काठमाडौं महानगरले ५० प्रतिशत बिमा शुल्क बेहोर्ने

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष ०७८/७९ मा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा ५० प्रतिशत बिमा शुल्क बेहोर्ने भएको छ । महानगरको शनिबार बसेको नगरसभाको नवौँ अधिवेशनको छैटौँ बैठकले उक्त निर्णय पारित गरेको हो । 

कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अध्यक्षतामा बैठकले केही संशोधनसहित आव ०७८/७९ को बजेट केही संशोधनसहित सर्वसम्मतिबाट बजेट पारित गरेको छ ।

यही असार १० गते बसेको नगरसभाको नवौँ अधिवेशनको चौथो बैठकमा कामपा प्रमुख शाक्यले आर्थिक विधेयक, २०७८’ र सोही बैठकमा उपप्रमुख हरिप्रभा खड्गीले आव ०७८/७९ का लागि बजेट प्रस्ताव गरेका थिए ।

कामपाले आगामी आवका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट प्रस्ताव गरेको थियो । यसैगरी ज्येष्ठ नागरिक विशिष्टीकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन गरिएको छ ।

कामपाले आर्थिक विधेयक, २०७८ मा कोभिड-१९ को प्रभावलाई ध्यानमा राखी करदाताबाट असुल हुन बाँकी रहेको आव ०७६/७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुट गर्ने भएको छ ।

साथै यही समयका लागि सम्पत्ति करमा ९० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । कामपाका होटल, रेस्टुरेन्ट, पसल जस्ता व्यवसायले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्वसाधारणका लागि समेत निःशुल्क सेवा उपलब्ध गराएमा व्यवसाय करमा ५० प्रतिशत छुट दिने पनि घोषणा गरिएको छ ।



कामपाको यही असार ६ गते नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । चालु आवका लागि भने कामपाले १५ अर्ब ५० करोडको बजेट ल्याएको थियो ।
 



  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार १९:२३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया