भारत र नेपालबीच ‘भारत–नेपाल रेल सेवा सम्झौता २००४’ हस्ताक्षर भएको छ। दुई देशका सरकारबीच शुक्रबार भर्चुअल समारोहबीच कुटनैतिक पत्र तथा दुवै पक्षले हस्ताक्षर गरेको सम्झौता पत्र आदानप्रदान भएको हो।
भारतका तर्फबाट समारोहको नेतृत्व रेल मन्त्रालय अन्तर्गतको परिचालन एवम् व्यवसाय विकास विभागका सदस्य सञ्जय कुमार मोहांतीले गरेका थिए। नेपालका तर्फबाट समारोहको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले गरेका थिए।
यो हस्ताक्षरसँगै नेपालमा सञ्चालित रेल र अन्य मालगाडीले अब सिधै भारतीय बन्दरगाहसम्म पुगेर तेस्रो देशबाट आएको सामान ल्याउन पाउने छन्।
भारतीय दूतावासका अनुसार यो सम्झौतापछि सार्वजनिक तथा निजी कन्टेनर सञ्चालक, मोटरगाडी, मालवाहक रेल सञ्चालक, विशेष मालसामान रेल सञ्चालक वा भारतीय रेल्वेले स्वीकृत गरेका अन्य माल ढुवानी सञ्चालकसहित सबै अधिकार प्राप्त कार्गो रेल सञ्चालकहरूले नेपाल आउने कन्टेनर, भारत र नेपालबीच हुने मालसामान र तेस्रो मुलुकबाट आएका सामान भारतीय बन्दरगाहबाट नेपालसम्म ल्याउन भारतीय रेलमार्ग सञ्जालको प्रयोग गर्न पाउनेछन् ।
यो प्रावधानले नेपालको बजार शक्तिको पहुँचलाई विस्तार गर्नुका साथै सामानको ढुवानीलाई थप प्रभावकारी बनाई एवम् मूल्य प्रतिस्पर्धामा वृद्धि गरी नेपाली व्यापारी, ढुवानीकर्ता र उपभोक्ताहरूलाई फाइदा दिने बताइएको छ।
यो सम्झौतापछि भारतको रेल सञ्जालमा सञ्चालन हुने सबै किसिमका मालबाहक रेलले भारत र नेपालबीच मालसामान ओसारपसार गर्नेछन्।
यसले विशेष प्रकारका मालडिब्बामा बोकिने मोटरगाडी र अन्य केही वस्तुहरुको ढुवानी खर्चमा कमी ल्याउने बताइएको छ। सम्झौतापछि नेपाल रेलवे कम्पनीको स्वामित्वका मालडिब्बाहरुले भारतीय रेल सञ्जालमा (कलकत्ता/हल्दियादेखि विराटनगर/वीरगञ्ज रुटहरुमा) मालसामान बोक्न पाउनेछन् ।
यो सम्झौता समारोहमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेश मन्त्रालय उत्तरी प्रभागका सह सचिव अनुराग श्रीवास्तव, परराष्ट्र मन्त्रालय नेपाल अन्तर्गत दक्षिण एसिया विभागका सह सचिव तीर्थराज वाग्ले उपस्थित थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।