सीमा क्षेत्रमा सशस्त्रको बिओपी : नागरिकलाई राहत, प्रहरीको बिजोग
सीमाको रक्षा गर्न खोज्दा भारतीयबाटै आक्रमण

(कैलालीबाट कैलाश जोशी र सुर्खेतबाट वसन्त भण्डारीको सहयोगमा)

असाेज २०७७ भन्दा अगाडि दार्चुलाको ब्यास क्षेत्रका बासिन्दाले नेपाली सुरक्षाकर्मी देखेका थिएनन्। घर नजिकैको क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानको गतिविधिमाथि उनीहरूको नजर परिरहन्थ्यो। उनीहरूलाई लाग्थ्यो,– हाम्रो घर वरपर पनि नेपाली सुरक्षाकर्मी भए हुन्थ्यो। 

लामो समयको प्रयासपछि गत असोजमा छाङरुमा सशस्त्र प्रहरी बलको उपस्थिति भयो। भारतले सीमा मिच्दा वा नेपालतर्फ आएर दुःख दिँदा पनि केही बोल्न नसक्ने त्यो क्षेत्रका बासिन्दालाई अचेल भने केही राहत मिलेको छ। 

त्यस क्षेत्रमा हुने चोरी, डकैती, वन्यजन्तुको तस्करी जस्ता समस्या अहिले कम हुँदै गएको छ। छाङरुमा डीएसपीको कमाण्डमा सशस्त्र प्रहरी बलको टोली बसेको छ। त्यही टोलीले त्यस क्षेत्रको सीमा सुरक्षा देखि लिएर स्थानीयलाई समेत सुरक्षाको प्रत्याभूति गराउँदै आएको छ। 

दार्चुलाको दत्तु, लाली, जौलजिवी र ब्यासमा बर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको सशस्त्र प्रहरी बल हेडक्वार्टर ४४ नम्बर गणका गणपति नरेन्द्र बमले जानकारी दिए। चीनसँगको सीमा नाका रहेको क्षेत्रमा पनि बिओपीका लागि भवन निर्माणको काम भइरहेको छ। 



चिनियाँ सीमा नाकासम्म हेर्नका लागि अहिले तिंकर नजिकै भवन निर्माण काम भइरहेको गणपति बमले बताए। ‘अहिले छाङरुमा गुल्म बसेको छ। त्यो भन्दा माथि तिंकरमा नयाँ बिओपी थपिँदैछ’ गणपति बमले भने, ‘भवन निर्माणको काम भइरहेको छ। २०/२५ दिनमा तयार हुन्छ। भवन बनेसँगै सशस्त्र प्रहरी बस्छ।’ 



दार्चुलामा ४ वटा बिओपी र एक गुल्म स्थापना भएका छन्। लाली, दुम्लिङ, जोलजिवी, दत्तुमा बिओपी स्थापना भएका छन्। तिंकरमा पनि बिओपी राख्ने काम अघि बढेको छ भने त्यो भन्दा माथि माथिल्लो वा तल्लो कौवा क्षेत्रमा बिओपी स्थापना गर्ने तयारी छ। 

सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बैतडी र डडेल्धुरामा बिओपी स्थापना भइसकेको छ।

कर्णाली प्रदेशमा चीनसँग सीमा जोडिएको क्षेत्रमा एउटा मात्र हिल्सा नाका छ। त्यो नाकामा सशस्त्र प्रहरीको बिओपी त बसेको छ। तर गर्मीमा मात्र माथि बिओपीमा सशस्त्र प्रहरी बस्छ। 

हिउँदमा अत्याधिक हिँउ पर्ने र चिसो हुने भएपछि त्यो क्षेत्रमा न स्थानीय बासिन्दा बस्न सक्छन्, न सशस्त्र प्रहरी। चिसो बढेसँगै सबै तल सदरमुकामतिर झर्छन्। 
हुम्ला सदरमुकामबाट हिल्सा पुग्न हिँडेर तीन दिन समय लाग्छ। 

चोरीका घटना कम

कैलालीको धनगढी उपमहानगरपालिका–१० जुगेडाका राममिलन रानाको आँगनमा राखिएको पानी तान्ने मोटर चोरियो। गोठमा बाँधेका खसी/बोका पनि हराउँथे।

बेलुका गोठमा बाँधेका खसी बोका बिहान हुँदैनथे। यो समस्या एक दिन, दुई दिन होइन्, वर्षौदेखि थियो। चोरको बिगबिगीका कारण स्थानीयहरु घरमा सामान जोड्न हिचकिचाउँथे।  तर, अहिले भने त्यो अवस्था छैन्।  त्यसको कारण हो– जुगेडामा स्थापना भएको सशस्त्र प्रहरी बलको बिओपी। 

सशस्त्रको बिओपी स्थापना भएपछि गाउँमा हुने चोरी, तस्करीमा कमी आएको राममिलनको भनाइ छ। ‘घरको आँगनमा राखिएको पानीको मोटर, गोठमा बाँधेका खसी पनि बाँकी रहँदैन थे’ उनले भने, ‘अहिले त्यस्तो छैन। धेरै सहज भएको छ।’ 

सीमा नाकामा हुने चोरी, निकासीमा पनि कमी आएको उनले बताए। गत वर्षको कात्तिकमा तस्करहरूको आक्रमणमा परी सुरक्षामा खटिएका असई सहित २ प्रहरीको हत्या भएको थियो।  त्यसपछि प्रहरी थप सर्तक भएको छ। 

सीमा क्षेत्रका बिओपीका कारण सुरक्षित महसुस गरिरहेको स्थानीय रतुवा राना बताउँछिन्। ‘सुरक्षा पोष्टले गर्दा स्थानीयलाई राहत भएको छ’, उनले भनिन्, ‘चोरी, डकैतीका घटनामा पनि कमी आएको छ।’ 

भारतीय एसएसीको ज्यादती पनि घटेको स्थानीयको भनाइ छ। ‘सीमानाकामा एसएसबीले आवतजावत नै गर्न दिँदैन थे। अहिले शान्ति पाइरहेका छौं’ स्थानीय जयलाल बुढाले सुनाए।

चोरीका घटना बढ्न थालेपछि रातभर जाग्राम बस्नुपर्ने बाध्यता थियो। कतिबेला एसएसबी आएर अस्मिता नै लुटेर जाने हो कि भन्ने चिन्ता स्थानीय महिलाहरुलाई थियो। अहिले सशस्त्र प्रहरीकै कारण स्थानीयहरू ढुक्कले सुत्न पाएका छन्।

कैलालीको भजनी क्षेत्रमा पनि सशस्त्र प्रहरीको अस्थायी बिओपी स्थापना भएसँगै नागरिकले शान्ति सुरक्षा, अमनचयन महसुस गरिरहेका छन्। सशस्त्रको उपस्थितिले सीमामा हुने गलत क्रियाकलाप पूर्ण रुपमा बन्द नभए पनि न्यूनीकरण भएको धनगढी उपमहानगरपालिक–१० का अध्यक्ष राजेन्द्र राना बताउँछन्। ‘पहिले प्रहरीमा चोरी, लुटपाका उजुरी धेरै पर्थे’ उनले भने, ‘अहिले कमी आएको छ।’
नेपालमा चोरी गरेर भारततिर लुक्न जाने गरेका थिए। अहिले त्यस्ता घटनामा कमी आएको वडाअध्यक्ष रानाले जानकारी एि। भजनी नगरपालिकामा ३ वटा बिओपी राखिएको छ। यसअघि एउटा मात्र थियो। अहिले कैलाली भर १६ स्थानमा बिओपी छन्। 


 सीमाको सुरक्षार्थ अहिले देशभर सशस्त्र प्रहरीको २२४ स्थानमा बिओपी छन्। कोरोना महामारीपछि मात्रै १२० ठाउँमा बिओपी स्थापना भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्यालले जानकारी दिए।

यो आर्थिक वर्षसम्ममा २२१ पुर्याउने लक्ष्य थियो। तर २२४ बिओपी स्थापना भएको प्रवक्ता अर्यालको भनाइ छ। सरकारले अबको दुई वर्षमा ५०० ठाउँमा बिओपी थप गर्ने लक्ष्य लिएको उनले बताए।

भारत, चीन दुवैतर्फको सीमामा बिओपी बढाउने काम अगाडि बढिरहेको प्रवक्ता अर्यालले जानकारी दिए। ‘सीमा क्षेत्रका बासिन्दाबाट एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ। हामीले पनि सीमामा हुने आपराधिक गतिविधि नियन्त्रणमा ध्यान केन्द्रीत गरिरहेका छौं’ प्रवक्ता अर्यालले भने। 

नेपालको तीनतिर भारतसँग १,८८० किलोमिटर खुला सीमा छ। उत्तरमा चीनसँग १,४१४ किलोमिटर सीमा जोडिएको छ। करिब ३७ हजार जनशक्ति रहेको सशस्त्र प्रहरी बलले करिब सात हजार सुरक्षाकर्मी सीमा सुरक्षामा खटाएको छ। 

सरकारले थप जनशक्ति र आवश्यक बजेटको व्यवस्था गरेको खण्डमा थप क्षेत्रमा पनि बिओपी राख्न सकिने प्रवक्ता अर्यालले बताए। त्यसका लागि सरकारले गृहकार्य गरिरहेको छ। 

ठूला नाकामा ५० जना र साना नाकामा बढीमा ३५ जनाका दरले सशस्त्र प्रहरी खटाइएको छ। सीमा नाकामा कतै घर भाडामा लिएर त कतै सरकारी जग्गामा भवन बनाएर बिओपी राखिएको प्रवक्ता अर्यालले जानकारी दिए। 

कोरोना महामारीका बेला बिओपीमा रहेका सशस्त्र प्रहरीलाई थप जिम्मेवारी दिइएको छ। पारीबाट नेपाल भित्रिन खोज्नेलाई रोक्ने र निगरानी राख्ने काम सशस्त्रले गर्दै आएको छ। 

सीमा क्षेत्रमा सशस्त्रको उपस्थितिले नागरिकले सुरक्षाको प्रत्याभूति गरेको र साथै सीमा सुरक्षा समेत भइरहेको प्रवक्ता अर्यालको भनाइ छ। 

सशस्त्र प्रहरी नै आक्रमणको शिकार

सरकारले राम्रो तयारीबिनै सशस्त्र प्रहरीलाई सीमा सुरक्षार्थ खटाएको छ। जसले गर्दा कतिपय ठाउँमा बाँसको टहरा बनाएर बस्नुपर्ने अवस्था छ। प्रयाप्त जनशक्ति नहुँदा समेत सीमा क्षेत्रमा सहज ढंगबाट काम गर्न नसकिएको सशस्त्र प्रहरी बलले जनाएको छ। 

बस्ने ठाउँको मात्रै नभएर अन्य स्रोत साधनको पनि अभाव छ। सशस्त्र प्रहरीसँग पर्याप्त मात्रामा जनशक्ति र हतियार नहुँदा तराईका जिल्लाहरूमा सशस्त्रमाथि नै आक्रमण हुने गरेको छ। गत जेठमा मात्रै बर्दियामा सशस्त्र प्रहरी बलमाथि आक्रमण भएको थियो। भारत बहराइच जिल्लाको भादापुरुवपाबाट आएका भारतीयले हतियारबिना तैनाथ सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए।

जबरजस्ती बर्दिया पस्न खोजेपछि उनीहरूलाई रोक्न खोज्दा सशस्त्र प्रहरी घाइते भएका थिए। पछि खेतमा काम गरिरहेका स्थानीयले प्रतिवाद गरेर भारतीयलाई लखेटे। 

गत साल सर्लाहीमा पनि सीमामा खटिएको सशस्त्र प्रहरीले २० राउण्ड गोली नै चलाउनु परेको थियो। ड्यूटीमा खटिएका सशस्त्र प्रहरीमाथि भारतीयले आक्रमण गरेपछि प्रतिकार स्वरुप गोली चलाउँदा एक भारतीय मारिएका थिए।

गत जेठ २५ गते नवलपरासीको  बसहिया चेक पोष्टमा पनि सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो। २०० भन्दा बढीको संख्यामा आएका भारतीयले आक्रमण गर्दा ६ जना सशस्त्र प्रहरी घाइते भएका थिए। 

जबरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयबाट पटक–पटक सशस्त्रमाथि आक्रमण हुने गरेको छ। अवैध रूपमा भारतबाट नेपाल प्रवेश गर्न खोज्ने र नेपाली व्यापारीहरूसँग मिलेर तस्करी गर्ने समूहको निशानामा  सशस्त्र प्रहरी बलको चेक पोष्ट पर्ने गरेका छन्। 

हरेक २ देखि ३ किलोमिटरमा बिओपी राख्ने योजना

सीमा क्षेत्रको २ देखि ३ किलोमिटरको दूरीमा बिओपी राख्ने योजना रहेको गृह मन्त्रालयका प्रवक्ता सह–सचिव जनकराज दाहालले बताए। आवश्यक स्रोत र साधानको व्यवस्था गरी सीमा सुरक्षाका लागि सशस्त्रलाई थप बलियो पार्दै लगिने उनको भनाइ छ। 

सशस्त्रले बिओपीका लागि थप १० हजार जनशक्ति माग गरेको छ। २०७५ भदौसम्म ८७ वटा मात्र बिओपी थिए। गत वर्षको कोरोना महामारी सुरु हुँदा १२० थपियो।

 सरकारले गत वर्ष लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेको नक्सा प्रकाशनसँगै सीमा सुरक्षाका लागि बिओपी थप गर्दै लगेको छ। पश्चिममा कञ्चनपुरदेखि दार्चुलासम्मै सीमा सुरक्षाका लागि बिओपी स्थापना गरिएको छ। यो क्रम थप हुँदै जाने सशस्त्र प्रहरी बलका प्रवक्ता अर्यालको भनाइ छ। 

चीनसँग सीमा जोडिएका ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथान्का, दोलखाको लामाबगर, रसुवाको टिमुरे, मुस्ताङको नेचुङ र हुम्लाको हिल्सामा पनि बिओपी स्थापना भएका छन्। 
 

  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार १४:७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया