यी १० फुटबलर, जसले जर्सी नम्बर १० लाई विश्व विख्यात बनाए

फुटबलमा जर्सी नम्बर १० लाई विशेष मानिन्छ किनकी विश्व फुटबलमा नाम चलेका अधिकांश खेलाडीले यही जर्सी लगाएर खेलेका छन्।  

अर्जेन्टिनाका लियोनल मेस्सी, डिएगो म्याराडोना, ब्राजिलका पेले, इङ्ल्यान्डका वायन रुनी लगायत विश्व विख्यात खेलाडीले १० नम्बर जर्सी फुटबल खेले, खेलिरहेका छन्। 
यहाँ यस्तै १० खेलाडीको चर्चा गरिएको छ।  जसले १० नम्बर जर्सीलाई विश्व फुटबलमा चिनाउन मद्दत गरे। 

वायन रुनी (इङ्ल्यान्ड )

इङ्ल्याण्डको फुटबल इतिहासका एक उत्कृष्ट वायन रुनी देशका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन्। उनले देशका लागि १२० खेलमा ५३ गोल गरेका छन्। 

मिडफिल्डर फरवार्डका रुपमा खेलेका रुनीले म्यानचेस्टर युनाइटेड, इभर्टन लगायत क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए। 



जर्ज हेगी (रोमानिया)



हेगीलाई रोमानियन फुटबल इतिहासकै सवैभन्दा उत्कृष्ट खेलाडीको रुपमा लिइन्छ। एट्याकिङ मिडफिल्डर हेगीले रोमानिया जस्तो फुटबलमा खासै चर्चित नभएको देशबाट आएर विश्व फुटबलमा राम्रो प्रभाव छाड्न सफल भए। 

यदि उनले ब्राजिल, अर्जेन्टिना वा इटाली जस्ता देशका लागि खेल्थे भने कति प्रभावशाली हुन्थ्ये होला ? यो प्रश्न अहिले पनि फुटबलप्रेमीकाे मनमा आइरहन्छ। हेगी ती भाग्यमानी खेलाडीमध्ये एक हुन् जसले रियल मड्रिड र बार्सिलोनाका लागि खेल्ने सौभाग्य पाए। उनले रोमानियाका लागि १२४ खेलमा ३५ गोल गरेका छन्। 

माइकल लाउड्रुप  (डेनमार्क)

लाउड्रुपले डेनिस फुटबललाई विश्वसामु चिनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका छन्।उनी सन १९९० देखि १९९२ बीचको त्यो टोलीका महत्वपूर्ण सदस्य थिए जसलाई डेनमार्कको स्वर्णिम पुस्ता मानिन्छ। 

माइकलकै उत्कृष्ट प्रदर्शनमा डेनमार्क सन् १९९२ को युरोपियन च्याम्पियन बनेको थियो। उनले रियल मड्रिड र बार्सिलोना दुवै टोलीका लागि खेलेका थिए। 
अट्याकिङ मिडफिल्डर तथा फरवार्डका रुपमा खेलेका माइकलले डेनमार्कका लागि १०४ खेलमा ३७ गोल गरेका छन्।

जिनेदिन जिदान (फ्रान्स) 

जिनेदिन जिदान विश्व फुटबलमा निकै चर्चित नाम हो। फ्रान्सले १९९८ को विश्वकप उपाधि उचाल्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए। 

१९९८ को बलुन डी’ओर अवार्ड हात पारेका फरवार्ड जिदानले व्यवसायिक करिअरको धेरै समय इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब रियल मड्रिडमा बिताए।   

सन २००६ को विश्वकपमा फ्रान्सलाई फाइनलसम्म पुर्याउन प्रमुख भूमिका निवार्ह गरेका जिदानले देशका लागि १०८ खेलमा ३१ गोल गरेका छन्। 

लोथर म्याथ्युज (जर्मनी) 

लोथर म्याथ्युज २०औँ शताब्दीकै उत्कृष्ट फुटबल खेलाडी मध्ये एक मानिन्छ। आफ्नो पालामा राम्रो प्रभाव छाडेका उनले जर्मनीलाई १९९० को विश्वकप दिलाउन महत्वपूर्ण भुमिका खेलेका थिए।  

सन् १९९० को बलुन डी’ओर विजेता मिडफिल्डर लोथरले जर्मनीका लागि १५० खेलमा २३ गोल गरेका छन्। उनले वायर्न म्युनिख, इन्टर मिलान जस्ता क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए। 

रोवर्टो बाजियो (इटाली)

रोवर्टो बाजियो इटालियन फुटबलका एक उत्कृष्ट खेलाडी हुन्। उनले १९९३ को बलुन डी’ ओर अवार्ड पनि हात पारेका थिए।एट्याकिङ मिडफिल्डर तथा फरवार्डका रुपमा खेलेका बाजियोले इटालीका लागि ५६ खेलमा २७ गोल गरेका छन्।  उनले युभेन्टस, इन्टर मिलान, एसी मिलान जस्ता क्लबमा व्यवसायिक जीवन बिताएका थिए। 

मिचेल प्लाटिनी (फ्रान्स )

फ्रेन्च फुटबलको कुरा गर्दा मिचेल प्लाटीनीको नाम छुट्यो भने त्यो अपुरो नै रहन्छ। उनी फ्रान्सेली मात्र नभएर विश्व फुटबलले पाएको एक उत्कृष्ट प्रतिभा हुन्। 

३ पटक बलुन डि’ओर अवार्ड हात पारेका प्लाटिनीले आफ्नो व्यवसायिक करिअरको अघिकांश समय युभेन्टसमा बिताए। एट्याकिङ मिडफिल्डर प्लाटिनीले इटालीका लागि ७२ खेलमा ४१ गोल गरेका छन्।

डिएगो म्याराडोना (अर्जेन्टिना) 

डिएगो म्याराडोना सर्वकालीन महान खेलाडी हुन्। उनैले जर्सी नम्बर १० लाई विश्व विख्यात बनाए भन्दा फरक नपर्ला। अर्जेन्टिनी फुटबललाई उचाएमा पुर्याएका म्याडोनाले सन देशलाई १९८६ को विश्वकप दिलाउन महत्वपूर्ण भूमिका निभाएका थिए। 

बार्सिलोना, नापोली जस्ता क्लबबाट व्यवसायिक फुटबल खेलेका एट्याकिङ मिडफिल्डर म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका छन्। 

पेले (ब्राजिल)

पेले ब्राजिलको मात्र नभएर विश्व फुटबलकै महान खेलाडी हुन्। उनी ३ विश्वकप उपाधि हात पार्ने एक्ला खेलाडी हुन्। ब्राजिलले सन् १९५८ को विश्वकप जित्दा टोलीको सदस्य रहेका पेलले देशलाई सन् १९६२ र १९७० को विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 

उनले आफ्नो व्यवसायिक करिअरको अधिकांश समय ब्राजिलियन क्लब सान्तोषमा बिताए। एट्याकिङ मिडफिल्डर र फरवार्डका रुपमा खेलेका पेलेले देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्। 

लियोनल मेस्सी (अर्जेन्टिना) 

लियोनल मेस्सी विश्व फुटबलले पाएको एक उत्कृष्ट प्रतिभा हो। आफ्नो खेल्ने शैलीले विश्व फुटबल प्रेमीको मन जित्न सफल छन् उनी।

६ पटक बालुन डी’ ओर जित्ने मेस्सी एक मात्र खेलाडी हुन्। उनले अर्जेन्टिनाका लागि १५० खेलमा ७६ गोल गरेका छन्। सुरुदेखि अहिलेसम्म यी फरवार्डले बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका छन्।

अर्जेन्टिनी मात्र नभएर विश्व फुटबललाई नै उचाइमा पुर्याउन मद्दत गरेका मेस्सीले हालसम्म अर्जेन्टिनाको सिनियर टोलीबाट भने कुनै उपाधि हात पार्न सकेका छैनन्। 

यी बाहेक ब्राजिलका रोनाल्डिन्हो, नेइमार, क्रोएसियाका लुका मोड्रिच,  इटालीका अलेसान्द्रो डेल पिएरो, फ्रान्सिस्को टोट्टी जस्ता चर्चित खेलाडीले पनि १० नम्बर जर्सी लगाएर खेलेका छन्। 


 

  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार ७:१०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया