आज मंगलबारदेखि सार्वजनिक यातायात र अन्य सार्वजनिक क्रियाकलापमा निषेधाज्ञा हटेसँगै कोरोनाको तेस्रो लहरको खतरा बढेको आशंका जनस्वास्थ्यविद्हरू गर्न थालेका छन् । कोरोनाको दोस्रो लहरमा डेढ महिना लामो निषेधाज्ञा जारी गरिएको थियो । दुई सातायता विभिन्न चरणमा निषेधाज्ञा खुलाइएको हो ।
नजिकिँदै गएको चाडपर्व र नघटेको संक्रमणदरले तेस्रो लहरको खतरा बढाइदिएको छ । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, ‘तेस्रो लहरको निकै नजिक छौं हामी, तीजदेखि नयाँ लहर सुरु हुने प्रवल सम्भावना छ ।’ निषेधाज्ञा केही खुकुलो हुनेबित्तिकै चहलपहल बढेका कारण संक्रमण वृद्धि हुने खतरा देखिएको उनी बताउँछन् ।
संक्रमण नियन्त्रणका लागि जति सरकार तथा सम्बन्धित पक्ष जिम्मेवार छ, त्यति नै हरेक व्यक्ति पनि सचेत हुनुपर्ने मरासिनी बताउँछन् । उनका अनुसार लकडाउन समस्याको समाधान होइन, तर संक्रमण नियन्त्रणका लागि प्रभावकारी माध्यम तथा व्यवस्थापन गर्न त्यो आवश्यक छ ।
तेस्रो लहरको खतरा निकै नजिक आइसकेको अर्का जनस्वास्थ्यविद् डा. शरद वन्त बताउँछन् । ‘पहिलो र दोस्रो लहरबाट धेरै नै पाठ सिकिसकेका छौं । केही नीतिगत हिसाबमा सुधारका साथै कार्यान्वयनको पाटोलाई पनि अझ सुदृढ बनाउन सके संक्रमण नियन्त्रणमा ठूलो सहयोग हुने छ,’ डा. वन्त भन्छन् । संक्रमणको खतरा टरिनसकेकाले परीक्षणको दायरा बढाउनुपर्ने जनस्वास्थ्यविद्हरूको सुझाव छ ।
डा. वन्त थप्छन्, ‘पहिलो र दोस्रो लहरबाट पाठ सिकौँ । जसरी पनि परीक्षणको दायरा नघटाऔं ।’ ‘कन्ट्र्याक्ट ट्रेसिङ’ मा बढी ध्यान दिनु जरुरी रहेको उनको भनाइ छ । ‘संंक्रमितको सम्पर्कमा आउने हरेक व्यक्तिको परीक्षण गरिनु आवश्यक छ,’ उनी भन्छन् । दोस्रो लहरको खतरा अन्त्य नभएको र सम्भावित तेस्रो लहरका कारण निषेधाज्ञा हटाइहाल्न सरकारले अलि हतार गरेको जनस्वास्थ्यविद्हरूको भनाइ छ ।
खतरनाक सार्वजनिक सवारी साधन
डा. मरासिनी भन्छन्, ‘संक्रमण फैलिने माध्यम नै सार्वजनिक स्थल र सार्वजनिक सवारी हो ।’ सार्वजनिक सवारी साधनमा जनस्वास्थ्य मापदण्ड पालना गर्ने र भीडभाड नगर्ने हो भने खासै फरक नपर्ने उनी बताउँछन् । तर नेपालको सार्वजनिक यातायातको अवस्था र परिचालन विश्वसनीय नरहेको उनको भनाइ छ । ‘मान्छे घरभित्र रहँदा कोरोना घरभित्रै रहेको थियो र अहिले मान्छेसँगै कोरोना पनि बाहिर निस्कियो,’ उनले भने ।
सार्वजनिक यातायात तथा अन्य सार्वजनिक सेवाहरूमा पीसीआर रिपोर्ट हेर्ने वा खोपको पूरा मात्रा लगाएकालाई मात्र प्रवेश दिन सके अवस्था भयावह नहुने डा. मरासिनी बताउँछन् । आवतजावतको बेला सबैभन्दा बढी मानिस चलायमान हुने भएकाले यस्ता विषयमा सरकार तथा आमनागरिक सचेत रहन सके कोरोनाको सम्भावित अर्को लहरलाई नियन्त्रण गर्न सहज हुने डा. वन्तको भनाइ छ ।
‘संक्रमण पहिले सहरमा थियो, अहिले गाउँगाउँमा फैलन थालेकोले थप चिन्ता बढेको छ,’ डा. मरासिनी भन्छन्, ‘पहिलो र दोस्रो लहरको आरम्भमा भारतसँग सिमाना जोडिएका तथा सहरी इलाकामा संक्रमण बढी फैलिएको थियो । तर दोस्रो लहरको केही समयपश्चात् संक्रमण गाउँगाउँमा फैलिन थालेको छ ।’ स्वास्थ्य मन्त्रालयले गाउँगाउँमा एन्टिजेन किट पठाई परीक्षण वृद्धि गरिरहेको बताए पनि गाउँगाउँमा संक्रमण बढिरहेको छ ।
डा. वन्त भन्छन् ‘परीक्षण कम भएर संक्रमितको पहिचानमा समस्या हुन थालेको छ । जसका कारण फेरि अर्को लहरमा अहिलेको भन्दा खतरा नआउला भन्न सकिँदैन ।’ डा. वन्तको भनाइमा सहमत छन् डा. मरासिनी । उनका अनुसार, अब अर्को लहरमा कहिले ‘ब्रेक’ लाग्ने हो यसै भन्न नसकिने उनी बताउँछन् ।
निषेधाज्ञा खुलेसँगै बढ्यो संक्रमितको संख्या
पछिल्लो दुई सातामा विभिन्न चरण गरी निषेधाज्ञा खुकुलो पारियो । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमितको संख्यामा पनि वृद्धि हुन थालेको छ ।
पछिल्लो १० दिनको आकँडाले विस्तारै संक्रमितको संख्या बढ्न थालेको देखिन्छ । असार २० गतेको आँकडामा परीक्षणको संख्या ११ हजार ५ सय २७ रहेको थियो भने संक्रमित २ हजार ६ सय २२ थिए । असार १९ मा १० हजार १ सय ३३ जनामा परीक्षण हुँदा २ हजार ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको देखिन्छ ।
यो क्रम यसरी नै बढ्दै गए पुनः लकडाउनको स्थिति सिर्जना हुन सक्ने चिकित्सकहरू बताउँछन् । संक्रमण फैलिएमा पुनः सामाजिक क्रियाकलापमा रोक लगाउनु पर्ने अवस्था आउने उनीहरूले चेतावनी दिएका छन् । तर यो अवस्था कतिबेला अथवा कति लामो तन्किन्छ भनेर यकिन गर्न कठिन हुने डा. मरासिनीको भनाइ छ । कतिपय राष्ट्रले नेपालमा आवतजावत नै बन्द गर्ने स्थिति आउनुले नकारात्मक सन्देश प्रवाह गरेको टिप्पणी गर्छन् डा. मरासिनी ।
उनी भन्छन्, ‘कोरोना संक्रमण कुनै बर्खा या हिउँदमा आउने होइन, यसले बाह्रै महिना उत्तिकै प्रभाव देखाउँछ ।’ अहिले बाढी–पहिरो र विभिन्न समस्या झेलिरहेको नेपालले फेरि तेस्रो लहरलाई व्यहोर्नु पर्यो भने अवस्था भयावह बन्ने उनी बताउँछन् ।
जनस्वास्थ्यविद् तथा चिकित्सकहरूको रायअनुसार संक्रमण नियन्त्रणमा सरकार अघि बढ्नुपर्ने सम्बद्ध चिकित्सकहरू बताउँछन् । ‘संक्रमण न्यूनीकरणका लागि सम्बद्ध विषयका ज्ञातासँग सरकारले निरन्तर छलफल गर्नुपर्छ,’ उनीहरू भन्छन् । तेस्रो लहर रोकथामका लागि अब पहल नगरे ढिला हुने उनीहरू बताउँछन् । डा. वन्त भन्छन्, ‘अब नगरे ढिला हुन्छ । नीति बनाउने तथा कार्यान्वयनको पक्षमा पनि ध्यान दिए जोखिम नियन्त्रयणमा सहज हुनेछ ।’
कोरोना नियन्त्रणको प्रमुख उपाय भनेको भ्याक्सिन नै हो । सरकारले अहिले जुन ढंगमा भ्याक्सिन ल्याउन पहल गरिरहेको छ, त्यस्तो सक्रियता केही महिनाअघि नै गरेको भए संक्रमण नियन्त्रण सहज हुने जनस्वास्थ्यविद्हरू बताउँछन् । मास्कको अनिवार्य प्रयोगका साथै सार्वजनिक स्थलमा जाँदा जनस्वास्थ्य मापदण्ड पालना गर्न विज्ञहरूले जोड दिएका छन् ।
अध्यागमन विभागले पनि आफ्नो तर्फबाट संक्रमण नियन्त्रणमा ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् । नेपाल भित्रिँदा होस् या बाहिरिँदा पिसिआर परीक्षण अनिवार्य गराउनुपर्ने र त्यसको रिपोर्ट हेरेर मात्र आवत–जावत गर्न पाउने व्यवस्था मिलाउनुपर्ने विज्ञहरूको भनाइ छ । त्यतिमात्र होइन, नेपालकै विभिन्न क्षेत्रमा जाँदा पनि पिसिआर परीक्षण अनिवार्य गर्न सक्दा संक्रमण नियन्त्रण सहज हुने उनीहरू बताउँछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।