दीर्गनारायण पाण्डेको पहिलो सम्बोधन : राष्ट्रियसभा एकजुट हुने कि नहुने ?

राष्ट्रियसभा सदस्य दीर्गनारायण पाण्डेले अहिलेको समसामयिक जटिलताबाट निकास निकाल्नका लागि सबै सांसदहरु एकजुट हुनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै पाण्डेले सदन एकमतका साथ अगाडि बढ्नुपर्ने बताए । 

राष्ट्रियसभाको उपनिर्वाचनमा लुम्बिनी प्रदेशबाट निर्वाचित पाण्डेले प्रतिनिधिसभा विघटन भएर सदन एउटै रहेको समयमा सांसदहरु एकमत हुनुपर्नेमा जोड दिएका हुन् । 

पाण्डेले अहिलेका विविध विषयमा राष्ट्रियसभामा सत्तापक्ष र प्रतिपक्ष नभई सबै एकमत भएर सरकारलाई आवश्यक निर्देशन दिनुपर्ने बताए । उनले अहिले देशमा संविधान र प्रणाली माथिनै प्रहार सुरु भएको बताए । 

पाण्डेले राष्ट्रियसभा सदस्यहरुलाई प्रश्न गरे, ‘हामी राष्ट्रिय एकताबाट अघि बढ्ने कि नबढ्ने ?’ उनको थप प्रश्न थियो, ‘हामी राष्ट्रिय सहमतिबाट अघि बढ्ने कि नबढ्ने ?’

अहिले विभिन्न माध्यमबाट विभिन्न व्यक्तिहरुले संघीयताको विरोधमा बोल्न सुरु गरेको पनि पाण्डेले बताए । उनले त्यसको विरोधमा लाग्नुपर्ने भन्दै प्रश्न गरे, ‘संघीयताको विरोधमा उठेका आवाज बन्द गर्न राष्ट्रियसभा एक हुने कि नहुने ?’

पाण्डेले अहिले प्रजातन्त्र र संघीयता तथा लोकतन्त्रमाथि सरकारबाटै हमला भइरहेकोमा पनि आशंका व्यक्त गरे । उनले भने, ‘प्रजातन्त्र र संघीयता तथा लोकतन्त्रमाथि कतै सरकारबाटै त हमला भइरहेको छैन ?’



पाण्डेले अहिले सबैभन्दा मुख्य काम भनेको राष्ट्रियसभा एकमत भएर संविधान र राजनीतिक उपलब्धीहरुको रक्षार्थ उभिनु रहेको बताए । उनले भने, ‘हामी एकजुट हुनुपर्छ र एकमतका साथ सरकारलाई निर्देशन दिनुपर्छ ।’



  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार १५:३७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया