कोपा अमेरिका : सेमिफाइनल पुग्ने ४ टोलीको यस्तो छ इतिहास

विश्वकै सबैभन्दा पुरानो मध्येको एक र दक्षिण अमेरिकी फुटबलको ठूलो प्रतियोगिता कोपा अमेरिका यति बेला ब्राजिलमा सञ्चालन भइरहेको छ ।

सन् १९१६ बाट सुरु भएको प्रतियोगिताको ४७ औँ संस्करणको सेमिफाइनल समीकरण पुरा भएका छन् । यसपटकको कोपा अमेरिकामा आयोजक ब्राजिल, अर्जेन्टिना, पेरु र कोलम्बियाले सेमिफाइनलमा स्थान बनाएका छन् । 

सेमिफाइनल मंगलबार र वुधबार हुनेछ । मंगलबार हुने पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुको सामना गर्दा दोस्रो सेमिफाइनलमा बुधबार अर्जेन्टिना र कोलम्बिया आमने-सामने हुनेछन् ।
 
यस्तो छ सेमिफाइनल प्रवेश गर्ने ४ टोलीको कोपा अमेरिकामा इतिहास

ब्राजिल 

आयोजक ब्राजिल यो प्रतियोगिताको साविक विजेता पनि हो । ब्राजिलले जारी प्रतियोगितामा पराजय व्यहोर्नु परेको छैन । ब्राजिलले समूह चरणमा ३ जित र १ बराबरीको नतिजा निकाल्दै १० अंकका साथ समूह ‘बी’ को विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो । 

ब्राजिलले क्वाटरफाइनलमा चिलीको चुनौतीलाई पार गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍याे ।



ब्राजिलले अहिलेसम्म ९ पटक कोपा अमेरिकाको उपाधि हात परेको छ । ब्राजिलले पहिलोपटक सन् १९१९ र पछिल्लो पटक सन् २०१९ (अघिल्लो संस्करण) को उपाधि हात पारेको थियो ।

ब्राजिल ११ पटक उपविजेता बन्दा ७ पटक तेस्रो स्थान र ३ पटक चौथो स्थानमा रहेको छ । 



ब्राजिलले घरेलु मैदानमा भएको कोपा अमेरिका उपाधि अन्यत्र जान दिएको छैन । ब्राजिलले सन् १९१९, १९२२, १९४९, १९८९ र २०१९ मा प्रतियोगिता आयोजना गर्दा उपाधि घरमै राखेको थियो ।
 
अर्जेन्टिना

अर्जेन्टिना पनि जारी कोपा अमेरिकामा अपराजित छ । अर्जेन्टिना समूह चरणमा ३ जित र १ बराबरीको नतिजा निकाल्दै १० अंकका साथ समूह ‘ए’ को विजेताका रूपमा क्वाटरफाइनलमा स्थान पक्का गर्‍याे ।

अर्जेन्टिनाले इक्वेडरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । अर्जेन्टिनाले हालसम्म १४ पटक उपाधि हात पारेको छ । 

अर्जेन्टिना उरुग्वे (१५) पछि सर्वाधिक कोपा अमेरिका उपाधि हात पर्ने टोली पनि हो । अर्जेन्टिनाले पहिलोपटक  १९२१ र अन्तिमपटक सन् १९९३ मा प्रतियोगिताको उपाधि हात पारेको थियो । 

१४ पटक उपविजेता बनेको अर्जेन्टिना  ५ पटक तेस्रो र २ पटक चौथो स्थानमा रहेको थियो । 

पेरु

समूह चरणमा २ जित समान १-१ हार र बराबरीको नतिजा निलेको पेरु ७ अंकका साथ समूह ‘बी’ को उप विजेताका रूपमा क्वाटरफाइनल प्रवेश गरेको हो । 
पेरुले क्वाटरफाइनलमा पाराग्वेको चुनौतीलाई  पेनाल्टी सुट आउटमा पन्छाउँदै सेमिफाइनलको  यात्रा तय गर्‍याे। 

साविक उपविजेता पेरुले हालसम्म २ पटक कोपा अमेरिकाको उपाधि उचालेको छ ।
पेरुले सन् १९३९ र १९७५ मा कोपा अमेरिकाको उपाधि हात पारेको थियो । १ पटक उप विजेता बनेको पेरु ८ पटक तेस्रो र ५ पटक चौथो स्थानमा रहेको छ ।

कोलम्बिया 

कोलम्बियाले समूह चरणमा समान १-१ जित र २ हारको नतिजा निकाल्दै ४ अंकका साथ समूह ‘बी’ को तेस्रो स्थानमा रहेर क्वाटरफाइनलमा स्थान पक्का गरेको हो

कोलम्बियाले क्वाटरफाइनलमा उपाधि दाबेदार मानिएको उरुग्वेलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । 

कोलम्बियाले अहिलेसम्म १ पटक मात्र कोपा अमेरिकाको उपाधि उचालेको छ । कोलम्बिया सन् २००१ मा विजेता बनेको थियो । काेलम्बिया १ पटक उपविजेता बन्दा ४ पटक तेस्रो र २ पटक चौथो स्थानमा रहेको छ । 


 

  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार १४:५८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया