निर्वाचन आयोगमा सहमति नजुटे औपचारिक रुपमा विभाजित हुँदै जसपा

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षसँग आज छलफल गर्दैछ। उनीहरूलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ४ बमोजिम छलफलका लागि बोलाइएको हो।

दुवै पक्षबीच छलफलका लागि आयोगले बिहान ११ बजे बोलाएको थियो। आयोगले छलफलका लागि प्रथम अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई बोलाएको हो। राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार दुवै पक्षलाई सहमतिका लागि बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन्। 

आयोगले बोलाएपछि अध्यक्ष ठाकुरसहित लक्ष्मणलाल कर्ण, सुरेन्द्र झा र केशव झासहित दुईजना कानुन व्यवसायी पनि कान्तिपथ पुगेका छन्। उता यादवसहित, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव र प्रकाश अधिकारी आयोग पुगेका छन्। 

जसपा अध्यक्ष यादव र ठाकुर दुवै पक्षले एकअर्कालाई कारबाही गरेपछि पार्टी फुटनजिक पुगेको छ। यी दुई पक्षबीच आजको छलफलबाट पनि सहमति नजुटे आयोगले दल विभाजनसम्बन्धी कानुन अनुसार प्रक्रिया अघि बढाउनेछ।

५१ सदस्यीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षरसहित ठाकुरसहितका नेतालाई कारबाही गरेको पत्र यादवले आयोगमा बुझाएका थिए । तर, ठाकुरले पहिलो वरियताका अध्यक्षलाई कार्यकारिणी सदस्य थप गर्ने अधिकार पार्टी विधानले प्रदान गरेको भन्दै २० सदस्य थप गरेर पठाएका थिए। तर दुवै पक्षलाई आयोगले मान्यता दिएको थिएन।

एकअर्कालाई कारबाहीको पत्र पठाएपछि आयोगले दुवै मान्यता दिन अस्वीकार गरेको थियो। जसपा विवादको मूल जड एमाले, माओवादी र कांग्रेस हुन्। ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओली सघाएको छ। यादव पक्षले कांग्रेस-माओवादीलाई साथ दिएको छ। 



आयोगले दुवै पक्षबीच सहमति नभएमा दलसम्बन्धी विवाद निरुपणको प्रक्रियामा जाने तयारी गरेको छ। त्यसले जसपा कानुनी रुपमै विभाजित हुनेछ।

तत्कालीन संघीय समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टी मिलेर दुई वर्षअघि जसपा बनेको थियो। जेठ ८ मा भएको प्रतिनिधिसभा विघटनपछि पनि ठाकुर पक्षले ओलीलाई साथ दिएको छ। यादव पक्ष कांग्रेस-माओवादीसहित विपक्षी मोर्चामा उभिएको छ।



यादव पक्षसँगको विवाद मिल्ने सम्भावना नरहेपछि अध्यक्ष ठाकुरले अब पुरानै बाटोमा हिँड्ने बताएका थिए। त्यो भनेको नेकपामा जस्तै साविककै राजपा र संघीय समाजवादीको यात्रा हो। 

यदि पुरानै पार्टी ब्यूँतिएमा यादव पक्षले घाटा खानुपर्ने छ। विमल श्रीवास्तवसहितका कयौँ नेताहरु अहिले ठाकुर पक्षमा लागेका छन्। साविककै दलको यात्रामा जाँदा ठाकुरले यादव पक्षका केही नेतालाई आफ्नो पक्षमा ल्याएर तराई-मधेसको पकड बलियो बनाउने सम्भावना छ। 

  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार १२:३९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया