हराएकै दिन सुजिताले दिएकी थिइन् अपहरणको सूचना !
अनुसन्धानमा लापरबाही गरेको भन्दै स्थानीय आक्रोशित

दश दिनअघि बेपत्ता भएकी सुजिता भण्डारीको शव सडेको अवस्थामा जगंलमा भेटिएपछि आफन्त र स्थानीयबासी राजमार्गमा उत्रिएका छन्। 

चितवनको राप्ती नगरपालिका-३ की २३ वर्षीया सुजिताको शव सडेको अवस्थामा जंगलबीच भेटिएपछि स्थानीयबासी र आफन्तले आक्रोशित भएर प्रहरी, प्रशासनविरुद्ध प्रदर्शन गरेका हुन्।

सुजिताको शवलाई घटनास्थलबाट प्रहरीले पोस्टमार्टमका लागि अस्पताल लैजाँदै गर्दा स्थानीयबासी नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्गमा उत्रिएर अवरुद्ध गरेका छन्। 

सुजिता हराएको जानकारी दिँदा पनि प्रहरीले खोजीनीति नगरेको भन्दै स्थानीय आक्रोशित छन्। स्थानीयबासी प्रदर्शनमा उत्रिएपछि राप्ती नगरपालिका-३ स्थित राजमार्ग क्षेत्र तनाव भएको छ। त्यहाँ ट्रक तेर्स्याएर सडक अवरुद्ध गरिएपछि प्रहरी परिचालन गरिएको छ।

२३ वर्षीया सुजिता असार ११ गतेदेखि बेपत्ता थिइन्। उनी असार ११ गते बिहान ६ बजे साथीकहाँ जान भनेर हिँडेकी थिइन्। त्यही दिनदेखि उनी बेपत्ता थिइन्। तर उनले त्यही दिन मध्यान्ह १२ बजे फोनमार्फत  दिदीलाई आफू अपहरणमा परेको बताएकी थिइन् । परिवारका सदस्यले यो दाबी गर्दै आएका छन्। 

सुजिताको शव परिवारले पहिचान गरेको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताएका । सुजिताको अपहरण भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए । घरबाट निस्किएको ६ घण्टापछि सुजिताले दिदीलाई फोन गरेर आफू अपहरणमा परेको बताएकी थिइन्। 



तर सुजिता हराएको सूचना पाएर पनि प्रहरीले अनुसन्धानमा कुनै चासो नदिएको भन्दै परिवार र आफन्तले आक्रोश पोखेका छन्। 

सुजिताको शव च्याउ टिप्न गएका स्थानीयले जंगलको झाडीमा आइतबार साँझ देखेका थिए। त्यसपछि उनीहरूले त्यो सूचना प्रहरीलाई दिएका थिए। 



जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुजिताको शव सड्दै गरेको अवस्थामा भेटिएको छ । ज‌ंगलबीच एउटा झाडीमा अड्किएर रहेको अवस्थामा सुजिताको शव भेटिएको हो। 

के भन्छ प्रहरी?
सुजिता अपहरणमा परेको भन्दै निवेदन आएपछि प्रहरीले यसबारे अनुसन्धान गरेको थियो। जिल्ला प्रहरी कार्यालय चितवन र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पनि यसमा अनुसन्धान गरेको थियो। 

तर प्रहरीको अनुसन्धानका क्रममा सुजिताले दिएको भन्दा अन्य स्थानमा उनको मोबाइलको लोकेसन पाइएपछि फरक अनुमान गरिएको थियो। मोबाइल लोकेशन फरक परेपछि प्रहरीले अपहरण नभएको हुन सक्ने निचोड निकालेको थियो। सुजिताले अपहरणको सूचना दिए पनि कसैले पनि फिरौती या अन्य माग नगरेकाले प्रहरी अलमलमा परेको थियो। 

सुजिता हराएपछि प्रहरीले उनले प्रयोग गर्ने मोबाइलको कल विवरण, म्यासेज विवरण र फेसबुक म्यासेन्जरबारे पनि अध्ययन गर्दा ठोस प्रमाण नभेटेको एक अधिकारीले बताए। प्रहरीले पनि अपहरण नभएको अनुमान गरेका बेला अचानक शव भेटिएपछि तनाव बढेको छ। 

प्रहरी उपरीक्षक अधिकारीले शव भेटिएको ठाउँलाई घटनास्थल मान्न नसकिने बताएका छन्। उनले शवलाई बाढीले बगाएर ल्याएपछि झाडीमा अल्झिएको हुन सक्ने तर्क गरे। उनले शवको पोस्टमार्टमपछि थप कुरा खुल्न सक्ने बताए । सुजिताको शव पोस्टमार्टमका लागि आज अस्पताल लगिएको छ।

  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार ११:४३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया