिटर, पल्स अक्सिमिटर, अक्सिजन कन्सन्ट्रेटर लगायतका सामग्री उपलब्ध गराएका हुन् ।
‘कोरोनाका बेला पालिका र स्वास्थ्य संस्थामा आवश्यक स्वास्थ्य सामग्री नहुँदा बिरामी, तिनका आफन्त र स्वास्थ्यकर्मीले दुःख भोग्नु परेको मैले अनुभव गरेँ,’ पूर्व गृहमन्त्रीसमेत रहेका खड्काले भने, ‘आफै उपस्थित हुन नसके पनि प्रतिनिधिमार्फत् स्वास्थ्य सामग्री पालिका र स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको छु ।’
महामन्त्री खड्काले पञ्चपुरी नगरपालिकालाई ५ हजार पिस माक्स, सेनिटाइजर ५ हजार एमएल ६ जर्किन, ७२ किलोको जम्बो अक्सिजन सिलिन्डर ५ थान, अक्सिजन फ्लोमिटर ३ थान र पल्स अक्सिमिटर २ थान हस्तान्तरण गरे । यस्तै पञ्चपुरीमा रहेका ४ वटा स्वास्थ्य चौकीलाई १५ सय पिसका दरले माक्स, ५ हजार एमएलका दुई-दुई जर्किन सेनिटाइजर र एक-एक थान पल्स अक्सिमिटर हस्तान्तरण गरे ।
चौकुने गाउँपालिकालाई ५ हजार पिस माक्स, ५ हजार एमएलका चार जर्किन सेनिटाइजर, ७२ किलोको जम्बो अक्सिजन सिलिन्डर पाँच थान, अक्सिजन फ्लोमिटर ३ थान, पल्स अक्सिमिटर २ थान र पाँच लिटर अक्सिजन कन्सन्ट्रेटर १ थान हस्तान्तरण गरेका छन् । चौकुने गाउँपालिकामा रहेका पाँच स्वास्थ्य संस्थालाई १ हजार ५ सय पिसका दरले माक्स, ५ हजार एमएलका दुई-दुई जर्किन सेनिटाइजर र एक-एक थान पल्स अक्सिमिटर हस्तान्तरण गरिएको छ ।
बराहताल गाउँपालिकालाई ५ हजार पिस माक्स, ५ हजार एमएलका छ जर्किन सेनिटाइजर, ७२ किलोको जम्बो अक्सिजन सिलिन्डर पाँच थान, अक्सिजन फ्लोमिटर ३ थान, पल्स अक्सिमिटर २ थान र पाँच लिटर अक्सिजन कन्सन्ट्रेटर १ थान हस्तान्तरण गरिएको छ । बराहताल गाउँपालिकामा रहेका पाँच स्वास्थ्य संस्थालाई १ हजार ५ सय पिसका दरले माक्स, ५ हजार एमएलका दुई-दुई जर्किन सेनिटाइजर र एक-एक थान पल्स अक्सिमिटर हस्तान्तरण गरिएको हो ।
सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई २ हजार ५ सय पिस माक्स, ५ हजार एमएलका तीन जर्किन सेनिटाइजर, पल्स अक्सिमिटर २ थान र १० लिटर अक्सिजन कन्सन्ट्रेटर १ थान हस्तान्तरण गरिएको छ । यस्तै महामन्त्री खड्काको पहलमा चौधरी फाउन्डेसन र नेपाल चिकित्सक संघले एक-एक थान अक्स्जिन कन्सन्ट्रेटर पनि उपलब्ध गराएका छन् ।
स्वास्थ्य सामग्री ग्रहण गर्दै पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले संकटको बेला कांग्रेस महामन्त्रीबाट प्राप्त स्वास्थ्य सामग्रीले जनताको जीवन रक्षाका लागि महत्त्वपूर्ण काम गर्ने बताए । उनले चुनाव जितेका जनप्रतिनिधिले कोरोना संकटका बेला एक सिलिन्डर अक्सिजनसम्म उपलब्ध गराउन नसकेको बताउँदै चुनावमा पराजय भोगेका कांग्रेस महामन्त्रीबाट प्राप्त राहत सामग्रीको विशेष अर्थ रहेको बताए ।
बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्री किन्न पनि नपाइराखेका बेला कांग्रेस महामन्त्रीबाट निःशुल्क पाउँदा ठूलो राहतको महसुस भएको बताए । उनले संकटमा साथ दिनेलाई जनताले जहिल्यै सम्झने बताउँदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गरे । चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले कोरोना महामारीका बेला कांग्रेस महामन्त्री खड्काले निरन्तर चिन्ता र चासो व्यक्त गर्ने गरेको बताए ।
लगानी पूर्वाधार, रोजगार दृष्टिकोण एवम् दिगो परियोजना केन्द्रीय विशेष समितिका सदस्य एवम् महामन्त्री खड्काका प्रतिनिधि विष्णुबहादुर खड्काले पालिका र स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।