वीरेन्द्रनगर रंगशालालाई प्रदेश गौरवको आयोजनाको रुपमा निर्माण गरिने
वीरेन्द्रनगरस्थित जीर्ण अवस्थामा रहेको रंगशाला, जसलाई प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाको रुपमा घोषणा गरेको छ । तस्बिर : वसन्त भण्डारी/फरकधार ।

कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरस्थित निर्माणाधिन रंगशालालाई प्रदेश गौरवको आयोजनाको रुपमा निर्माण गर्ने भएको छ । खेल पूर्वाधार शून्य रहेको कर्णाली प्रदेश सरकारले कर्णालीलाई खेलकुदबाट पनि अघि बढाउने लक्ष्य लिएको छ । कर्णाली प्रदेश सरकारको असार १६ गतेको मन्त्रिपरिषद्को बैठकले रंगशालालाई प्रदेश गौरवको आयोजनाको रुपमा घोषणा गरेको छ । 

प्रादेशिक रंगशाला निर्माण गरेर दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने प्रदेश सरकारको लक्ष्य छ । आवश्यक पूर्वाधार नहुँदा कर्णालीमा हालसम्म कुनै पनि राष्ट्रिय स्तरका प्रतियोगिता हुन सकेका छैनन् । दुई वर्षअघिदेखि नै कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको छ ।

 आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने गरी प्राथमिकता दिएको छ । यसका लागि प्रदेश सरकारले आवश्यक पूर्वाधार निर्माण गर्न भन्दै आगामी आर्थिक वर्षका लागि ५९ करोड बजेट विनियोजन गरेको छ ।

बजेटमा खेलकुद क्षेत्रले प्राथमिकता पाए पनि कार्यान्वयन हुनेमा आशंका छ । सरकारको बेवास्ताका कारण नै चालू आर्थिक वर्षमा बजेट हुँदाहुँदै खेलकुदका पूर्वाधार निर्माण हुन सकेनन् । चालू आर्थिक वर्षमा प्रदेश सरकारले खेलकुदका लागि कुल १५ करोड ४० लाख बजेट छुट्याएको थियो । तर, उक्त बजेट कार्यान्वयन नहुँदा आगामी वर्षको बजेट कार्यान्वयन हुनेमा पनि खेलाडीले आशंका गरेका छन् । आर्थिक वर्ष २०७५–०७६, आव २०७६–०७७ मा पनि कर्णालीमा खेलकुद पूर्वाधारको क्षेत्रमा बजेट कार्यान्वयन शून्य रह्यो । 

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिलामन्त्री सीताकुमारी नेपालीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै वीरेन्द्रनगरस्थित रंगशालालाई प्रादेशिक रंगशालाको रुपमा विकास गर्ने बताइन् । 

प्रदेश सरकार अब पूर्ण रुपमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा लागेको सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढा क्षत्रीले बताए । हालसम्म भएका काम कारबाहीको समीक्षा गरेर नयाँ तरिकाले खेलकुद पूर्वाधार निर्माणलाई अघि बढाउने उनको भनाइ छ । 





  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार १६:३२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया